ट्रिप टर्बो र नबिल बैंकबीच साझेदारी, एनब्याङ्क एपमार्फत यात्रा बुकिङ सुविधा

  • Technology Khabar | ८ माघ २०८२, बिहीबार
ट्रिप टर्बो र नबिल बैंकबीच साझेदारी, एनब्याङ्क एपमार्फत यात्रा बुकिङ सुविधा

काठमाडौं ।

नेपालको सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक नबिल बैंक लिमिटेडसँग साझेदारी गर्दै एनब्याङ्क मोबाइल एपमार्फत यात्रा बुकिङ सुविधा उपलब्ध गराएको छ। यससम्बन्धी सम्झौतामा नबिल बैंकका उप–प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र ट्रिप टर्बोका ग्रोथ तथा मार्केटिङ लिड बिमलराज पौडेलले हस्ताक्षर गरेका हुन्।

यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब एनब्याङ्क एपबाटै ट्रिप टर्बोले उपलब्ध गराउने बस टिकट, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, साथै विभिन्न ट्राभल गतिविधिहरू सहज रूपमा बुक गर्न सक्नेछन्। यसले बैंकिङ र ट्राभल सेवालाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै प्रयोगकर्तालाई सहज अनुभव प्रदान कम्पनीले जनाएको छ।

एनब्याङ्क एपमा प्रयोगकर्ताले होम> मोर > मार्केटप्लेस सेक्सनमार्फत ट्रिप टर्बो चयन गर्न सक्नेछन्। ट्रिप टर्बो चयन गरेपछि प्रयोगकर्ता ट्रिप टर्बोको बुकिङ प्लेटफर्ममा पुग्नेछन् जहाँ उनीहरूले यात्रा सेवाहरू खोज्न, छनोट गर्न र सुरक्षित रूपमा एनब्याङ्क मार्फत भुक्तानीसहित बुक गर्न सक्नेछन्।

यस एकीकरणले ग्राहकलाई विश्वासिलो बैंकिङ वातावरणभित्रै यात्रा सेवा बुक र भुक्तानी गर्न सक्ने सुविधा दिँदै, विभिन्न एपहरू परिवर्तन गर्नुपर्ने झन्झट हटाउने र समग्र सुविधा बढाउने लक्ष्य राखिएको छ।

“ट्रिप टर्बोमा हामी प्रविधिमार्फत यात्रालाई सरल बनाउने लक्ष्यमा केन्द्रित छौँ। नबिल बैंकसँगको साझेदारीले एनब्याङ्क एपमार्फतै सुरक्षित र सहज तरिकाले यात्रा योजना र बुकिङ गर्न ग्राहकलाई थप सुविधा दिन मद्दत गर्छ,” ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले भने।

यसैगरी नबिल बैंकका डीसीईओ आदर्श बजगाईंले एनब्याङ्क एपको मार्केटप्लेसमा नयाँ साझेदार थपिएकोमा खुशी व्यक्त गर्दै भने, “हामी यो साझेदारीले हाम्रा ग्राहकलाई एनब्याङ्क एपमार्फतै आफ्नो यात्रा योजना बनाउन अझ सजिलो बनाउनेछ भन्नेमा विश्वस्त छौँ।”

बैंकले एनब्याङ्क लाई दैनिक आवश्यकताका लागि एउटै प्लेटफर्मका रूपमा विस्तार गर्दै लगिरहेको उल्लेख गर्दै उनले भने, “यस साझेदारीले एपभित्रै यात्रा बुक र भुक्तानी गर्न सहज बनाएको छ।”

कम्पनीका अनुसार यो सुविधा अहिले सबै एनब्याङ्क प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ। अब ग्राहकहरूले ट्रिप टर्बोका सम्पूर्ण यात्रा सेवाहरू एनब्याङ्क मोबाइल एपमार्फतै खोज्न, बुक गर्न र भुक्तानी गर्न सक्नेछन्, जसले यात्रा योजना बनाउने प्रक्रियालाई अझ सरल र सुविधाजनक बनाउनेछ।

प्रकाशित: ८ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...