
काठमाडौं ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० ओटा क्यामरा हराएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ ओटा बिग्रेका बताए। उनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० ओटा क्यामरा प्रयोग गरिएको बताए।
गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ । थापा मगरका अनुसार दुई वटा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो । यस कम्प्लेक्सलाई ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको थियो ।
ती ग्रिडमा प्रयोग गरिएका क्यामरामध्ये ८५ क्यामरा समस्याग्रस्त भएका थापा मगरले बताए। उनका अनुसार एउटा ब्लकमा १७ रात क्यामरा राखेर काम गरिएको हो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । उक्त गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए । रासस
प्रकाशित: ९ फाल्गुन २०८२, शनिबार