डोयच टेलिकमले समूहस्तरमा ‘नेट जिरो’ उपलब्धि हासिल गर्यो

  • Technology Khabar | १४ फाल्गुन २०८२, बिहीबार
डोयच टेलिकमले समूहस्तरमा ‘नेट जिरो’ उपलब्धि हासिल गर्यो

काठमाडौं ।

डोएच टेलिकम (डीटी) ले कार्बन न्युट्रालिटी अर्थात् नेट जिरो हासिल गरेको घोषणा गरेको छ। विशेष रूपमा कम्पनीले स्कोप १ र स्कोप २ उत्सर्जनमा नेट जिरो प्राप्त गरेको हो। स्कोप १ अन्तर्गत प्रत्यक्ष रूपमा उत्पन्न हुने उत्सर्जन पर्छ भने स्कोप २ मा कम्पनीले प्रयोग गर्ने बिजुलीबाट हुने उत्सर्जन समावेश हुन्छ।

अब बाँकी रहेको स्कोप ३ उत्सर्जन भने सप्लाई चेनमा आबद्ध सबै बिक्रेताबाट निस्कने कार्बनडाइअक्साइड समेट्ने भएकाले चुनौतीपूर्ण मानिन्छ।

जर्मन दूरसञ्चार कम्पनीले सन् २०१७ यता आफ्ना विश्वव्यापी उत्सर्जन 94 प्रतिशतभन्दा बढी घटाएको जनाएको छ जुन करिब २ करोड ८० लाख टन बराबर हो। यो जर्मनीका ४० प्रतिशत वनले वार्षिक रूपमा अवशोषण गर्ने कार्बन बराबर हुने दावी गरिएको छ। बाँकी झन्डै 6 प्रतिशत उत्सर्जन कार्बन अवशोषण परियोजनामार्फत सन्तुलन गरिएको छ।

यस उपलब्धिसँगै डीटी फ्र्याङ्कफर्टमा सूचीकृत 40 ठूला कम्पनीहरूको सूचकांक डीएएक्स ४० का सदस्यहरूमध्ये नेट जिरो हासिल गर्ने पहिलो कम्पनी बनेको छ। गत जुनमा जीएसएमएले सन् २०३० सम्म उत्सर्जन आधा घटाउने र २०५० सम्म नेट जिरोमा पुग्ने लक्ष्य पूरा गर्न मोबाइल उद्योगले हालको दर दोब्बर गतिमा उत्सर्जन घटाउनुपर्ने चेतावनी दिएको थियो।

डीटीका प्रमुख कार्यकारी अधिकृत टिम होट्गेसले जलवायु संरक्षणबारे धेरैले कुरा मात्र गर्ने तर आफूहरूले कार्यान्वयन गरेको दाबी गरेका छन्। उनले जलवायु संरक्षण कम्पनीका लागि आर्थिक रूपमा पनि महत्वपूर्ण रहेको, जसले कम्पनीलाई थप स्वतन्त्र, दक्ष र सफल बनाएको बताएका छन्। डीटीले तीन मुख्य पहलमार्फत यो उपलब्धि हासिल गरेको जनाएको छ।

पहिलो, दीर्घकालीन पावर पर्चेज सम्झौता (पीपीए) गर्दै नयाँ सौर्य र पवन ऊर्जा फार्म निर्माणलाई प्रोत्साहन गरिएको छ। साथै, हावा नचल्दा वा घाम नलाग्दा प्रयोग गर्न ठूलो क्षमताका ब्याट्री भण्डारण प्रणाली विकास गरिएको छ। दोस्रो, ऊर्जा–दक्ष ग्रिड प्रविधिमा लगानी गरी कार्बन उत्सर्जन घटाउनुका साथै ऊर्जा खर्चमा लाखौं युरो बचत गरिएको छ।

तेस्रो कम्पनीको सवारी समूह विद्युतीय सवारी (ईभी) मा रूपान्तरण गरिएको छ। कार्यालय भवनहरूमा स्मार्ट बिल्डिङ प्रणाली, एचभीएसी नियन्त्रणसहित, प्रयोग गरी ऊर्जा खपत घटाइएको छ।

कम्पनीले आफ्नो कार्बन कटौती प्रयास स्वतन्त्र अडिटका लागि पेश गर्दै आएको छ भने व्यवस्थापन तहको तलबमा उत्सर्जन र ऊर्जा लक्ष्यको प्रभाव पनि जोडिएको छ। आगामी लक्ष्यस्वरूप डीटीले सन् २०३० सम्म तीनवटै स्कोपमा ५५ प्रतिशत कटौती गर्ने र २०४० सम्म पूर्ण कार्बन न्युट्रल बन्ने लक्ष्य लिएको छ।

यो घोषणा डीटीले आफ्नो नयाँ फाइभजी कोर नेटवर्क अवधारणाको ऊर्जा–बचत सम्भावनाबारे जानकारी दिएको एक दिनपछि आएको हो। कम्पनीले ह्युलेट पक्कार्ड इन्टरप्राइज, लेनोभो, एएमडी र माभेनएयरसँग सहकार्य गरी प्रविधि स्ट्याकका प्रत्येक तहमा ऊर्जा खपत अनुगमन गर्ने र आवश्यकतानुसार समायोजन गर्ने समाधान विकास गरेको जनाएको छ।

डीटीका बोर्ड सदस्य अब्दु मुडेसिरका अनुसार प्रारम्भिक प्रत्यक्ष परीक्षणमा कोर नेटवर्कभित्र ऊर्जा खपत ६५ प्रतिशतसम्म घटाउन सफल भएको छ। उनले अब दक्षता केवल नयाँ हार्डवेयरमा मात्र निर्भर नरही बुद्धिमत्तापूर्ण सफ्टवेयर–आधारित व्यवस्थापनमा आधारित हुने बताएका छन्।

गत जुनमा टेलिफोनिका विश्वका १०० सबैभन्दा दिगो कम्पनीहरूको सूचीमा दोस्रो स्थानमा परेको थियो, जुन सूची टाइम र स्टाटिस्टाले तयार पारेका थिए। उक्त सूचीमा डीटी १६औं स्थानमा रहेको थियो। अब डीटीले सो सूचीमा कति सुधार गरेको छ र स्पेनी प्रतिस्पर्धीलाई उछिनेको छ कि छैन भन्ने चासो बढेको छ।

प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार