Technology Khabar १२ मंसिर २०८२, शुक्रबार
काठमाडौं ।
दुई वर्षमा सम्पन्न गर्ने योजनासहित श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले सुरु गरेको सवारीसाधनको विद्युतीय अभिलेखीकरण (डिजिटलाइजेसन) ले गति लिएको छैन। सुरु भएको सात महिनामा जम्मा एक लाख ९१ हजार १२७ वटा सवारीको कागजात डिजिटलाइजेसन भएको छ। यो तोकिएको मितिमा सम्पन्न गर्न नसकिने अवस्था हो।
सरकारी निकायबाटै डिजिटलाइजेसनलाई असहयोग भएको सम्बन्धित निकायको गुनासो छ। एक लाख ९१ हजार १२७ सवारीमा जम्मा ९५ वटा सरकारी सवारी मात्रै डिजिटलाइजेसन भएका छन्। लट अनुसार डिजिटलाइजेसन गरिए पनि सरकारी सवारीको उपस्थितिमा अनिच्छा देखिएको छ।
विभागका अनुसार सरकारी, निजी, दुईपाङ्ग्रे चारपाङ्ग्रेलगायत हालसम्म करिब ५८ लाख सवारी दर्ता छन्। ७० हजार सरकारी सवारी छन्। बागमतीमा दर्ता भएका झन्डै २२ लाख सवारीमध्ये करिब ४० हजार सरकारी सवारी छन्।
हालकै गतिमा काम भयो भने वर्षमा पाँच लाख सवारी पनि डिजिटलाइजेसन गर्न गाह्रो देखिन्छ। मन्त्रालयका अधिकृत खगेन्द्र पौडेल भन्छन्, “दुई वर्षमा सम्पन्न गर्ने उद्देश्य हो। सुरुमा भन्दा गति बढाइएको छ। थप जनशक्तिको व्यवस्थापन पनि भइरहेको छ।”
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले यातायात कार्यालयमा पुऱ्याएको क्षतिले गर्दा पनि सेवा प्रभावित हुँदा ढिलाइ हुन पुगेको पौडेलको भनाइ छ। डिजिटलाइजेसन काठमाडौं उपत्यकामा यातायात व्यवस्था कार्यालय सानाठुला सवारी एकान्तकुना र यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराले गरिरहेका छन्।
गुर्जुधाराले हालसम्म ९१ हजार ५३४ र एकान्तकुना कार्यालयले ६७ हजार २६६ वटा सवारीको मात्र डिजिटलाइजेसन गरेका छन्।
त्यस्तै यातायात सेवा कार्यालय हेटौंडाले सात हजार ९५८ र यातायात सेवा कार्यालय भरतपुरले १९ हजार ९०२ वटा सवारी डिजिटलाइजेसन गरेको पौडेलले जानकारी दिए। इगभर्नेन्सको नीति अनुसार पनि अनलाइन प्रणालीमा जानुको विकल्प नभएकाले अन्ततः सबै सवारी डिजिटलाइजेसनमा समावेश हुने उनको भनाइ छ।
उनले भने, “अनलाइन प्रणालीमा समावेश हुनु भनेको सबै हिसाबले सुरक्षित हुन्छ। कार्यालयमा आगो लाग्यो भने पनि रेकर्ड सुरक्षित हुन्छ। कागजात बोकिरहनु पर्दैन र हराए पनि चिन्ता भएन। यो सेवाग्राहीका लागि नै सजिलो हुन्छ।”
ज्यालादारी कर्मचारी राखेर डिजिटलाइजेसनलाई तीव्रता दिइएको एकान्तकुना कार्यालयले जानकारी दिएको छ। गुर्जुधारा कार्यालयले पनि ५० जना ज्यालादारी कर्मचारी राखेर अभिलेखको काम गरिरहेको छ। गुर्जुधाराले दुईपाङ्ग्रे र एकान्तकुना कार्यालयले चारपाङ्ग्रे सवारीको अभिलेखीकरण गरिरहेका छन्।
डिजिटलाइजेसन हुने सवारीमा दुईपाङ्ग्रेको सङ्ख्या बढी छ। हालसम्म एक लाख १९ हजार ३१९ वटा दुईपाङ्ग्रे र ७१ हजार ८०८ वटा चारपाङ्ग्रे सवारीको डिजिटलाइजेसन भएको छ। चारपाङ्ग्रेको तुलनामा दुईपाङ्ग्रे सवारीको कागजात हराउने र साथमै राखिरहन पनि झन्झट हुने भएकाले दुईपाङ्ग्रे सवारीधनीले डिजिटलाइजेसनमा रुचि देखाएको मन्त्रालयको दावी छ।
अभिलेख नागरिक एपबाट पनि हेर्न सकिने छ। विद्युतीय अभिलेख भएपछि कर चुक्तालगायतका जानकारी अनलाइनमै उपलब्ध हुने छ। पौडेलले
भने, “एकीकृत अनलाइन डाटा उपलब्ध हुन्छ। कागजात बोकिरहनुपर्ने र चेकजाँचमा कागजात नै हेर्नुपर्ने अवस्था हुँदैन। नियन्त्रण र नियमन अनलाइनबाट हुन्छ।” लगत कट्टालगायत २० वर्ष पुराना सवारीलाई पत्रु बनाउन पनि अनलाइन अभिलेखबाट सहयोग पुग्ने उनको भनाइ छ।
डिजिटलाइजेसनलाई थप विस्तार गरी दर्ता र नामसारी पनि अनलाइनबाट गर्ने मन्त्रालयको योजना भए पनि कार्यान्वयन भने भइसकेको छैन। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६१ / ८२ मा बागमती प्रदेशमा २७ हजार ६०८ वटा सवारी दर्ता भएका छन्। जसमा एक हजार १९ वटा बस, एक हजार ५०७ वटा मिनीबस र ट्रक, सात हजार ६८४ कार, १५ हजार ६५७ विद्युतीय कार, सात हजार ६८४ जिप, ९३३ वटा ट्रक तथा टिप्पर र ७१४ वटा डोजर एक्स्क्याभेटर दर्ता भएका छन्।
प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार