अलिबाबाले सार्वजनिक गर्यो क्वार्क एआई चश्मा: मेटालगायतका उत्पादनलाई ठाडो चुनौती

Technology Khabar १२ मंसिर २०८२, शुक्रबार

अलिबाबाले सार्वजनिक गर्यो क्वार्क एआई चश्मा: मेटालगायतका उत्पादनलाई ठाडो चुनौती
तस्बिर: रोयटर्स

काठमाडौं ।

अलिबाबाले बिहीबार चीनमा नयाँ क्वार्क एआई चश्मा सार्वजनिक गरेको छ। यसले मेटाजस्ता कम्पनीहरूले नेतृत्व गरिरहेको एआई वेयरएबल बजारमा प्रवेश गर्ने प्रयासको संकेत गर्दछ। यो हेडसेटको मूल्य १,८९९ युआन (२६८ डलर) बाट सुरु हुनेछ र अलिबाबाको क्वेन एआई मोडेल तथा एपद्वारा सञ्चालित हुनेछ।

रोयटर्सका अनुसार मेटाजस्ता कम्पनीका अन्य हेडसेटहरूभन्दा फरक क्वार्क चश्मा कालो प्लास्टिक फ्रेमसहित सामान्य चस्माजस्तै देखिन्छन्। अलिबाबाले यी चश्मा अलिपे र आफ्नो किनमेल साइट टाओबाओ लगायतका एपहरूसँग गहिरो रूपमा एकीकृत हुने बताएको छ। प्रयोगकर्ताले यी चश्माबाट यात्रा–अनुवाद, वस्तुको तत्काल मूल्य पहिचानजस्ता काम गर्न सक्नेछन्।

“अलिबाबाको बलियो पक्ष किनमेल, भुक्तानी र नेभिगेसन हो त्यसैले यसको एआई चश्मा जीवन–सहायकजस्तै काम गर्छ,” बेइजिङका प्रविधि विश्लेषक ली चेङडोङले भने। कम्पनी उपभोक्ता एआई बजारमा प्रतिद्वन्द्वीहरूभन्दा ढिलो भए पनि हाल तीव्र रूपमा अगाडि बढिरहेको छ। यसै महिना यसले आफ्नो एआई च्याटबोटको ठूलो सुधार पनि सार्वजनिक गरेको थियो।

लीका अनुसार एआई चश्माका लागि अलिबाबाको रणनीति चीनको कडा प्रतिस्पर्धात्मक इ–कमर्स बजारमा भविष्यको ट्राफिक प्रवेशद्वार सुरक्षित गर्ने उद्देश्यसँग जोडिएको छ। “अलिबाबा इ–कमर्समा मात्र एकछत्र हावी छैन,” उनले भने। “यसले एआईको माध्यमबाट आगामी पुस्ताको ट्राफिक प्रवेशमार्ग पक्रन चाहन्छ।”

नयाँ क्वार्क एआई चश्मा टिमल, जेडी डटकम र डुइनलगायत प्रमुख चिनियाँ इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छन्। यो डिभाइस आधिकारिक रूपमा यही बिहीबारबाट मात्र बिक्रीमा आएका कारण बिक्री तथ्यांक भने उपलब्ध छैन।

मनोरञ्जन र कम्प्युटिङका लागि एआई–आधारित नयाँ उपकरण विकासको दौडमा विश्वका ठूला प्राविधिक कम्पनीहरू भिडिरहेका छन्। मेटाले भीआर हेडसेट बजारमा करिब ८० प्रतिशत हिस्सा ओगटेर अग्रता जमाएको छ। एप्पलले भिजन प्रो हेडसेट बेच्दै आएको छ भने सामसङ इलेक्ट्रोनिक्सले अक्टोबरमा अल्फाबेटको एआई प्रयोग गर्ने ग्यालेक्सी एक्सआर हेडसेट बजारमा ल्याएको थियो।

अन्य चिनियाँ प्राविधिक कम्पनीहरूले पनि यस्तै एआई चश्मा सार्वजनिक गरिसकेका छन्। शाओमीले जुन महिनामा आफ्नो उत्पादन बजारमा ल्याएको थियो भने बाइदूले पहिले नै यस्तै चश्मा बिक्री गर्दै आएको छ।

प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया