
काठमाडौं ।
विश्वको पहिलो फ्लाइङ (उड्ने) कारको उत्पादन सुरु भएको छ। आफ्नो दैनिक यात्राको क्रममा ट्राफिकमाथि उड्ने सपना देख्नेहरुको सपना अब चाँडै नै वास्तविकतामा परिणत हुन सक्ने देखिएको छ।
उडान भर्नको लागिउत्पादन शुरु गरिएको पहिलो फ्लाइङ कारका रुपमा रहेको एलेफ मोडेल ए अल्ट्रालाइटले ट्रङ्क र हुडमा लुकेका आठ प्रोपेलरहरू प्रयोग गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
साथै उडान सकिसकेपछि, ३ लाख १५ हजार अमेरिकी डलर पर्ने यो फ्युचरिस्टिक भेहिकल कुनै पनि सामान्य कार जस्तै बसेर चलाउन सकिने छ।
एक दशकभन्दा बढीको विकास पछि अमेरिकामा आधारित एलेफ एरोनटिक्सले अन्ततः पहिलो ग्राहकहरूले चाँडै नै उनीहरूको उड्ने कारहरू प्राप्त गर्ने घोषणा गरेको हो।
फ्युचरिस्टिक भेहिकल क्यालिफोर्नियाको सिलिकन भ्यालीमा रहेको कम्पनीको कारखानामा हातले निर्माण गरिने छ।
एलेफ एयरोनटिक्सले प्रत्येक मेसिन ग्राहकहरूलाई ढुवानी गर्नु अघि सुरक्षित भए-नभएको भनेर निश्चित गर्नको लागि “धेरै महिना” प्रोसेसिङ गर्ने बताएको छ।
पहिलो हातले निर्मित कारहरू केही ग्राहकहरूलाई मात्र डेलिभर गरिने र रियल–वर्ल्ड (वास्तविक) परिस्थितिहरूमा प्रयोगात्मक सवारी साधनहरूको परीक्षण गरिने छ।
कम्पनीले यो सुस्त गतिको रोलआउटले उड्ने कारको ठूलो उत्पादनमा प्रवेश गर्नु अघि कुनै पनि सम्भावित समस्याहरू समाधान गर्न सघाउने बताएको छ।
“हामी पहिलो फ्लाइङ (उड्ने) कारको उत्पादन समय तालिका अनुसार सुरु भएको रिपोर्ट गर्न पाउँदा खुसी छौं। टोलीले समयसीमा पूरा गर्न कडा परिश्रम गरेको छ। हामी अन्ततः उत्पादन सुरु गर्न सक्षम छौं” एलेफ एरोनटिक्सका सीईओ जिम डुखोभनीले भने।
विमानस्थल वा भर्टिपोर्टहरूमा भर पर्ने उड्ने ट्याक्सीहरू भन्दा फरक एलेफ एरोनटिक्सको गाडी पहिलो वास्तविक ‘फ्लाइङ कार’ भएको र यो सडकमा चलाउन र उड्न सक्ने बताइएको छ।
मोडेल ए सडकमा गुड्न इजाजत प्राप्त सवारी साधन र ईभीटीओएल (इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ) मार्फत पखेटाबिना उडान भर्न सक्षम विमान गरी दुवै रहेको थप उल्लेख गरिएको छ।
जमिनमा भने यो कार प्रत्येक पाङ्ग्रामा रहेका चार साना मोटरहरूको साथ सामान्य विद्युतीय कार जस्तै गुड्ने छ। साथै चालकको सिट शक्तिशाली प्रोपेलरहरूले घेरिएको र यसले १७७ किमी प्रति घण्टाको गतिमा उडानको लागि पर्याप्त थ्रस्ट प्रदान गर्नेछ।
प्रकाशित: २ पुष २०८२, बुधबार