काठमाडौं ।
अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) संरक्षित जङ्गलमा सिसी क्यामरा राखिएपछि वन्यजन्तुको अवैध चोरीसिकारीमा नियन्त्रण भएको छ। चोरीसिकारी नियन्त्रण तथा वन्यजन्तुको निगरानीका लागि संरक्षण क्षेत्रका संवेदनशील ठाउँमा क्यामरा जडान गरिएको हो।
एक्यापका इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद रेग्मीले क्यामरा जडानपछि वन्यजन्तुको चोरीसिकारी भएको नभेटिएको बताए। उनले यहाँका जङ्गलमा पाइने विभिन्न प्रकारका वन्यजन्तु तथा चराचुरुङ् गीको अवस्थाबारे जानकारी मिलेको बताए। उनले भने, “विभिन्न १५ ठाउँमा राखिएका क्यामरामा वन्यजन्तुको सिकार भएको भेटिएको छैन। बरु कालो भालु, चितुवा, घोरल, रतुवा मृग, नीरबिरालो आदि वन्यजन्तुको अवस्थाबारे जानकारी मिलेको छ।’
रेग्मीका अनुसार एक्याप क्षेत्रका पसगाउँ, तामु, सिङ्दी, भुजुङ, घनपोखराका सैती, सुरलो, सगु, मैदुकुना पाल्मखर्क, रोरोछो, चिसाखर्कलगायतका क्षेत्रमा क्यामरा जडान गरिएको थियो।
एक्यापले डाँफे, मुनाल, कालिज, वनकुखुरा जस्ता पन्छी र कस्तुरी, मृग, घोरल, थार जस्ता वन्यजन्तुलाई पासो थाप्ने तथा बन्दुकले सिकार गर्ने सम्भावित जोखिमयुक्त क्षेत्रमा क्यामरा जडान अभियान चलाएको छ।
एक्याप क्षेत्र अन्तर्गतका ल्वाङ, सिक्लेस, भुजुङ, मुस्ताङ, मनाङका विभिन्न स्थानमा क्यामरा जडान गरिएको छ । इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख रेग्मीका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका अन्य ठाउँमा पनि क्यामरा जडान गर्ने कार्यक्रम राखिएको छ।
रेग्मीले भने, “क्यामरा जडान भएको थाहा पाएपछि सिकारी सतर्क भएको पाएका छौं। कुन ठाउँमा कस्ता जनावर रहेका छन् र उनीहरूको अवस्थाबारे जानकारी पाउँदा प्रभावकारी देखिएको छ। ”
आजको गोरखापत्रबाट
प्रकाशित: ८ पुष २०८२, मंगलवार