९०० र २१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी अक्सनको लागि फेरी सूचना

Technology Khabar २७ फाल्गुन २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी अक्सनको लागि पुन सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै ९०० र २१०० फ्रिक्वेन्सी अक्सनमा सहभागी हुन चाहने कम्पनीहरुको लागि समयावधि थप गरेको हो।

प्राधिकरणले यसअघि फागुन २३ गतेसम्मको म्याद राखेर ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डहरुको लागि निवेदन माग गरेकोमा १८०० मेगाहर्ज ब्याण्डको लागि मात्र दुई कम्पनीहरुले निवेदन दिएका थिए । नेपाल टेलिकम र एनसेलले १८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी लिनका लागि ईच्छा देखाएका थिए भने ९०० र २१०० मेगाहर्ज ब्याण्डको लागि भने केबल एनसेलले मात्र निवेदन दिएको थियो ।

प्राधिकरणले दुबै फ्रिक्वेन्सीको लागि एउटा कम्पनीको मात्र निवेदन परेको भन्दै पुन ती दुई फ्रिक्वेन्सीको लागि चैत्र ११ गतेसम्म समय थप गरेको जनाएको छ ।

अब के हुन्छ ?

फ्रिक्वेन्सी अक्सनको लागि यसअघि नै सूचना जारी गरेर निवेदन माग गरिएकोमा उल्लेखित दुई ब्याण्डमा एनसेलको मात्र निवेदन परेको छ । सो मेगाहर्ज ब्याण्डको लागि फेरीपनि एउटा कम्पनीको मात्र निवेदन परेमा प्राधिकरणले पुन निवेदन माग गर्न सक्नेछ । यदि प्राधिकरणले दुई पटक पनि निवेदन माग गर्दा अन्य कम्पनीहरुले निवेदन नदिएमा ईच्छुक कम्पनीको निवेदनलाई स्विकार गरेर सो कम्पनीलाई नै प्रकृया पुर्याएर सो फ्रिक्वेन्सी बेच्न सक्दछ ।

९०० मेगाहर्ज ब्याण्डमा यसअघि नै नेपाल टेलिकमसँग आवश्यक फ्रिक्वेन्सी रहेको र सो भन्दा बढि सो कम्पनीले लिन नपाउने गरि क्याप लगाईएको छ । त्यसैगरि २१०० मेगाहर्ज ब्याण्डमा पनि टेलिकमसँग फ्रिक्वेन्सी प्रसस्त रहेको छ । त्यसैले नेपाल टेलिकम सो दुई फ्रिक्वेन्सी अक्सनमा सहभागी हुन सकेन् । त्यस्तै अन्य टेलिकम कम्पनीहरुले भने प्राधिकरणलाई बाँकी बक्यौता रकम तिर्नुपर्ने भएको हुँदा उनीहरु सो फ्रिक्वेन्सी अक्सनको लागि योग्य नभएको प्राधिकरणका अधिकारीहरुको भनाई छ ।

दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी(बाँडफाँड तथा मूल्य सम्बन्धी) नीति २०७३ मा पनि यो विषयमा स्पष्ट व्यवस्था छैन् ।

प्रकाशित: २७ फाल्गुन २०७५, सोमबार

तपाइको प्रतिक्रिया