Technology Khabar १७ मंसिर २०८२, बुधबार
काठमाडौं ।
जर्मनीका एक अन्तरिक्षयात्री भविष्यको नासा-नेतृत्वमा हुने आर्टेमिस मिशनमार्फत चन्द्रमामा पुग्ने पहिलो युरोपेली बन्नेछन्, युरोपियन स्पेस एजेन्सी (ईएसए) का महानिर्देशक जोसेफ आस्चबाखरले नोभेम्बर २७, बिहीबार, ब्रीमेन, जर्मनीमा बसेको ईएसए मन्त्रीस्तरीय परिषद बैठकमा भने।
जर्मनी ईएसएको सबैभन्दा ठूलो बजेट योगदानकर्ता हो।
ब्रीमेनस्थित एयरबस कारखानामा यूरोपले बनाएको सर्भिस मोड्युल जोडिन्छ जसले आर्टेमिस चन्द्र अभियानका क्रममा अन्तरिक्षयात्री बोकेर जाने ओरायन क्याप्सुललाई प्रोपल्सन, विद्युत् र वायुमण्डलीय पुनःउत्पादन सुविधा उपलब्ध गराउँछ।
यूरोपले २०२७ देखि चन्द्र कक्षमा रहने लुनर गेटवे नामक सानो अन्तरिक्ष स्टेशनका भागहरू पनि बनाइरहेको छ। फ्रान्स र इटालीको नेतृत्वमा निर्माण भइरहेका यी कम्पोनेन्टहरूको बदलामा ईएसए ले चन्द्रतर्फ जाने तीन सीट सुरक्षित गरेको आस्चबाखरले बताए।
“पहिलो पटक ईएसएका अन्तरिक्षयात्रीले निम्न-पृथ्वी कक्षाभन्दा बाहिर यात्रा गर्नु यूरोप र सम्बन्धित देशका लागि ठूलो गर्वको विषय हुनेछ,” उनले भने। जर्मनीसँग हाल ईएसए एस्ट्रोनट कर्प्समा दुई अनुभवी अन्तरिक्षयात्री छन् तीमध्ये ५५ वर्षीय माथियास माउरर र ४९ वर्षीय अलेक्जेण्डर गर्स्टले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा महिनौँ बिताइसकेका छन्।
साथै ईएसएको रिजर्भ टोलीमा ३६ वर्षीया एमेलि शोएनेनवाल्ड र ४० वर्षीया निकोला विन्टर नामका दुईजना जर्मन अन्तरिक्षयात्री पनि छन् तर यी दुवै अझै अन्तरिक्षमा उडेका छैनन्। त्यसैले आर्टेमिस ४ मिशनका लागि गर्स्ट वा माउरर नै मुख्य दाबेदार मानिनछन्। गर्स्टले २०१४ मा आईएसएसमा पहिलो ६ महिनाको बसाइका क्रममा ६ घण्टाको स्पेसवाक गरेका थिए।
२०१८ मा दोस्रो पटक आईएसएस पुग्दा उनले कमाण्डरका रूपमा पनि काम गरे। ३६२ दिन अन्तरिक्षमा बिताइसकेका गर्स्ट ईएसएका सबैभन्दा अनुभवी अन्तरिक्षयात्रीमध्ये एक हुन्। माउररले २०२१ मा गरेको मिशनका क्रममा १७६ दिन आईएसएसमा बिताए र एकपटक स्पेसवाक पनि गरे।
२३ युरोपेली देशहरूको सहकार्यमा रहेको ईएसए, आईएसएस साझेदारीको हिस्सा भएकाले नियमित रूपमा आफ्नो अन्तरिक्षयात्रीलाई स्टेशनमा पठाउँदै आएको छ। १९९० को दशकमा केही युरोपेली अन्तरिक्षयात्रीहरूले हबल स्पेस टेलिस्कोप मर्मत मिशनमा भाग लिएका थिए। तर कुनै पनि युरोपेलीले त्यसभन्दा बाहिर, अझ गहिरो अन्तरिक्षतिर यात्रा गरेको इतिहास छैन।
“अब हाम्रो लागि पहिलो पटक, ३६०,००० किलोमिटर टाढासम्म एक युरोपेली अन्तरिक्षयात्री पठाउने अवसर आएको छ,” जर्मनीकी अनुसन्धान, प्रविधि र अन्तरिक्ष मन्त्री डोरीथी बारले पत्रकार सम्मेलनमा भनिन्। “यसको अर्थ, एक युरोपेली अन्तरिक्षयात्री करिब तीन दिन यात्रा गरेर पहिलो पटक पूरै पृथ्वीलाई एकै नजरमा देख्नेछन्। अहिलेसम्म कुनै युरोपेलीले यस्तो दृश्य देखेको छैन।”
प्रकाशित: १७ मंसिर २०८२, बुधबार