वैदेशिक रोजगार विभागको वेबसाइट ह्याक, विभागका महानिर्देशक भन्छन्- सबै ठिक छ, कार्यालयको टोली र पब्लिकले पनि गुनासो गरेका छैनन्

  • Technology Khabar | २३ कार्तिक २०८२, आईतवार
वैदेशिक रोजगार विभागको वेबसाइट ह्याक, विभागका महानिर्देशक भन्छन्- सबै ठिक छ, कार्यालयको टोली र पब्लिकले पनि गुनासो गरेका छैनन्

काठमाडौं ।

वैदेशिक रोजगार विभागको वेबसाइट ह्याक भएको छ। आज बिहान ह्याक भएको वेबसाइट केही घण्टा चलेको थिएन भने अहिले वेबसाइट चलिसकेको छ तर होमपेजमा रहेका ट्याब क्लिक गर्दा भित्रका सामग्री लोड हुन सकिरहेका छैनन्।

विभागको हाम्रो बारेमा भन्ने ट्याबभित्रको सांगठनिक संरचना तथा कर्मचारी विवरण ट्याब खुल्दैनन्। दिउँसो अन्य ट्याबहरुमा पनि समस्या थियो।

बिहान विभागमै कामका लागि पुगेको एउटा स्रोतले वेबसाइट ह्याक भएको र प्रारम्भिक रुपमा थाइल्याण्डका ह्याकरको हात हुन सक्ने टेक्नोलोजीखबरलाई जानकारी दिएका थिए।

तत्काल वेबसाइट खोल्न खोज्दा खुलेको थिएन भने गुगल सर्चमा गएर वेबसाइट खोज्दा थाई भाषामा लेखिएको वेबसाइट देखिन्थ्यो जसलाई क्लिक गर्दालवड भने हुँदैनथ्यो। दिउँसोसम्म उक्त लिङ्कमा लुम्बो८८८ नाम लेखिएको थियो जुन ह्याकरको पहिचान हुन सक्छ। यो लिङ्क अहिले पनि लिस्टमा देखिन्छ तर यसमा लुम्बो८८८ छैन बरु कुनै नबुझिने भाषा देखिन्छ। तर सोही लिङ्कमा क्लिक गर्दा पनि विभागको होमपेजमा पुगिन्छ।

यस विषयमा बुझ्दा विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भने कुनै समस्या नभएको र सबै राम्रै चलिरहेको बताए।

उनले भने, ‘अफिसका कर्मचारीबाट पनि समस्या आएको केही रिपोर्टिङ भएको छैन र पब्लिकबाट पनि कुनै गुनासो आएको छैन।’

हामीले वेबसाइट खोलिरहेको र यस प्रकारको समस्या अझै रहेको बताएपछि उनले अलिक विश्वास गरे र भने, ‘ह्याकरहरुले बेलाबेला यस्तो गरिरहन्छन्। कहिले पासपोर्टमा समस्या आउँछ कैले बैंकमा समस्या आउँछ। प्रविधिमा भर पर्ने भएपछि बेला मौकामा यस्तो समस्या आउँछ। म मेरो टेक्निकल टिमसँग कुरा गर्छु।’

यतिखेर भने दिउँसो नखुलेका भित्री पेजहरु पनि बिस्तारै लोड हुन थालेका छन्। तर वेबसाइट पूर्णरुपमा सुरक्षित छ या छैन भन्नेमा अझै शंका छ।

प्रकाशित: २३ कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २३ कार्तिक २०८२, आईतवार