
काठमाडौं ।
स्न्यापले अष्ट्रेलियामा किशोरहरूका लागि लागू हुने सामाजिक सञ्जाल प्रतिबन्ध पालना गर्न कम्पनीले प्रयोगकर्तालाई बैंकहरूकै सफ्टवेयर प्रयोग गरी उमेर प्रमाणित गर्ने सुविधा उपलब्ध गराउने भएको छ। यो प्रतिबन्ध आगामी महिनादेखि लागू हुँने कम्पनीले सोमबार जनाएको छ।
अष्ट्रेलियाले गत वर्ष १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा विश्वमै पहिलो प्रतिबन्ध स्वीकृत गरेको थियो, जसलाई ठूला टेक कम्पनीहरू लक्षित कडा नियम मानिन्छ।
स्न्यापच्याट सञ्चालन गर्ने अमेरिकास्थित स्न्यापले यसै हप्तादेखि प्रयोगकर्तालाई सम्पर्क गरेर कनेक्टआईडी भन्ने बैंक खातासँग जोडिने सफ्टवेयरमार्फत आफू १६ वर्ष वा सोभन्दा माथि भएको प्रमाणित गर्ने विकल्प दिने जनाएको छ।
अष्ट्रेलियाली प्रयोगकर्ताले सिङ्गापुरस्थित के-आईडी नामक उमेर प्रमाणिकरण सफ्टवेयरमार्फत पनि आफ्नो उमेर पुष्टि गर्न सक्ने स्न्यापले भनेको छ जसले सेल्फी वा सरकारी परिचयपत्र अपलोड गरेर उमेर अनुमान गर्छ।
तर बैंक खातामार्फत गर्ने विधि सामाजिक सञ्जाल प्रतिबन्ध लागू गर्ने प्रक्रियामा पहिलोपटक प्रयोगकर्ताको वित्तीय विवरणसँग जोडिएको माध्यम बनेको छ। स्न्यापका अनुसार १३ देखि १५ वर्ष उमेर समूहका करिब ४ लाख ४० हजार अष्ट्रेलियाली प्रयोगकर्ता छन्, जसले स्न्यापच्याट लाई यो प्रतिबन्धबाट सबैभन्दा बढी प्रभावित प्लेटफर्म बनाएको छ।
वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा स्न्यापले अष्ट्रेलियाली सरकारले आफूलाई ‘सामाजिक सञ्जाल’ नभई ‘सन्देश सेवा’ भएको दावी अस्वीकार गरेको उल्लेख गरेको छ। “हामी यस मूल्यांकनसँग ठाडै असहमत छौँ, तर हामी जहाँ–जहाँ सञ्चालन गर्छौँ, त्यहाँका स्थानीय कानुनहरू जस्तै यहाँ पनि पालना गर्नेछौँ,” स्न्यापले जनाएको छ।
अष्ट्रेलियाका प्रायः सबै ठूला बैंकले प्रयोग गर्ने कनेक्टआईडीले प्रयोगकर्ताको खाता विवरणका आधारमा १६ वर्षभन्दा माथि रहेको वा नरहेको ‘हो/होइन’ भन्ने संकेत मात्र पठाइने बताएको छ र संवेदनशील विवरण अपलोड गर्नुपर्ने छैन।
कनेक्टआईडीका प्रबन्ध निर्देशक एन्ड्र्यू ब्ल्याकले जारी वक्तव्यमा भने, “उद्देश्य बालबालिकालाई अनलाइन सुरक्षित राख्नु हो, कुनै नयाँ गोपनीयता जोखिम सिर्जना गर्नु होइन।”
रोयटर्सका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले अष्ट्रेलियाको प्रतिबन्धको आलोचना गर्दै आएका थिए, जसले नियम उल्लङ्घनमा करिब ३ करोड ३० लाख अमेरिकी डलरसम्म जरिवाना गर्न सक्छ। तर डिसेम्बर १० को समयसीम नजिकिँदै गर्दा धेरै कम्पनीहरूले प्रतिबन्ध पालना गर्ने बताएका छन्।
गत हप्ता इन्स्टाग्राम, व्हाट्सएप तथा थ्रेड्सको सञ्चालक मेटाले प्रतिबन्धभन्दा कम उमेरका खाताहरू समयसीमाअघि नै निष्क्रिय बनाउन सुरु गर्ने जनाएको थियो।
प्रकाशित: ९ मंसिर २०८२, मंगलवार