
काठमाडौं ।
सन् २०२१ देखि मंगल ग्रहमा सक्रिय नासाको पर्सिभेरन्स रोभरले थुप्रै ऐतिहासिक उपलब्धि हासिल गरिसकेको छ, जसमा मंगलबाट पहिलोपटक अडियो रेकर्डिङ पठाउनु पनि पर्छ।
अब रातो ग्रहमा अवतरण गरेको करिब पाँच वर्षपछि, रोभरले अर्को महत्वपूर्ण उपलब्धि थपेको छ। गत डिसेम्बरमा पर्सिभेरन्स ले एन्थ्रोपिकको क्लाउड च्याटबोटले तयार पारेको मार्ग सफलतापूर्वक पार गरेको नासाले जनाएको छ। यससँगै ठूलो भाषा मोडेल (एलएलएम) प्रयोग गरेर नासाले पहिलोपटक कारको आकारको रोबोटलाई मार्गनिर्देशन गरेको हो।
डिसेम्बर ८ देखि १० तारिखबीच पर्सिभेरन्स ले क्लाउड द्वारा नक्साङ्कन गरिएको मार्गअनुसार जेजेरो क्रेटर क्षेत्रमा रहेको चट्टानी भूभाग हुँदै करिब ४०० मिटर दूरी पार गरेको थियो। यद्यपि एआई प्रयोग गरेर रोभरका लागि मार्ग तय गर्नु एउटा साधारण ‘प्रम्प्ट’ दिनुजत्तिकै सजिलो भने थिएन।
नासाका अनुसार पर्सिभेरन्स को रुटिङ मानवका लागि समेत जटिल कार्य हो। “हरेक रोभर ड्राइभ अत्यन्त सावधानीपूर्वक योजना बनाउनुपर्छ, नत्र रोभर चिप्लिन सक्छ, पल्टिन सक्छ, पाङ्ग्रा घुमिरहन सक्छन् वा बीचमै अड्किन सक्छ,” नासाले स्पष्ट पारेको छ।
त्यसैले अवतरणयता रोभरका मानव अपरेटरहरूले अन्तरिक्षबाट लिइएका तस्बिर र रोभरकै क्यामेराबाट प्राप्त दृश्यको आधारमा ‘ब्रेडक्रम्ब ट्रेल’ भनिने वेप्वाइन्टहरू विस्तारै तय गर्दै आएका थिए।
क्लाउड लाई यो काम गर्न सक्षम बनाउन नासाले पहिला एन्थ्रोपिकको प्रोग्रामिङ एजेन्ट क्लाउड कोडलाई रोभरसम्बन्धी वर्षौँको सन्दर्भगत डाटा उपलब्ध गराउनुपरेको थियो। त्यसपछि क्लाउड ले दस–दस मिटरका खण्डहरूमा वेप्वाइन्टहरू जोड्दै क्रमिक रूपमा मार्ग तयार गर्यो र त्यसको निरन्तर समीक्षा तथा परिमार्जन पनि गर्यो।
लाइभसाइन्सका अनुसार नासा भएकाले अन्तिम निर्णय एआईमै छाडिएको भने थिएन। जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) का इन्जिनियरहरूले क्लाउडले तयार पारेका वेप्वाइन्टहरू रोभरमा पठाउनु अघि दैनिक प्रयोग हुने सिमुलेसन प्रणालीमार्फत पुनः परीक्षण गरे।
अन्ततः नासाका अनुसार क्लाउड को मार्गमा ‘सानातिना परिवर्तन’ मात्र गर्नुपरेको थियो। तीमध्ये एक परिवर्तन क्लाउड ले आफ्नो योजना बनाउँदा नदेखेको जमिन सतहको तस्बिर उपलब्ध भएकाले गरिएको थियो।
नासाका इन्जिनियरहरूको अनुमान अनुसार यसरी क्लाउड प्रयोग गर्दा मार्ग योजना बनाउन लाग्ने समय आधाले घट्नेछ र यात्रा अझ सुसंगत हुनेछ। “हातैले गरिने झन्झटिलो योजना र तालिममा कम समय खर्च हुँदा रोभरका अपरेटरहरूले अझ धेरै ड्राइभ गर्न, अझ धेरै वैज्ञानिक डेटा संकलन गर्न र विश्लेषण गर्न सक्छन्,” नासाले जनाएको छ। यसको अर्थ, मंगल ग्रहबारे अझ धेरै जानकारी हासिल गर्न सकिनेछ।
एआईले उत्पादकत्व बढाउँछ भन्ने दावी प्रायः अतिरञ्जित हुने गरे पनि नासाको सन्दर्भमा वैज्ञानिकहरूको कार्यक्षमता बढाउने कुनै पनि उपकरण उपयोगी हुने निश्चित छ।
गत गर्मीयाममा ट्रम्प प्रशासनकालीन बजेट कटौतीका कारण नासाले करिब ४ हजार कर्मचारी गुमाएको थियो, जुन संस्थाको करिब २० प्रतिशत कार्यबल हो। सन् २०२६ का लागि विज्ञान बजेट झन्डै आधाले घटाउने प्रस्ताव पनि गरिएको थियो, यद्यपि कांग्रेसले जनवरीको सुरुवातमै त्यसलाई अस्वीकार गर्यो।
त्यसपछि पनि नासाको बजेट २०२५ को स्तरभन्दा केही कममै सीमित छ र एजेन्सीले अपोलो कार्यक्रमको उत्कर्षकालभन्दा आधाभन्दा कम जनशक्तिसहित चन्द्रमामा पुनः फर्किनुपर्ने चुनौती सामना गरिरहेको छ।
एन्थ्रोपिकका लागि भने यो ठूलो उपलब्धि हो। गत वसन्तमा क्लाउड साधारण ८-बिट गेम पोकेमन रेडसमेत पार गर्न नसकेको प्रसंग अझै ताजा छ। तर एक वर्ष नपुग्दै कम्पनीका मोडेलहरू साधारण भिडियो गेम नेभिगेट गर्न संघर्ष गर्ने अवस्थाबाट मंगल ग्रहमा रोभरको मार्ग तय गर्न सक्षम भएका छन्।
नासा भविष्यमा यस्ता सहकार्यको सम्भावनाप्रति उत्साहित देखिन्छ। एजेन्सीका अनुसार “स्वायत्त एआई प्रणालीहरूले भविष्यमा अन्तरिक्ष यानहरूलाई सौर्यमण्डलका अझ टाढा र जटिल क्षेत्रहरू अन्वेषण गर्न सहयोग पुर्याउन सक्छन्।”
प्रकाशित: १९ माघ २०८२, सोमबार