
काठमाडौं ।
लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौतीजस्तै छन्। यही कठोर वातावरणबीच सन्तोष देवीजस्ता महिलाहरूले सौर्य इन्जिनियरिङ सिकेर आफ्नो घर–परिवारमा उज्यालो र आशा फिर्ता ल्याउन सफल भएका छन्।
खानीमा दशकौँसम्म काम गर्दा श्वासप्रश्वास बिग्रिने पुरानो रोग सिलिकोसिस बाट उनका पति ओछ्यानमै परेपछि, परिवारको भविष्य बचाउन सन्तोषले हातमा नयाँ सीप लिन बाध्य भए।
राजस्थानका करिब ३३ हजार खानीमा अत्यधिक मात्रामा पाइने सिलिका धुलोको दीर्घसम्पर्कले उत्पन्न हुने यो रोग त्यहाँका हजारौँ परिवारको दैनन्दिन त्रास हो।
आफ्ना चार सन्तानसहित बस्तै आएकी ३६ वर्षीया सन्तोष बेयरफुट कलेज, तिलोनिया, ब्यावरभन्दा दुई घण्टा टाढा, तीन महिनाको सौर्य इन्जिनियरिङ तालिममा सहभागी भएपछि पहिलोपटक आर्थिक आत्मनिर्भरता बटुल्न सफल भएकी छिन्।
प्यानल जडानदेखि तारजोड, बत्ती जडानदेखि मर्मतसम्म सिकेपछि उनले गाउँमै विद्युत् नपुगेका घरहरू उज्यालो बनाउन योगदान गरिरहेकी छिन्।
उनका पति सिलिकोसिसका कारण अब मुश्किलले हिँडडुल गर्न सक्छन्। चिकित्सकीय खर्च निकै महँगो छ र राज्यले दिने न्यून भत्ता मात्र नै नियमित आयको स्रोत बनेको छ। यसैबीच बेयरफुट कलेजले स्थापित गरेको कार्यक्रमले सन्तोषजस्ता महिलालाई रोजगारी, आत्मविश्वास र घरसम्भारको विकल्प प्रदान गरेको छ।
संस्थानका प्राविधिक प्रबन्धक कमलेश बिष्टका अनुसार सन् १९७२ मा स्थापना भएदेखि हालसम्म ९६ देशका तीन हजारभन्दा बढी महिलालाई तालिम दिने कलेजको मुख्य लक्ष्य ग्रामीण महिलालाई स्वावलम्बी बनाउनु हो।
निरक्षर सन्तोषको सपनासमेत साधारण छैन। उनी आफ्ना पाँचदेखि २० वर्ष उमेरका छोराछोरीलाई ‘राम्रो शिक्षा र उज्यालो भविष्य’ दिन चाहन्छन्। अहिले थोरै भए पनि सौर्य प्यानल जडानबाट आम्दानी गर्न थालेकी उनी भविष्यमा महिनामा करिब ७० अमेरिकी डलर बराबर कमाउने आशा राख्छिन्।
परिवारबाट टाढा बसेर प्रशिक्षण लिनु कठिन भएको स्वीकार्दै पनि उनले यो सबै ‘लायकको यात्रा’ भएको बताए।
सन्तोषले गर्वका साथ तीन घरमा आफूले जडान गरेका फोटोभोल्टिक प्यानल देखाए जसले बत्ती, फ्यान र चार्जर चलाउने आवश्यक विद्युत् उत्पादन गरिरहेका छन्।
मरुभूमिमा फैलिएको ‘स्लो किलर’
उनका पतिले वर्षौंसम्म बलौटे ढुङ्गा काट्दै पेभर निर्माणका लागि लगिने ढुङ्गा निकाल्ने कठिन काम गरे। अहिले १६ डलरको मासिक भत्ता बाहेक आयको कुनै स्रोत छैन, औषधि महँगो छ र स्वास्थ्य झनै ओरालो। आँसु पुछ्दै सन्तोषले गहना बेचेको, आफन्तसँग पैसा उधारो लिएको र आफ्नो मङ्गलसूत्र समेत राखेको बताए।
राजस्थानभर हजारौँ मानिस यस्तै अवस्थाबाट गुज्रिरहेका छन्। अजमेर जिल्लामात्रै पाँच हजारदेखि छ हजार बिरामी रहेको पल्मोनोलोजिस्ट लोकेश कुमार गुप्ता बताउँछन्।
केही गाउँमा त सयभन्दा बढीको अवस्था दयनीय छ। सन्तोष बस्ने ४०० घरको गाउँमा मात्रै ७० जना सिलिकोसिसबाट पीडित छन्। बिस्तारै शरीर निष्क्रिय बनाउने यो रोगको उपचार प्रायः हुँदैन।
खानी मजदुरहरू मध्ये धेरैले छ डलरभन्दा कममा दिनभरि ढुङ्गा काट्छन्। झनै जोखिमपूर्ण ज्याकह्यामर चलाउनेहरूले दोब्बर कमाए पनि विषाक्त धुलोको सामना गर्नैपर्छ। ३४ वर्षीय विनोद राम पनि १५ वर्षदेखि खानीमा काम गर्दै आएकोमा अहिले ४५ किलो मात्रै तौल रहेको र औषधिले केही मिनेट मात्र राहत दिने बताउँछन्।
कामको विकल्प नभएका परिवारहरू
विनोदकी श्रीमती चम्पा देवीले पनि बेयरफुट कलेजबाट तालिम लिएर घर फर्केपछि चार घरमा प्यानल जडान गरेकी छिन्, तर हालसम्म भुक्तानी पाइसकेकी छैनन्। अहिले उनी इँटाभट्टा तथा निर्माणस्थलमा दिनभर काम गरी करिब तीन डलर आम्दानी गर्छिन्, तर पतिको औषधि खर्च मात्र मासिक ८० डलरसम्म पुग्छ।
यो जोडी एक अँध्यारो एककोठे घरमा, भुइँमा बिछ्याइएको पातलो कम्बलमा बस्छ, वरपरका खानीबाट हुने विस्फोटका आवाज सुनिन्छन्। “सिलिकोसिसको कुनै उपचार छैन”, चिकित्सक गुप्ता भन्छन्। धेरै बिरामी ढिलो—पाँचदेखि सात वर्षपछि—मात्र उपचारका लागि पुग्छन्, जसले समस्या जटिल बनाउँछ।
राज्यको राहत योजनाअन्तर्गत बिरामीलाई प्रारम्भिक ३१० डलर र मृत्युको अवस्थामा परिवारलाई तीन हजार ४६५ डलर सहयोग गरिन्छ। तर धेरैजसो बिरामी अझै पनि परिवार धान्नका लागि बाध्य भएर, स्वास्थ्य जोखिमका बाबजुद बलौटे ढुङ्गा काट्नै जारी राखिरहेका छन्। ५५ वर्षीय मजदुर सोहन लाल भन्छन्, “यदि मलाई अस्पतालले रोग पुष्टि गरिदियो भने के फरक पर्छ ? काम गरिनँ भने परिवार भोकै बस्छ।”
यसैबीच, बेयरफुट कलेजबाट सिकेका सौर्य सीपहरूले सन्तोषजस्ता महिलामा आत्मविश्वास मात्र नभई, विषम परिस्थितिमाथि टिक्ने शक्ति पनि जगाइदिएको छ—जहाँ रोग, गरिबी र सङ्घर्षबीच पनि उज्यालो छर्ने आशाकिरण बल्दै गएको छ।-रासस/एएफपी
प्रकाशित: २० मंसिर २०८२, शनिबार