Technology Khabar २० आश्विन २०८२, सोमबार
काठमाडौं ।
एक छात्राको मृत्यु टेस्ला गाडीमा भएको घटनापछि उनका अभिभावकहरूले कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। उनीहरूले दुर्घटना साइबरट्रकको डिजाइनमा रहेको त्रुटिका कारण भएको दावी गरेका छन्।
युनिल्याडका अनुसार आफ्नी छोरी दुर्घटनापछि आगो लागेको गाडीबाट बाहिर निस्कन असमर्थ भएको उनीहरूले दावी गरेका हुन्।
गत नोभेम्बरमा १९ वर्षीया क्रिस्टा त्सुकाहारा, २० वर्षीया ज्याक नेल्सन र १९ वर्षीया चालक सोरेन डिक्सनको उच्च गतिमा भएको कार दुर्घटनामा मृत्यु भएको थियो। जोर्डन मिलर भने गम्भीर रूपमा पोलिएर जीवित बचेका थिए।
मिडिया रिपोर्टहरूका अनुसार डिक्सन परिवारको स्वामित्वमा रहेको साइबरट्रक क्यालिफोर्नियाको पाइडमोन्ट क्षेत्रमा रुखमा ठोक्किएको थियो।
दुर्घटनाको झण्डै एक वर्षपछि, मृतक छात्राकी अभिभावक कार्ल र नोएल त्सुकाहराले ‘गलत मृत्यु’ मुद्दा दायर गरेका छन्।
अलामेडा काउन्टी सुपीरियर कोर्टमा दायर गरिएको ३६ पृष्ठको दस्तावेजमा टेस्लाको ढोका डिजाइनका कारण क्रिस्टा दुर्घटनापछि पनि गाडीबाट निस्कन नसकेकी बताइएको छ, यद्यपि उनलाई त्यस समयमा ज्यान जाने खालका चोटपटक लागेको थिएन। मुद्दाअनुसार छात्रालाई दुर्घटनामा साना चोटपटक मात्र लागेको थियो तर साइबरट्रकको ब्याट्रीमा आगो लाग्दा धुवाँ र जलनका कारण उनको मृत्यु भयो।
सान फ्रान्सिस्को क्रोनिकलका अनुसार मुख्य समस्या भनेको साइबरट्रकका ढोका ब्याट्रीद्वारा सञ्चालित छन्, र दुर्घटनाका कारण गाडीमा शक्ति आपूर्ति बन्द भएमा ढोका खोल्न असम्भव हुन्छ। यो त्रुटि र ढोका म्यानुअल रूपमा खोल्ने संयन्त्र लुकेका कारण तीन यात्रु गाडीभित्रै फँसेका थिए।
मुद्दामा उनीहरुकी छोरी आगो लागेका बेला पछाडिको सिटमा अड्किएर “अकल्पनीय पीडा र मानसिक तनाव” भोग्दै मृत्युवरण गरेकी भनिएको छ। यसबाहेक गाडीमा आपतकालीन अवस्थामा ढोका खोल्ने कार्यशील र सजिलै पहुँचयोग्य संयन्त्र नै नभएको मुद्दामा थप आरोप लगाइएको छ।
“गाडीमा म्यानुअल रूपमा आपतकालीन ढोका खोल्ने वा बन्द गर्ने कार्यशील संयन्त्र थिएन, जसबाट उनी बच्न सक्थिन्। उनको मृत्यु रोक्न सकिन्थ्यो,” दस्तावेजमा भनिएको छ। आरोपहरू अझ अघि बढ्दै टेस्लाले आफ्ना गाडीको डिजाइनमा रहेको खतरनाक त्रुटिबारे जानकार रहेको दावी गरेको छ।
“टेस्लालाई यो समस्या थाहा छ र यो फेरि–फेरि हुने कुरा पनि उनीहरूलाई थाहा छ। तर उनीहरूले केही नगरी मानिसहरूलाई फसाउने र निस्कन नसक्ने प्रणाली भएको गाडी बेचिरहेका छन्,” मृतक छात्राको परिवारले भनेका छन्।
प्रकाशित: २० आश्विन २०८२, सोमबार