नेपाली आईटी कम्पनीले २० हजार डलरसम्मको विदेशमा सिधै लगानी गर्ने सुविधा, गभर्नरले भने- पखेटा फैलाउनुस्

  • Technology Khabar | १५ पुष २०८२, मंगलवार
नेपाली आईटी कम्पनीले २० हजार डलरसम्मको विदेशमा सिधै लगानी गर्ने सुविधा, गभर्नरले भने- पखेटा फैलाउनुस्
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले नेपाली सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न सहजीकरण गर्दै २० हजार अमेरिकी डलरसम्मको विदेशी लगानीको सुविधा दिने निर्णय गरेको छ।

केन्द्रीय बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा नयाँ संशोधन गर्दै सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो। जसअनुसार विदेशमा निर्यात नगरेका आईटी कम्पनीहरुले पनि विदेशमा लगानी गर्नका लागि २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका हुन्।

यसअघिका प्रावधानहरुअनुसार, आईटी उद्योगले कम्तीमा पछिल्ला तीन आर्थिक वर्ष सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनुपर्नेछ। सेवा निर्यातबाट प्राप्त औसत विदेशी मुद्राको ५० प्रतिशत वा १० लाख अमेरिकी डलर (दुईमध्ये न्यून) सटहीका लागि उपलब्ध हुनेछ।

संशोधित विनियमावलीअनुसार, विदेशी मुद्रा सटहीका लागि अब सिधै राष्ट्र बैंक जानुपर्ने बाध्यता हटेको छ। कम्पनीले सटही सुविधा वाणिज्य बैंकमार्फत लिन सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, विदेशी लगानीकर्ता सम्बन्धित कम्पनी वा उद्योगमा कायम चुक्ता पूँजीको दुई गुणासम्म विदेशी ऋण लिन सक्ने व्यवस्था गरिएको छ। तर यो सीमा पाँच गुणासम्म बढ्न रोकिँदैन। ब्याजदर सम्बन्धी प्रावधानमा, प्रिमियमदरको ५० प्रतिशत भन्दा बढी नबढ्ने गरी वार्षिक ब्याजदर कायम गर्नुपर्ने उल्लेख छ।

विदेशी ऋणसम्बन्धी कारोबारमा ऋणदाता र ऋणी बाहेक तेस्रो पक्षले रकम भुक्तानी गर्न नपाउने, र आवश्यक परामर्शरसेवाका लागि ऋणदाताले स्वयं भुक्तानी गर्नुपर्ने व्यवस्था पनि विनियमावलीमा समावेश गरिएको छ।

केन्द्रीय बैंकले शेयर स्वामित्व परिवर्तन मार्फत गरिने विदेशी लगानी सम्बन्धी पूर्वस्वीकृति लिनुपर्ने व्यवस्थालाई पनि हटाएको छ। अब विदेशी लगानीबाट प्राप्त रकम नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नहुने व्यवस्था लागू हुनेछ।

राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले नेपाली आईटी कम्पनीहरुले राम्रो गर्दै गरेको भन्दै सहजीकरण गर्न सदैव तत्पर रहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा पोस्टमार्फत पखेटा फैलाउन आग्रह गर्दै गएको केहि वर्षमा नेपालको आइटि क्षेत्रले राम्रो मेहनत गरेको बताए।

उनले अर्थ मन्त्रालयले गरेको कम्पनीहरु खोल्न सहजगर्ने, सिमा संसोधन गर्ने, करको दर विश्वसनीय बनाउने जस्ता सुधारको आंशिक फलस्वरुप २ वर्ष अघि वैदेशिक लगानीमा ४० ओटा जति आइटि कम्पनी खुलेकामा एक वर्ष अघि लगभग ४०० कम्पनी खुलेका उल्लेख गरेका छन्।

उनले आफू राष्ट्र बैंक आएपछि यी सुधारभन्दा अघि बढेर नेपाली निर्यातकर्ता कम्पनीहरुलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति दिइएको छ भने हाल निर्यात नगरेका कम्पनीहरुलाई पनि २० हजार डलरसम्म लगानी गर्न दिइएको जानकारी दिएका छन्।

यस्तै उनले वैदेशिक लगानीकर्ताहरुले पेपरवर्क धेरै भयो भनेर गुनासो गरेको सन्दर्भमा नाफा लग्न राष्ट्रवैंकको स्विकृती लिनुनपर्ने गरिएको जानकारी दिए।

उनले लेखेका छन्, “हेर्दा साधारण लागेपनी २०२१ सालमै वैदेशिक लगानी गर्न प्रतिवन्ध लगाइएको हाम्रो देशमा भएका यि पहल दूरगामी असर पार्ने प्रकृतिका हुन। अब युवाहरुलाई अनुरोध : ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुहोस, विश्व बजारमा आँखा लगाउनुहोस। पखेटा फैलाउनुहोस,मेहनत गर्नुहोस, नेपालबाटै जित्नलाई संसार हुनेछ। वैंकिङ क्षेत्रले तपाईहरुको विस्तारमा सदैव साथ दिनेछ।”

प्रकाशित: १५ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार