रेडियोको इजाजतपत्र तथा लाइसेन्स समयमै नवीकरण गर्न विभागको आग्रह, अनलाइन आवेदन दिन सकिने

  • Technology Khabar | १३ पुष २०८२, आईतवार
रेडियोको इजाजतपत्र तथा लाइसेन्स समयमै नवीकरण गर्न विभागको आग्रह, अनलाइन आवेदन दिन सकिने

काठमाडौं ।

सूचना तथा प्रसारण विभागले इजाजतपत्र तथा लाइसेन्स नवीकरणसम्बन्धी सूचना जारी गर्दै सम्बन्धित सबै प्रसारण संस्थालाई तोकिएको समयसीमाभित्र नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको विभागले राष्ट्रिय प्रसारण ऐन, २०४९, राष्ट्रिय प्रसारण नियमावली, २०५२ तथा रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम जारी भएका इजाजतपत्र तथा लाइसेन्सहरूको आर्थिक वर्ष २०८१/८२ सम्म नवीकरण भई आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण बाँकी रहेका संस्थाहरूले आवश्यक कागजातसहित नवीकरण निवेदन पेश गर्नुपर्ने जनाएको छ।

विभागका अनुसार तोकिएको नवीकरण दस्तुर र सो दस्तुरमा शतप्रतिशत जरिवाना सहित आवश्यक कागजात संलग्न गरी २०८२ पुस मसान्तसम्म विभागको अनलाइन प्रणाली brlms.doib.gov.np मार्फत नवीकरणका लागि निवेदन पेश गर्नुपर्नेछ।

सूचनामा पुस मसान्तसम्म रीतपूर्वक नवीकरण निवेदन पेश नगरेमा राष्ट्रिय प्रसारण नियमावली, २०५२ तथा रेडियो सञ्चार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम सम्बन्धित इजाजतपत्र वा अनुमति स्वतः रद्द हुने व्यहोरा समेत उल्लेख गरिएको छ।

यसैगरी, इजाजतपत्र प्राप्त संस्थाहरूले आर्थिक वर्ष २०८१/८२ को प्रसारण तथा वितरण शुल्क (रोयल्टी) समेत २०८२ पुस मसान्तसम्म दाखिला गर्नुपर्ने विभागले जनाएको छ। तोकिएको अवधिभित्र शुल्क दाखिला नगरेमा प्रत्येक महिना २ प्रतिशतका दरले जरिवाना लाग्ने स्पष्ट पारिएको छ।

थप जानकारीका लागि सूचना तथा प्रसारण विभाग, सञ्चारग्राम, काठमाडौंमा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रकाशित: १३ पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...