बदलियो चुनाव प्रचार शैलीः घरदैलो र डिजिटल प्रयोगमा जोड

  • Technology Khabar | ९ फाल्गुन २०८२, शनिबार
बदलियो चुनाव प्रचार शैलीः घरदैलो र डिजिटल प्रयोगमा जोड
निर्वाचन सामग्री गणना गरिँदै गलेश्वर, ८ माघ :यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पठाएका निर्वाचन सामग्री गणना गर्दै कर्मचारी । तस्बिर ः ध्रुवसागर शर्मा रासस

काठमाडौं ।

म्याग्दीका राजनीतिक दल र उम्मेदवारहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुराना चुनावी शैली परिवर्तन गरेका छन् ।

विगतका निर्वाचनमा भित्तामा टाँसिने ठूलाठूला पोस्टर–पम्प्लेट र ठूला चनावी सभाभन्दा यसपटक उम्मेदवारहरूले टोल–बस्तीमा पुगेर मतदातासँग छलफल, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्ने नीति लिएका छन् । यसबाहेक सामाजिक सञ्जालमार्फत ‘डिजिटल प्रचार सामग्री’ को प्रयोगलाई व्यापक प्राथमिकता दिइएको छ।

हाल उम्मेदवारसँगै नेता र कार्यकर्ताहरूले घरदैलो र प्रत्यक्ष भेटघाटमा बढी जोड दिएका छन् । नेताहरूलाई आ-आफ्नो पालिकामा चुनाव प्रचार गर्ने जिम्मा दिइएको छ । यसरी जिम्मेवारी पाएकाहरूले मतदातासँग प्रत्यक्ष भेटघाट र सामाजिक सञ्जालमार्फत आफ्नो पार्टी तथा उम्मेदवारको प्रचार गरिरहेका छन् ।

क्यामेराम्यानसहित फेसबुक, टिकटक, युट्युबमा दैनिक भिडियो सामग्री बनाएर पोस्ट गर्ने, प्रत्यक्ष प्रसारण गर्ने शैली अपनाइएको छ। त्यतिमात्र होइन स्वतन्त्र उम्मेदवार महावीर पुनले त टोलटोलमा घुम्दै हाते माइकमार्फत जनतालाई कटुवाल कराउने शैलीमा ‘लौ है जनता हो ! महावीर आयो’ भन्दै आफ्ना कुरा सुनाइरहेका छन्।

नेपाली कांग्रेस म्याग्दीका चुनाव प्रचारप्रसार समिति सदस्य निर्मल खत्री यसपटक सामाजिक सञ्जालमार्फत भिडियो सन्देश, प्रत्यक्ष प्रसारण र डिजिटल सामग्रीमार्फत मतदातासँग जोडिने प्रयास गरिएको बताउँछन्। कांग्रेस उम्मेदवार कर्णबहादुर भण्डारीको सचिवालयले प्रत्यक्ष भेटघाट र डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिएको उनले बताए।

नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले पनि यस्तै शैली अपनाउँदै मतदाताको घरदैलोमा पुगिरहेका छन्। एमाले नेता प्रकाश पौडेलका अनुसार एमालेले विगतमा गरेका विकास कार्य र उम्मेदवारका प्रतिबद्धताहरू मतदातासम्म पुर्याउन भिडियो, गीत, टिकटक र पोडकास्टमार्फत प्रचार गरिरहेको छ।

यस्तैगरी स्वतन्त्र उम्मेदवार महावीर पुनको सचिवालय पनि पोष्टकार्ड, रिल र भिडियो सामग्रीमार्फत डिजिटल प्रचारमा सक्रिय छ। पुनका सहयोगी चित्र तिलिजाले निर्वाचन प्रचारप्रसारका लागि मतदातासँग प्रत्यक्ष भेटघाट र डिजिटल प्रविधिको भरपुर प्रयोग गरिएको बताए।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुन थापाको सचिवालयले पनि डिजिटल प्रचारलाई प्राथमिकता दिएको छ। भेटघाट, प्रत्यक्ष संवाद र मतदाताका प्रतिक्रियालाई फेसबुकमा लाइभ गर्दै प्रचार प्रसारलाई तीव्रता दिइएको नेकपाका नेता गोविन्द पौडेलले जानकारी दिएका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर सुवेदी, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, नेकपा (माओवादी) का क्षेत्रबहादुर घिमिरेलगायत उम्मेदवारले पनि सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् । यहाँ एक स्वतन्त्र र ११ राजनीतिक पार्टीका गरी १२ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा छन् ।

यहाँका सबैजसो उम्मेदवारले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर कालोपत्र गर्ने, अन्य सडक निर्माण, खानेपानी, शिक्षा, कृषि क्षेत्रको प्रवर्द्धन, सुलभ स्वास्थ्य सेवा, रोजगारीलगायतका मुद्दालाई प्राथमिकतामा राखेका छन् ।

नयाँ उम्मेदवारको उपस्थिति, दलीय राजनीतिको बिचमा स्वतन्त्र उम्मेदवारको उपस्थिति र बदलिँदो प्रचार शैलीले यसपटक निर्वाचनलाई अझ रोचक बनाएको स्थानीय बुद्धिजीवी राजु केसीले बताए।

निर्वाचनको मिति नजिकिँदै जाँदा डिजिटल प्रविधिको प्रयोग गरी प्रचार कार्य बढेसँगै साइबर सुरक्षा चुनौती पनि बढ्दै गएको छ। उम्मेदवारको सामग्रीमा अर्का समर्थकहरूले गाली–गलौज र नकारात्मक टिप्पणी गर्दा द्वन्द्व बढेको देखिएको छ। सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडाइका साथ निगरानी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

एक निर्वाचन क्षेत्र, छ पालिका र ४५ ओटा वडा रहेको म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ ओटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएका छन् । रासस

प्रकाशित: ९ फाल्गुन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...