गत वर्ष मोबाइल कोर बजारले मजबुत तरिकाले ‘कमब्याक’ गर्यो: रिपोर्ट

  • Technology Khabar | ७ फाल्गुन २०८२, बिहीबार
गत वर्ष मोबाइल कोर बजारले मजबुत तरिकाले ‘कमब्याक’ गर्यो: रिपोर्ट

काठमाडौं ।

डेल’ओरो को रिपोर्ट अनुसार गत वर्ष अर्थात् २०२५ मा मोबाइल कोर नेटवर्क (एमसीएन) को आम्दानी १५ प्रतिशतले बढ्यो। यो २०१४ पछि सबैभन्दा छिटो वृद्धि भएको मानिएको छ।

एक विश्लेषकका अनुसार फाइभजी स्ट्यान्डअलोन (फाइभजी एसए) ले “मोडबिन्दु” हासिल गरेको छ। गत वर्ष पहिलो पटक फाइभजी कोरले कुल मोबाइल कोर नेटवर्क (एमसीएन) आम्दानीको ५० प्रतिशत हिस्सा ओगटेको बताइएको छ।

डेल’ओरो ग्रुपले सार्वजनिक गरेको चौथो त्रैमास २०२५ मोबाइल कोर नेटवर्क एण्ड मल्टि -एक्सेस एज कम्प्युटिङ रिपोर्ट अनुसार ह्वावे, एरिक्सन, नोकिया र जेडटीईजस्ता शीर्ष चार आपूर्तिकर्ताले २०२५ मा बलियो वृद्धि दर हासिल गरेका छन् र सामूहिक रूपमा अघिल्लो वर्षकै जत्तिकै बजार हिस्सा कायम राखेका छन्।

फाइभजी एमसीएन भित्रकै उप–खण्ड मल्टि एक्सेस एण्ड एज कम्प्युटिङ (एमईसी) ले सबैभन्दा उच्च वृद्धि दर दर्ज गरेको छ। एमईसी कार्यान्वयनमा चीन क्षेत्र अग्रणी रहेको रिपोर्टले जनाएको छ।

रिपोर्टले मानक निर्धारण निकाय, उपकरण आपूर्तिकर्ता र अपरेटरहरू नयाँ उत्पादन, एप्लिकेसन र आम्दानी मोडेल विकास गर्न सहकार्य गरिरहेका उल्लेख गरेको छ।

उदाहरणका रूपमा रेडक्याप रेडियो (आईओटी उपकरणको लागत घटाउन), मिशन–क्रिटिकल र अन–डिमान्ड प्रयोगका लागि नेटवर्क स्लाइसिङ, आईएमएस डाटा च्यानल र सबै अपरेटरमा एप विस्तार गर्न सकिने ओपन एपीआई समावेश छन्।

कम्पनीले “एजेण्टिक एआई” ले डाटा ट्राफिक ढाँचा परिवर्तन गर्न सक्ने र प्रयोगकर्ताहरू नेटवर्कमा कति समय जोडिन्छन् भन्नेमा असर पार्न सक्ने अनुमान गरेको छ।

एजेन्टहरूले प्रयोगकर्ताको तर्फबाट काम गर्ने भएकाले एमसीएन क्षमतामा वृद्धि, विक्रेताका लागि थप अवसर र मोबाइल नेटवर्क अपरेटर (एमएनओ) का लागि स्तरीकृत मूल्य निर्धारणमार्फत बढी आम्दानी सम्भावना देखिएको छ।

डेल’ओरो ग्रुपका अनुसन्धान निर्देशक डेभ बोलानले २०२५ मा एमसीएन बजारले २०१४ पछि सबैभन्दा उच्च वार्षिक वृद्धि दर हासिल गरेको बताए। उनका अनुसार फोरजी  एमसीएन (२०१९ पछिको उच्चतम), फाइभजी एमसीएन (२०२२ पछिको उच्चतम) र भ्वाइस कोर (२००७ पछिको उच्चतम) सबै खण्डमा रेकर्ड वृद्धि देखिएको हो।

