
काठमाडौं ।
ह्वावेले सन् २०२५ मा एसिया–प्रशान्त, मध्यपूर्व तथा अफ्रिका (एमईए) र ल्याटिन अमेरिकामा आफ्नो आरएएन अर्थात् रेडियो एक्सेस नेटवर्क बजार हिस्सा बढाएको पछिल्लो प्रतिवेदनले देखाएको छ।
ओमडियाको गत वर्षको चौथो त्रैमास तथा पूर्ण वर्ष २०२५ को आरएएन बजार प्रतिवेदनअनुसार हार्डवेयर र सफ्टवेयर समेटिएको (सेवा बाहेक) विश्वव्यापी आरएएन बजारको आकार करिब ३५ अर्ब अमेरिकी डलर पुगेको छ। प्रतिवेदनले समग्र बजार वार्षिक रूपमा लगभग स्थिर रहेको तर चीन बाहेकको विश्व बजारमा एक अङ्कको वृद्धि भएको जनाएको छ।

ह्वावेले २०२४ को तुलनामा २०२५ मा १ प्रतिशत बिन्दुभन्दा बढी बजार हिस्सा बढाएको छ। यसका कारणमा क्षेत्रीय मिश्रण अनुकूल हुनु र उदीयमान बजारहरूमा हिस्सा बढ्नु रहेको बताइएको छ। कम्पनीले एसिया–प्रशान्त, मध्यपूर्व तथा अफ्रिका र ल्याटिन अमेरिकामा बजार हिस्सा विस्तार गरेको हो।
यसैबीच एरिक्सन, नोकिया, सामसङ र फुजित्सुको बजार हिस्सा लगभग स्थिर (±०.२ प्रतिशत बिन्दु भित्र) रहेको छ। जेडटीईले भने चीनमा उच्च निर्भरता भएका कारण समग्र बजार हिस्सा गुमाएको छ, तर चीन बाहिर भने हिस्सा नघटेको टेलिकम्स डटकमले उल्लेख गरेको छ।
शीर्ष पाँच आपूर्तिकर्ताको संयुक्त बजार हिस्सा करिब ९५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १ प्रतिशतले बढी हो। ओमडियाले २०२४ मा तेजसले ठूलो भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) परियोजनामार्फत अन्य आपूर्तिकर्ता समूहलाई तानेको उल्लेख गरेको छ।
क्षेत्रगत रूपमा एमईए मा उल्लेखनीय वृद्धि देखिएको छ। उत्तर अमेरिका, युरोप तथा चीन बाहेकको एसिया–ओसिनिया क्षेत्रमा हल्का वृद्धि भएको छ भने ल्याटिन अमेरिका लगभग स्थिर रहेको छ। चीनमा भने उल्लेखनीय गिरावट आएको छ।
चीनमा गिरावट हुनुको मुख्य कारण त्यहाँका अपरेटरहरूले पहिले नै लाखौँ फाइभजी बेस स्टेशन स्थापना गरिसकेका छन्, जसका कारण कभरेज व्यापक भइसकेको छ र मोबाइल पूँजीगत खर्च घटाइएको छ। यद्यपि वार्षिक प्रवृत्ति नकारात्मक भए पनि चीन अझै विश्वकै सबैभन्दा ठूलो बजार रहेको र फाइभजी-एडभान्स्डजस्ता क्षेत्रमा लगानी जारी रहेको बताइएको छ।
यसको विपरीत एमईए क्षेत्रका धेरै अपरेटरहरू अझै फाइभजी विस्तारको प्रारम्भिक चरणमा छन्। नेटवर्क कभरेज र क्षमता विस्तार हुँदै गएको, साथै केही देशमा ग्राहक संख्या र डाटा ट्राफिक निरन्तर बढिरहेको कारण माग बलियो रहेको छ।
साउदी अरेबिया, टर्की,इजिप्ट,नाइजेरिया र दक्षिण अफ्रिका यस प्रवृत्तिका मुख्य योगदानकर्ता हुन्। साथै २०२४ एमईएका लागि कमजोर वर्ष भएकाले २०२५ को तुलना अनुकूल देखिएको बुझिएको छ।

आगामी परिदृश्यका सन्दर्भमा विश्लेषकले २०२६ मा चीन बाहेकको विश्वव्यापी आरएएन बजारमा हल्का वृद्धि हुने अपेक्षा गरेका छन् भने चीनमा लगानीको गति अझै सुस्त रहने अनुमान गरिएको छ।
प्रकाशित: १० फाल्गुन २०८२, आईतवार