Technology Khabar १ आश्विन २०८२, बुधबार
काठमाडौं ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ।
छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको सुरक्षा र देशको शान्ति र अमन चैन सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहरुको उत्थानका लागि सरकारले ठोस कदम चाल्नु पर्ने धारणा राखे।
छलफलमा अर्थतन्त्र खस्किँदै गएकोले सरकारले व्यवसायीहरुको मनोबल बढाउने खालका नीतिहरु ल्याउनु पर्ने, लगानीकर्ताहरु नेपालमा लगानी गर्न विश्वस्त हुन सक्ने अवस्था नरहेको, तोडफोडबाट भएको हानी नोक्सानीको इन्स्यारेन्स डिस्बर्समेण्ट हुनु पर्ने, नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट सवारी साधनहरुको मूल्य बढने भन्दै नेपालको अटोमोबाइल क्षेत्रले भन्सार राजश्वमा २७ प्रतिशत योगदान दिएको, नाडाको क्षमता र कमजोरीका सम्बन्धमा सरकारलाई यथार्थ जानकारी भएको साथै सरकारसँग सहकार्य गरेर अघि बढन चाहेको बताइएको थियो।
सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरिएको थियो। छलफलमा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैंकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेशियो ६० प्रतिशतको सिमा लाई बढाएर ८० प्रतिशत पुर्याउनु पर्ने सुझाव समेत दिइएको थियो।
सो छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक बिग्रिएका कारण तातोपानी भन्सारबाट सवारी साधनहरु नेपालमा आउन नसकेको सम्बन्धमा छिटै सवारी साधन सञ्चालन गरिने आश्वासन दिँदै व्यवसायीहरुका लागि प्रोत्साहन प्याकेज समेत ल्याइने बताए। त्यसैगरी नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा बन तथा वातावरण मन्त्रालयसंग छलफल गरिने बताए।
अर्थमन्त्री खनालले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनबाट भएका क्षतिको तथ्याङ्क संकलन गरी समुचित कदम चालिने बताए। सोही क्रममा मन्त्री खनालले बैंक र फाइनान्सबाट प्रदान गर्न सकिने सुविधाहरु प्रदान गरिने भन्दै करमा के के सुविधा दिन सकिन्छ त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने आश्वासन समेत दिए।
साथै आन्दोलनले अटोमोबाइल क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको बताउँदै आफू व्यवसायीहरुको सिधा सम्पर्क रहने उनले बताए। उक्त छलफलमा करका सम्बन्धमा धेरै सुझावहरु आएको सन्दर्भमा यसबारे क्याबनेटमा छलफल गरिने बताए।
छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्वय आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो।
प्रकाशित: १ आश्विन २०८२, बुधबार