नासाले चार जना अन्तरिक्षयात्रीलाई आईएसएसबाट समयअगावै पृथ्वीमा फर्काउने

  • Technology Khabar | २६ पुष २०८२, शनिबार
नासाले चार जना अन्तरिक्षयात्रीलाई आईएसएसबाट समयअगावै पृथ्वीमा फर्काउने

काठमाडौं ।

नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट चार जना अन्तरिक्षयात्रीलाई समयअगावै पृथ्वी फर्काउने भएको छ।

नासाले पहिलो पटक चिकित्सकीय कारणका आधारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अन्तरिक्षयात्रीलाई समयअगावै फर्काउने निर्णय गरेको छ। नासाले बिहीबार (जनवरी ८) दिउँसो स्पेसएक्सको क्रु–११ मिसनमा सहभागी चारै जना अन्तरिक्षयात्रीलाई कक्षामा रहेका एक सदस्यमा देखिएको स्वास्थ्य समस्याका कारण तय समयभन्दा अघि पृथ्वी फर्काउने जनाएको हो।

स्पेस डटकमका अनुसार यो आईएसएसको इतिहासमै पहिलो चिकित्सकीय उद्दार हुनेछ। सन् २००० नोभेम्बरदेखि निरन्तर रूपमा अन्तरिक्षयात्री टोलीले सञ्चालन गर्दै आएको यो कक्षीय प्रयोगशालामा यस्तो घटना पहिलो पटक हुन लागेको हो। तर नासाका अधिकारीहरूले अवस्था चिन्ताजनक नभएको स्पष्ट पारेका छन्। प्रभावित अन्तरिक्षयात्रीको अवस्था स्थिर रहेको र गम्भीर खतरा नरहेको नासाले जनाएको छ।

नासाका प्रशासक जारेड आइज्याकम्यानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, “यो आपतकालीन अवतरण होइन, यद्यपि हामीसँग सधैं त्यस्तो क्षमता हुन्छ र त्यसका लागि नियमित अभ्यास पनि गरिन्छ।” उनले अन्तरिक्ष स्टेशनमै आवश्यक सबै परीक्षण र उपचार सुविधा उपलब्ध नभएकाले फर्कने समय छिटो पारिएको बताए।

क्रु–११ मिसनमा नासाका जेना कार्डम्यान र माइकल फिन्के, जापानका किमिया युई तथा रुसी अन्तरिक्ष एजेन्सी रोसकोसमोसका ओलेग प्लाटोनोभ सहभागी छन्। उनीहरू सन् २०२५ अगस्ट १ मा स्पेसएक्सको क्रु ड्रागन अन्तरिक्षयान ‘एन्डेभर’ मार्फत आईएसएस पुगेका थिए। उनीहरूको छ महिनाको निर्धारित मिसन लगभग सकिन लागेकाले पनि यो निर्णय लिन सहज भएको नासाले जनाएको छ।

आइज्याकम्यानका अनुसार क्रु–११ ले आफ्ना अधिकांश लक्ष्य पूरा गरिसकेको छ र क्रु–१२ मिसन केही हप्तामै प्रक्षेपण हुने भएकाले अहिले फर्किनु उपयुक्त समय हो। फर्कने ठोस तालिका भने अझै तय भइनसकेको र आगामी केही दिनमा थप जानकारी दिइने उनले बताए।

स्वास्थ्य समस्या बुधबार (जनवरी ७) देखिएको थियो। त्यस दिन नासाले जनवरी ८ का लागि तय गरिएको स्पेसवाक एक अन्तरिक्षयात्रीसँग सम्बन्धित “चिकित्सकीय चिन्ता” का कारण स्थगित गरेको थियो। उक्त स्पेसवाक कार्डम्यान र फिन्केले गर्ने योजना थियो।

नासाले गोपनीयताको कारण देखाउँदै प्रभावित अन्तरिक्षयात्रीको नाम र विस्तृत जानकारी सार्वजनिक गरेको छैन। तर नासाका प्रमुख स्वास्थ्य तथा चिकित्सकीय अधिकारी डा. जेम्स पोल्कले पत्रकार सम्मेलनमा उक्त समस्या स्पेसवाक वा त्यसको तयारीसँग सम्बन्धित नभएको स्पष्ट पारे।

उनका अनुसार यो कुनै कार्यसम्बन्धी चोटपटक नभई सूक्ष्म गुरुत्वाकर्षणको वातावरणमा देखिने स्वास्थ्य समस्या हो, जसको पूर्ण परीक्षण स्टेशनमा उपलब्ध उपकरणबाट सम्भव नभएकाले पृथ्वी फर्काउने निर्णय गरिएको हो।

डा. पोल्कले तथ्यांकका आधारमा हेर्दा औसतमा हरेक तीन वर्षमा यस्तै चिकित्सकीय उद्दार हुनुपर्ने देखिए पनि अहिलेसम्म यस्तो घटना नभएको बताए। क्रु–११ को उत्तराधिकारी क्रु–१२ मिसन चार जना अन्तरिक्षयात्रीसहित फेब्रुअरीको मध्यतिर प्रक्षेपण गर्ने लक्ष्य राखिएको छ। नासाले तालिका अघि सार्ने सम्भावना अध्ययन गरिरहेको भए पनि क्रु–११ फर्किनुअघि क्रु–१२ प्रक्षेपण हुने सम्भावना कम रहेको जनाएको छ।

क्रु–११ फर्किएपछि केही समयका लागि आईएसएसमा तीन जना मात्र रहनेछन्। ती हुन् नासाका क्रिस्टोफर विलियम्स तथा रुसी अन्तरिक्षयात्री सेर्गेई कुड–स्वेर्चकोभ र सेर्गेई मिकायेभ। उनीहरू नोभेम्बर २७ मा रुसी सोयुज अन्तरिक्षयानमार्फत स्टेशन पुगेका थिए।

यस अवधिमा विलियम्स केही समयका लागि स्टेशनमा एक्ला अमेरिकी हुनेछन्। तर नासाका अधिकारीहरूले उनी सबै जिम्मेवारी सम्हाल्न सक्षम रहेको बताएका छन्। नासाका सह–प्रशासक अमित क्षत्रियाले विलियम्सलाई आवश्यक सबै कामका लागि तालिम दिइएको र विश्वभरका नियन्त्रण केन्द्रबाट हजारौं विशेषज्ञले सहयोग गरिरहने बताए।

प्रकाशित: २६ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार