तेइस वर्षयताकै ठूलो ‘सौर्य आँधी’ले पृथ्वी प्रभावित, दक्षिणी क्यालिफोर्नियासम्म देखियो रंगीन आकाश

  • Technology Khabar | ८ माघ २०८२, बिहीबार
तेइस वर्षयताकै ठूलो ‘सौर्य आँधी’ले पृथ्वी प्रभावित, दक्षिणी क्यालिफोर्नियासम्म देखियो रंगीन आकाश
फाइल तस्बिर

काठमाडौं ।

पृथ्वीको चुम्बकीय क्षेत्रलाई सोमबार (जनवरी १९) एउटा गम्भीर सौर्य आँधीले ठक्कर दिँदा अमेरिका र युरोपका ठूला भूभागमा रंगीन अरोरा (उत्तरी ज्योति) देखिएको छ। यो घटनाले २३ वर्ष पुरानो एउटा सौर्य विकिरणसम्बन्धी रेकर्ड पनि तोडेको छ।

सूर्यबाट निस्किएको शक्तिशाली एक्स-श्रेणीको सौर्य ज्वालापछि अत्यन्त तीव्र गतिमा आएका आवेशित कणहरूको धार पृथ्वीमा ठोक्किँदा यो आँधी उत्पन्न भएको हो। यसका कारण उत्तरी गोलार्धका असामान्य रूपमा दक्षिणी अक्षांशसम्म—विशेष गरी युरोपमा—अरोरा देखियो।

केही माध्यमले यसलाई सन् २००३ यताकै “सबैभन्दा ठूलो” आँधी भनेका छन्, तर विज्ञहरूका अनुसार त्यो दाबी अतिरञ्जित हो। मे २०२४ को ‘मदर’स डे स्टर्म’ अझै पनि धेरै शक्तिशाली थियो। तर पछिल्लो घटनाले भने २३ वर्षयताकै ठूलो सौर्य विकिरण आँधीको रेकर्ड तोडेको छ।

कसरी आयो आँधी?

लाइभसाइन्सका अनुसार यो भू–चुम्बकीय आँधी जनवरी १९ मा सुरु भयो, जब सूर्यबाट आएको कोरोनल मास इजेक्सन (सीएमई) पृथ्वीको म्याग्नेटोस्फियरमा ठोक्कियो। यसले पृथ्वी वरिपरिका अदृश्य चुम्बकीय रेखाहरू अस्थायी रूपमा अव्यवस्थित बनायो र आवेशित कणहरूलाई वायुमण्डलको गहिरो भागसम्म पस्न दियो।

उक्त सीएमई जनवरी १८ मा सूर्यको भूमध्यरेखानजिकको एउटा कालो दाग (सनस्पट)बाट एक्स १.९ तीव्रताको सौर्य फ्लेयर विस्फोट हुँदा बाहिरिएको थियो।

अमेरिकी एनओएएको स्पेस वेदर प्रेडिक्सन सेन्टर (एसपीडब्लूसी) का अनुसार आँधी पहिलोपटक दिउँसो २:३८ (ईएसटी) मा जी४ (चरम) स्तरमा पुगेको थियो। केही समय शान्त भएपछि मंगलबार बिहान ३:२३ (ईएसटी) मा फेरि जी४ स्तरमै पुगेको अर्को रिपोर्टले जनाएको छ।

जी४ भू–चुम्बकीय आँधीको दोस्रो सबैभन्दा उच्च स्तर हो। यस्तो अवस्थामा अस्थायी रेडियो ब्ल्याकआउट, कक्षामा रहेका उपग्रहमा असर, र केही जमिनआधारित संरचनामा समस्या देखिन सक्छ। यद्यपि यस आँधीले ठ्याक्कै के–कस्ता क्षति पुर्‍यायो भन्नेबारे अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था छैन।

कहाँ–कहाँ देखियो रंगीन प्रकाश?

युरोपमा सूर्य अस्ताइसकेपछि आँधी तीव्र बनेकाले बेलायत सहित फ्रान्स, जर्मनी, स्विट्जरल्यान्ड, अस्ट्रिया, बेल्जियम, नर्वे, डेनमार्क, नेदरल्यान्ड्स र क्रोएसियामा व्यापक रूपमा अरोरा अर्थात् उत्तरी आकाश नै रङ्गीन बनाउने प्रकाश देखिएको छ।

अमेरिकामा भने आँधीको पहिलो शिखर सूर्य अस्ताउनु अघि परेको थियो। तैपनि अलाबामा, जर्जिया, न्यू मेक्सिको र क्यालिफोर्नियाजस्ता दक्षिणी राज्यसम्म अरोरा देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। विज्ञहरूले अधिकतम २४ अमेरिकी राज्यमा अरोरा देखिन सक्ने अनुमान गरेका लाइभसाइन्सले उल्लेख गरेको छ।

२३ वर्ष पुरानो रेकर्ड

यो घटनाले जिओ-म्याग्नेटिक अर्थात् भू–चुम्बकीय आँधीको सबैभन्दा ठूलो रेकर्ड नतोड़े पनि सौर्य विकिरण आँधीको एउटा महत्वपूर्ण रेकर्ड भने तोडेको छ। यस पटकको सौर्य विकिरण आँधी एस४ (चरम) स्तरमा पुगेको थियो जुन सन् २००३ का कुख्यात ‘ह्यालोविन सोलार स्टर्म्स’ पछि पहिलोपटक हो।

सौर्य विकिरण आँधी भन्नाले सूर्यबाट निस्किएको विकिरण/कणहरूको धार अन्तरिक्ष हुँदै फैलिने प्रक्रियालाई जनाउँछ, जसले सधैं पृथ्वीमा उस्तै प्रभाव पार्छ भन्ने हुँदैन। पृथ्वीको चुम्बकीय क्षेत्रले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरा विकिरणको दिशा र चुम्बकीय संरचनाजस्ता कारकहरूमा निर्भर हुन्छ।

यसपटक भने ती सबै अनुकूल कारक मिलेपछि पृथ्वीले २३ वर्षयताकै शक्तिशाली सौर्य विकिरण आँधीको सामना गर्नुपरेको वैज्ञानिकहरू बताउँछन्।

प्रकाशित: ८ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...