
काठमाडौं ।
अन्तर्राष्ट्रिय डाटा कर्पोरेसन (आईडीसी) ले मेमोरी अभावका कारण विश्वव्यापी पीसी उद्योग गम्भीर दबाबमा पर्न सक्ने चेतावनी दिएको छ।
आईडीसी को सबैभन्दा नकारात्मक परिदृश्य अनुसार सन् २०२६ मा पीसी आपूर्ति ८ दशमलब ९ प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ, जसको मुख्य कारण मेमोरी (र्याम) को उच्च लागत हो।
आईडीसीका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार विस्तारका लागि बढ्दो मागले मेमोरी उत्पादकहरूलाई परम्परागत उपभोक्ता उपकरणमा प्रयोग हुने डीआरएएम र एनएएन्डी उत्पादन घटाएर एआई डाटा सेन्टरका लागि प्रयोग हुने उच्च-ब्यान्डविथ मेमोरी (एचबीएम) र उच्च क्षमताको डीडीआर५ तर्फ केन्द्रित गराएको छ।
इन्ग्याजेटका अनुसार यसले पीसी निर्माताका लागि उपलब्ध र्यामको मूल्य बढाएको छ, जसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको आईडीसीले जनाएको छ।
मेमोरीको मूल्य वृद्धि सन्तुलनमा राख्न पीसी निर्माताहरूले आफ्ना उत्पादनको मूल्य बढाउन थालेका छन्। उदाहरणका रूपमा मोड्युलर पीसी निर्माता ‘फ्रेमवर्क’ ले आफ्ना केही ल्यापटप र पार्ट्सको मूल्य बढाइसकेको छ र आगामी महिनाहरूमा थप मूल्यवृद्धि हुन सक्ने चेतावनी दिएको छ।
आईडीसीका अनुसार यदि सबैभन्दा निराशाजनक अवस्था आयो भने सन् २०२६ मा मेमोरीको मूल्य ६ देखि ८ प्रतिशतसम्म बढ्न सक्छ।
यो मेमोरी संकटको समय विडम्बनापूर्ण मानिएको छ किनभने स्थानीय रूपमा एआई मोडेल चलाउन सक्ने न्यूरल प्रोसेसिङ युनिट (एनपीयू) रहेको ‘एआई पीसी’लाई महामारीपछिको सुस्ताएको पीसी बजारलाई उकास्ने प्रमुख माध्यमका रूपमा हेरिएको थियो। तर यस्ता कम्प्युटरहरूलाई बढी र्याम आवश्यक पर्ने भएकाले एआई उद्योगकै दबाबबाट उनीहरू झनै प्रभावित हुने देखिएको छ।
मेमोरी अभावको असर पीसीमा मात्र सीमित नरहेको आईडीसीले जनाएको छ। सबैभन्दा नकारात्मक परिदृश्यमा स्मार्टफोनको औसत बिक्री मूल्य पनि ६ देखि ८ प्रतिशतसम्म बढ्न सक्ने, साथै स्मार्टफोन आपूर्ति ५ दशमलब २ प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ।
आईडीसीका अनुसार पर्याप्त नगद प्रवाह र दीर्घकालीन आपूर्ति सम्झौता भएका एप्पल र सामसङजस्ता कम्पनीहरूले एक–दुई वर्षसम्म यी उच्च मेमोरी लागतलाई सहन सक्नेछन्। तर साना तथा मध्यम निर्माताका लागि भने नजिकको भविष्य अझै महँगो र नवप्रवर्तनका दृष्टिले सीमित हुने सम्भावना रहेको आईडीसी को निष्कर्ष छ।
प्रकाशित: १९ पुष २०८२, शनिबार