फोरजी एमसीएन वृद्धि क्यारेबियन र ल्याटिन अमेरिका (सीएएलए) तथा युरोप, मध्यपूर्व र अफ्रिका (ईएमईए) बाट आएको थियो। फाइभजी एमसीएन सबै क्षेत्रबाट बढेको थियो भने भ्वाइस कोर मुख्यतः एसिया–प्रशान्त र ईएमईए क्षेत्रबाट बढेको थियो।

२०२५ मा वृद्धि नेतृत्व फाइभजी एमसीएनले गरेको बताइएको छ किनकि फाइभजी एसए सञ्जालहरूले शहरी, उप–शहरी र ग्रामीण क्षेत्रमा जनसंख्या कभरेज विस्तार गर्दै आम बजारतर्फ अग्रसर भएका छन्।

भ्वाइस कोर दोस्रो ठूलो योगदानकर्ता बनेको थियो, जसमा योजनाबद्ध थ्रीजी एमसीएन बन्द हुँदा सर्किट स्विच्ड कोरबाट आईएमएस कोरमा अपग्रेड र फाइभजी एसए सञ्जालका लागि क्लाउड–नेटिभ आईएमएस कोरमा आधुनिकीकरण आवश्यक परेको थियो। उता, अफ्रिका र दक्षिण अमेरिकामा ग्राहक वृद्धि हुँदा फोरजी एमसीएन पनि विस्तार भएको थियो।

यसै साता डेल’ओरोले सार्वजनिक गरेको अर्को रिपोर्टअनुसार विश्वव्यापी रेडियो एक्सेस नेटवर्क (आरएएन) बजार २०२२ देखि २०२४ बीच करिब २० प्रतिशत मूल्य गुमाएपछि २०२५ मा स्थिर भएको छ। प्रारम्भिक तथ्यांकअनुसार वर्षको अन्त्यमा बजार स्थिर देखिएको छ र तेस्रो त्रैमासिकदेखि चौथो त्रैमासिकसम्म सामान्यभन्दा बलियो मौसमी वृद्धि देखिएको छ।

आरएएन बजार अनुसन्धानका उपाध्यक्ष स्टेफन पोंग्रात्जले २०२२–२०२४ बीच करिब पाँचौं हिस्सा गुमाएको बजार २०२५ मा स्थिर हुनु सकारात्मक परिवर्तन भएको बताए। क्षेत्रगत मिश्रण अनुकूल हुनु, तुलनात्मक आधार सहज हुनु र अमेरिकी डलर कमजोर हुनु सुधारका कारण मानिएको छ। तर २०२६ मा बजार अधिकांशतः स्थिर नै रहने अपेक्षा गरिएको छ।

रिपोर्टअनुसार आम्दानीका आधारमा शीर्ष पाँच आरएएन आपूर्तिकर्ता ह्वावे, एरिक्सन, नोकिया, जेडटीई र सामसङ नै रहेका छन्। ठूला आपूर्तिकर्ताले आफ्नो स्थिति सुदृढ बनाएका छन् भने साना कम्पनीहरूले रणनीति समायोजन गरेका कारण बजारमा केन्द्रिकरण बढेको छ।

ह्वावे र नोकियाले केही बजार हिस्सा बढाएका छन् एरिक्सन र सामसङ स्थिर रहेको उल्लेख गरिएको छ भने जेडटीईको आरएएन आम्दानी हिस्सा घटेको छ।

विश्लेषकका अनुसार बजारका आधारभूत तत्वमा खास परिवर्तन आएको छैन र २०२५–२०३० बीच १ प्रतिशत चक्रवृद्धि वार्षिक वृद्धि दर (सीएजीआर) को दीर्घकालीन प्रक्षेपण यथावत् रहेको छ।

प्रकाशित: ७ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

एन्थ्रोपिकले सार्वजनिक गर्यो सनेट ४.६ मोडल

  • Technology Khabar
  • ७ फाल्गुन २०८२, बिहीबार