टीएसएमसीले लगाएको वरिष्ठ अधिकारीद्वारा गोप्य डाटा चुहावटको आरोप इन्टेलद्वारा अस्विकार

  • Technology Khabar | १२ मंसिर २०८२, शुक्रबार
टीएसएमसीले लगाएको वरिष्ठ अधिकारीद्वारा गोप्य डाटा चुहावटको आरोप इन्टेलद्वारा अस्विकार

काठमाडौं ।

इन्टेलले बिहीबार ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ (टीएसएमसी) ले लगाएको आरोप अस्वीकार गरेको छ। टीएसएमसीले पूर्व कर्मचारी वेइ-जेन लोले गोप्य व्यापारिक जानकारी चुहाएको दाबी गरेको थियो।

“हामीलाई थाहा भएको आधारमा, मिस्टर लोसँग सम्बन्धित आरोपमा कुनै तथ्य भएजस्तो देखिँदैन,” इन्टेलले इमेलमार्फत दिएको वक्तव्यमा भनेको छ।

इन्टेलले कम्पनीले तेस्रो पक्षको गोप्य जानकारी वा बौद्धिक सम्पत्ति प्रयोग वा सार्न कडा प्रतिबन्ध लगाउने कडा नीति र नियन्त्रण लागू गरेको जनाएको छ। “हामी यी प्रतिबद्धताहरूलाई गम्भीर रूपमा लिन्छौँ,” कम्पनीले भनेको छ।

रोयटर्सका अनुसार अमेरिकी चिप निर्माता इन्टेलले लोलाई पुनः स्वागत गरेको र उनी इमानदारी, नेतृत्व क्षमता र प्रविधिक दक्षताका कारण सेमिकन्डक्टर उद्योगमा सम्मानित व्यक्ति भएको जनाएको छ। “कम्पनीबीच कर्मचारी आवतजावत हुनु हाम्रो उद्योगको सामान्य र स्वस्थ प्रक्रिया हो, र यो घटनामा पनि त्यही लागू हुन्छ,” कम्पनीले थप्यो।

टीएसएमसीले मंगलबार ताइवानको बौद्धिक सम्पत्ति तथा व्यावसायिक अदालतमा आफ्नो पूर्व वरिष्ठ उपाध्यक्ष लोविरुद्ध मुद्दा दायर गरेको थियो।

लोले टीएसएमसीमा रहँदा ५-न्यानोमिटर, ३-एनएम र २-एनएम अत्याधुनिक चिप उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। टीएसएमसीमा २१ वर्ष काम गरिसकेपछि उनले सेवानिवृत्त भई गत अक्टोबरमा इन्टेलमा प्रवेश गरेका थिए। टीएसएमसीमा २००४ मा प्रवेश गर्नु अगाडि लो १८ वर्ष इन्टेल मै काम गरेका थिए।

टीएसएमसीले आफ्नो वक्तव्यमा “लोले टीएसएमसीका व्यापारिक गोप्य जानकारी इन्टेललाई प्रयोग, चुहावट, प्रकटीकरण वा स्थानान्तरण गर्ने उच्च सम्भावना रहेको” उल्लेख गरेको र त्यसैले कानुनी कारबाही आवश्यक भएको बताएको थियो। ताइवानको अर्थ मन्त्रालयले यस मुद्दाले मुल प्रविधि उल्लङ्घन वा राष्ट्रिय सुरक्षा ऐनको उल्लङ्घन समेटेको हो कि भनेर जाँच गर्न सहयोग गर्ने जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...