मनाङमा ३ महिनामा ७९१ थान राष्ट्रिय परिचयपत्र वितरण

  • Technology Khabar | १० कार्तिक २०८२, सोमबार
मनाङमा ३ महिनामा ७९१ थान राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय मनाङले साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा ७९१ थान राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। जम्मा २७१ राष्ट्रिय परिचयपत्र प्रविष्ट भएकामा विवरण बिग्रिएर सच्याउन पठाइएका समेत गरी जम्मा ७९१ थान राष्ट्रिय परिचयपत्र वितरण गरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

सोही अवधिमा प्रतिलिपिबाहेक ४४ थान नागरिकता तथा ६० थान नागरिकताको प्रतिलिपि वितरण गरिएको छ। यसका साथै कार्यालयले ५२ थान विद्युतीय राहदानी प्रविष्ट भएकामा ५० थान वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।

पौडेलले जेनजी आन्दोलनमा आगजनीमा परी जलेका कारण पनि राहदानी लिने, नवीकरण गर्ने तथा प्रतिलिपि लिनेको सङ्ख्या बढेको हुन सक्ने बताए।

सो अवधिमा नाबालक परिचयपत्र दुई थान, चार वटा संस्थाको नवीकरण, चार वटा हतियार इजाजतपत्र नवीकरण गरेको साथै दुई थान मुद्दा फस्र्योट भइसकेको कार्यालयद्वारा प्रकाशित तथ्याङ्कमा उल्लेख छ।

सोही अवधिमा मनाङबाट गैरआवासीय नागरिकता लिने, घुम्ती शिविरबाट नागरिकता वितरण, गुनासो वा ठाडो उजुरी, संस्था दर्ता तथा संस्थाको विधान संशोधन गर्नेको सङ्ख्या शून्य रहेको पौडेलले जानकारी दिए।

यसअघि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै मनाङका अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय, मनाङले ‘घुम्ती सेवा सञ्चालन गरेको थियो।

जिल्लाका दुर्गम बस्तीका नागरिकलाई सदरमुकामसम्म आउन कठिनाइ हुने अवस्थालाई हेरेर प्रशासनले यस किसिमको पहल अघि सारेको हो। यसै क्रममा मनाङ डिस्याङ गाउँपालिकामा सञ्चालित एकदिने शिविरबाट ६५ जना स्थानीय नागरिकले सेवा प्राप्त गरेका छन्।

आजको गोरखापत्रबाट

प्रकाशित: १० कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...