कारोबार एपले गुगल प्ले स्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पार गर्‍यो

  • Technology Khabar | २९ मंसिर २०८२, सोमबार
कारोबार एपले गुगल प्ले स्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पार गर्‍यो

काठमाडौं ।

नेपालका साना तथा मझौला व्यवसायीहरूका लागि तयार गरिएको डिजिटल लेखा तथा व्यवसाय व्यवस्थापन प्लेटफर्म ‘कारोबार एप’ ले गुगल प्ले स्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पार गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

पारिवारिक किराना पसलमा उधारो खाता व्यवस्थापन गर्न कठिनाइ भएपछि त्यस समस्याको समाधानका रूपमा समीर फुयाँलले यस एपको अवधारणा विकास गरेका हुन्। वास्तविक जीवनको समस्याबाट जन्मिएको यस एपले छोटो समयमै हजारौँ साना व्यवसायीहरूको विश्वास जित्न सफल भएको छ ।

किराना पसल, होटल, फार्मेसी, मोबाइल पसल लगायतका व्यवसायलाई लक्षित गरेर तयार गरिएको कारोबार एपले उधारो खाता, बिक्री–खर्च विवरण, कस्टम इनभ्वाइस, विस्तृत व्यवसाय रिपोर्ट, मल्टि-स्टाफ एक्सेस, स्टक/इन्भेन्ट्री व्यवस्थापन, ग्राहक तथा सप्लायर खाता, रिपोर्टिङ जस्ता सुविधा प्रदान गर्दछ। नेपाली भाषामा प्रयोग गर्न सकिने र इन्टरनेट बिना पनि चल्ने सुविधाले ग्रामीण तथा साना व्यापारीहरूका लागि एप अझ उपयोगी बनाएको छ।

समयसँगै एपमा थप सुविधाहरू समावेश गर्दै यसको दायरा विस्तार गरिएको छ। एपले व्यवसायीहरूको डिजिटल पार्टनरको रूपमा स्थापित गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

कम्पनीको बुझाई अनुसार गुगल प्ले स्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पुग्नु कारोबार एपप्रति प्रयोगकर्ताको बढ्दो भरोसा र नेपालमा स्थानीय डिजिटल समाधानको आवश्यकताको स्पष्ट संकेत हो।

हाल एप एन्ड्रोइड, आईओएस र वेब साइट जस्ता सबै प्लेटफर्ममा उपलब्ध छ। यो एप दैनिक आम्दानी र खर्चको विवरण राख्न सहज भएकाले धेरै प्रयोगकर्ताहरूले व्यक्तिगत वित्त व्यवस्थापनका लागि पनि प्रयोग गरिरहेका छन्।

आफ्नो पैसा कहाँ र कसरी खर्च भइरहेको छ भन्नेस्पष्ट रूपमा हेर्न सकिने भएकाले कारोबार एप अहिले नेपाली प्रयोगकर्तामाझ अत्यधिक लोकप्रिय बन्दै गएको छ।

नेपालमा मात्र सीमित नरही, कारोबार एप बङ्गलादेशमा ‘Karbar App’ नामले उपलब्ध छ, जहाँ ५० हजारभन्दा बढी डाउनलोड भइसकेको छ। यसले दक्षिण एशियाली बजारमा पनि एपको बढ्दो प्रभावलाई स्पष्ट रूपमा देखाएको छ।

कारोबार एपको यो सफलता नेपालमा स्थानीय प्रविधि समाधानहरूले साना तथा मझौला व्यवसाय क्षेत्रलाई डिजिटल रूपान्तरणतर्फ डोर्याइरहेको संकेतका रूपमा हेरिएको छ। आगामी दिनमा थप फिचर र सेवासहित एपलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार