सामाजिक सञ्जालमा बोटहरूले गर्दा अब कुनै पोस्ट साँच्चै मान्छेले लेखेको हो वा होइन भनेर छुट्याउनै नसकिने भएको छ: अल्टम्यान

Technology Khabar २५ भाद्र २०८२, बुधबार

सामाजिक सञ्जालमा बोटहरूले गर्दा अब कुनै पोस्ट साँच्चै मान्छेले लेखेको हो वा होइन भनेर छुट्याउनै नसकिने भएको छ: अल्टम्यान

काठमाडौं ।

रेडिटका सेयरधनी तथा ओपनएआईका संस्थापक साम अल्टम्यानले सोमबार सामाजिक सञ्जालमा बोटहरूले गर्दा अब कुनै पोस्ट साँच्चै मान्छेले लेखेको हो वा होइन भनेर छुट्याउनै नसकिने भएको खुलासा गरेका छन्।

अल्टम्यानले यो अनुभव रेडिटको r/Claudecode सबरेडिटका केही पोस्ट पढ्दा र शेयर गर्दा पाएका हुन्। ती पोस्टहरूमा ओपनएआईको कोडेक्स सेवाको प्रशंसा गरिएको थियो। यो सेवा गत मे महिनामा सुरु भएको हो जसले एन्थ्रोपिकको क्लाउडकोड सँग प्रतिस्पर्धा गर्छ।

टेकक्रञ्चका अनुसार हालै उक्त सबरेडिटमा धेरै प्रयोगकर्ताले आफू क्लाउबाट कोडेक्समा सरेको दावी गर्दै पोस्ट गर्न थालेका छन्। एक प्रयोगकर्ताले त व्यङ्ग्य गर्दै लेखे: “के रेडिटमा पोस्ट नगरीकन पनि कोडेक्समा सर्ने सम्भव छ?” यसपछि अल्टम्यानले ती पोस्टहरू मान्छेले लेखेका हुन् वा होइनन् भन्ने शंका गरे।

उनले एक्समा लेखे: “मलाई यो पढ्दा अचम्मको अनुभव भयो। मलाई सबै नक्कली/बोटजस्तै लाग्यो, यद्यपि वास्तवमा कोडेक् को वृद्धि बलियो छ भन्ने म जान्दछु।”

उनले तत्कालै आफ्नो तर्कलाई विश्लेषण पनि गरे–

• मानिसहरूले अहिले ठूलो भाषिक मोडेल (एलएलएम) जस्तै शैलीमा लेख्न थालेका छन्।
• अत्यधिक अनलाइन बस्नेहरू धेरै समान ढाँचामा बगिरहेका छन्।
• हाइप चक्रमा ‘सबै सकियो/फेरि फर्कियो’ भन्ने चरम प्रवृत्ति देखिन्छ।
• सामाजिक सञ्जालले इन्गेजमेन्ट बढाउन दबाब दिने भएकाले सामग्री सिर्जनाकर्ताको आम्दानी त्यसैअनुसार प्रभावित हुन्छ।
• केही कम्पनीहरूले एस्ट्रोटर्फिङ (पैसा तिरेर वा बोट प्रयोग गरेर सकारात्मक वा नकारात्मक पोस्ट गराउने अभ्यास) गरेका छन्, त्यसैले आफू बढी सचेत भएको छु।
• र, पक्कै पनि, केही बोटहरू छन्।

सारमा उनले भन्न खोजेका छन्: मान्छेहरू नै अहिले एलएलएम जस्तै लाग्न थालेका छन्, जबकि एलएलएम नै मान्छेको सञ्चार शैली नक्कल गर्न बनाइएका थिए। अल्टम्यानको भनाइ अनुसार, अघिल्लो वर्षको तुलनामा अहिले एआई सम्बन्धी ट्विटर र रेडिट धेरै नक्कली जस्तो देखिन्छ।

यसको दोष कसलाई दिने?

जीपीटीजस्ता मोडेलहरू लेखनमा यति सक्षम भएका छन् कि सामाजिक सञ्जाल मात्र होइन, विद्यालय, पत्रकारिता र अदालतसम्ममा प्रभाव पारिरहेका छन्।

सन् २०२४ मा इन्टरनेट ट्राफिकमध्ये आधाभन्दा धेरै गैर-मानव, मुख्यतया एलएलएमहरूको कारण भएको डाटा सुरक्षा कम्पनी इम्पर्भाले जनाएको छ। एक्स को आफ्नै बोट ग्रोकले पनि भनेको छ: “ठ्याक्कै संख्या सार्वजनिक छैन, तर २०२४ मा सयौँ मिलियन बोटहरू एक्समा सक्रिय भएको अनुमान छ।”

केहीले अल्टम्यानको यो भनाइलाई ओपनएआईले नयाँ सामाजिक सञ्जाल प्लेटफर्म ल्याउने सम्भावित योजनासँग जोडेर व्याख्या गरेका छन्। तर, त्यस्तो प्लेटफर्म आए पनि, बोट-रहित हुने सम्भावना कम छ।

उल्टै यदि मान्छेलाई नै प्रतिबन्ध गरेर मात्र बोटहरूको सामाजिक सञ्जाल बनाइयो भने पनि नतिजा फरक नआउने अनुसन्धानले देखाएको छ। एम्स्टर्डम विश्वविद्यालयका अनुसन्धानकर्ताले बोटहरू मात्र भएको नेटवर्क बनाएर परीक्षण गर्दा, बोटहरूले पनि चाँडै आफ्नै समूह र इको च्याम्बर्स बनाउन थालेका थिए।

प्रकाशित: २५ भाद्र २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार