एक्सपेङ एरोह्टका दुई फ्लाइङ कार एकआपसमा ठोक्किए

Technology Khabar १ आश्विन २०८२, बुधबार

एक्सपेङ एरोह्टका दुई फ्लाइङ कार एकआपसमा ठोक्किए

काठमाडौं ।

चीनको उत्तरपूर्वी क्षेत्रमा आयोजित हवाई प्रदर्शनीको अभ्यासका क्रममा मंगलबार दुईवटा फ्लाइङ कार आपसमा ठोक्किँदा एक जना पाइलट घाइते भएका छन् र एउटा कार जमिनमा खस्दै आगो लागेको छ।

सो दुर्घटनापछि अनलाइनमा फैलिएका भिडियो र सरकारी सञ्चारमाध्यमले देखाएको दृश्यमा दुर्घटनाग्रस्त कारबाट धुवाँ निस्किरहेको देखिन्थ्यो भने दमकल र एम्बुलेन्स स्थलमा पुगेका विभिन्न मिडिया रिपोर्टहरुमा उल्लेख छ।

यो घटना मंगलबार दिउँसो चाङचुन सहर, जिलिन प्रान्तमा भएको हो, जहाँ शुक्रबारदेखि सुरु हुने पाँच दिने हवाई प्रदर्शनीको तयारी भइरहेको थियो। दुर्घटनामा संलग्न फ्लाइङ कारहरू, अर्थात् इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्याण्डिङ (ईभीटोल) सवारी साधन, चिनियाँ विद्युत् सवारी कम्पनी एक्सपेङको सहायक कम्पनी एक्सपेङ एरोटले विकास गरेको हो।

सीएनएनलाई दिएको विज्ञप्तिमा कम्पनीले “अपर्याप्त दूरी” का कारण ठक्कर लागेको र एक सवारी “गम्भीर क्षतिग्रस्त भई अवतरणका क्रममा आगलागी भएको” जनाएको छ। कम्पनीले सबै व्यक्तिहरू सुरक्षित रहेको र स्थानीय निकायले आपतकालीन काम पूरा गरिसकेको जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको कम्पनीले बताएको छ।

एक कर्मचारीका अनुसार ती दुई फ्लाइङ कारले जटिल हवाई कौशल प्रदर्शन गरिरहेका थिए। एक पाइलटलाई सामान्य चोटपटक लागेको जनाइएको छ।

यी ईभीटिओएल सवारी साधनहरू चीनको “लो–एल्टिच्युड अर्थतन्त्र” योजना अन्तर्गत विकास गरिएको क्षेत्रको केन्द्रमा रहेका छन्। यस क्षेत्रमा फ्लाइङ ट्याक्सी, ड्रोन डेलिभरी र ३,००० मिटरभन्दा तलको हवाई क्षेत्र प्रयोग गर्ने अन्य सेवा समावेश छन्।

चीनको कम्युनिस्ट पार्टीले गत वर्ष पहिलो पटक वार्षिक सरकारी कार्य प्रतिवेदनमा “लो–एल्टिच्युड अर्थतन्त्र” लाई समावेश गरेको थियो। सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार, चीनको नागरिक उड्डयन नियामकले यो बजार २०२५ सम्म २०६ अर्ब डलर र २०३५ सम्म ४८२ अर्ब डलर पुग्ने अनुमान गरेको छ।

एक्सपेङ एरोट लगायतका निर्माता कम्पनीहरू पर्यटन, ढुवानी, कृषि र विपद् उद्धारजस्ता विभिन्न क्षेत्रमा यसको प्रयोग बढाउने अवसर खोजिरहेका छन्। कम्पनीले आफ्नो वेबसाइटमा आफूलाई एसियाको सबैभन्दा ठूलो फ्लाइङ कार कम्पनी भएको दावी गरेको छ।

त्यसैबीच, चीनका विभिन्न शहरहरूमा ड्रोनमार्फत सामान, खाद्यपदार्थ र स्वास्थ्य सामग्री वितरणको परीक्षण भइरहेको छ। पीपुल्स डेलीका अनुसार, सन् २०२३ सम्म चीनमा २,००० भन्दा बढी ड्रोन निर्माता र २०,००० भन्दा बढी कम्पनीले मानवरहित हवाई सवारी सञ्चालन गरिरहेका थिए।

स्मरणरहोस् केहि साता अघि नेपालमा आयोजित नाडा अटोशोमा समेत सोही कम्पनीको फ्लाइङ्ग कार प्रदर्शनीमा राखिएको थियो। डिपाल गाडीका आयातकर्ताले डिपाल फ्लाइङ्ग कार भनेर दाबी सहित प्रदर्शनीमा राखेको सो एयर ट्याक्सी एक्सपेङ्गको मोडलनै थियो।

प्रकाशित: १ आश्विन २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया