यूरोपेली संघको अर्थतन्त्रमा मोबाइल उद्योगको योगदान १४ प्रतिशतले वृद्धि: १.१५ ट्रिलियन यूरो पुग्यो

  • Technology Khabar | ३१ जेष्ठ २०८३, आईतवार
यूरोपेली संघको अर्थतन्त्रमा मोबाइल उद्योगको योगदान १४ प्रतिशतले वृद्धि: १.१५ ट्रिलियन यूरो पुग्यो

काठमाडौं ।

युरोपेली संघ (ईयू) को अर्थतन्त्रमा मोबाइल उद्योगको योगदान १४ प्रतिशतले बढेर १.१५ ट्रिलियन यूरो पुगेको छ।

मोबाइल उद्योगसम्बन्धी संस्था जीएसएमएले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार सन् २०२५ मा मोबाइल क्षेत्रले ईयूको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६.१ प्रतिशत हिस्सा ओगटेको छ। सन् २०२४ मा यो योगदान १.०१ ट्रिलियन यूरो अर्थात् जीडीपीको ५.५ प्रतिशत थियो।

प्रतिवेदनअनुसार मोबाइल फोन र एपहरूको प्रयोगबाट सूचना पहुँच, सञ्चार तथा विभिन्न प्रक्रियाको दक्षता बढेकाले मात्रै ८२० अर्ब यूरो बराबरको आर्थिक लाभ सिर्जना भएको थियो।

सन् २०२५ को अन्त्यसम्म ईयूभर मोबाइल क्षेत्रले २४ लाख रोजगारीलाई समर्थन गरेको थियो। तीमध्ये १३ लाख व्यक्ति प्रत्यक्ष रूपमा मोबाइल इकोसिस्टममा कार्यरत थिए भने थप ११ लाख रोजगारी अन्य क्षेत्रहरूमा मोबाइल उद्योगको आर्थिक गतिविधिका कारण सिर्जना भएका थिए। सोही अवधिमा मोबाइल इकोसिस्टमबाट ११० अर्ब युरो कर राजस्व संकलन भएको प्रतिवेदनमा उल्लेख छ।

जीएसएमएले सन् २०३० सम्म ईयूको जीडीपीमा मोबाइल क्षेत्रको कुल योगदान १.६ ट्रिलियन यूरो नाघ्ने अनुमान गरेको छ। तर प्रतिवेदनले युरोपको नेटवर्क सेवा गुणस्तर अझै विश्वका अग्रणी बजारभन्दा पछाडि रहेको चेतावनी पनि दिएको छ।

सन् २०२५ को अन्त्यसम्म ५जीले ईयूका कुल मोबाइल जडानमध्ये ४३ प्रतिशत हिस्सा मात्र ओगटेको थियो। यद्यपि प्रतिवेदनले यस वर्षभित्र फाइभजी प्रमुख मोबाइल प्रविधि बन्ने अपेक्षा गरेको छ।

प्रतिवेदनअनुसार सन् २०१८ यता ईयूका मोबाइल नेटवर्कमा डाटा ट्राफिक ५५० प्रतिशतभन्दा बढीले बढेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) को विस्तारसँगै सन् २०३० सम्म डेटा ट्राफिकमा थप ७५ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ।

सन् २०२१ यता मोबाइल नेटवर्क पूर्वाधारमा १४० अर्ब यूरोभन्दा बढी लगानी गरिएको भए पनि सन् २०३५ सम्म थप ४७५ अर्ब यूरो आवश्यक पर्ने जीएसएमएको विश्लेषण छ। त्यसमध्ये २७० अर्ब यूरो मात्रै उपलब्ध हुने अपेक्षा गरिएकाले २०५ अर्ब यूरोको लगानी अभाव रहने बताइएको छ।

प्रतिवेदनले यूरोपमा प्रति प्रयोगकर्ता पूँजीगत लगानी (क्यापेक्स) ३५ यूरो मात्र रहेको उल्लेख गरेको छ, जबकि अग्रणी कनेक्टिभिटी बजारहरूमा यो रकम ७० यूरो छ। यसले यूरोपमा लगानीका लागि वातावरण आकर्षक नभएको र त्यसको कारण दीर्घकालीन अत्यधिक नियमन भएको दावी प्रतिवेदनले गरेको छ।

प्रतिवेदनले डिजिटल नेटवर्क्स एक्ट र मर्जर गाइडलाइन पुनरावलोकनलाई यूरोपको लगानी वातावरण सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेको छ।

आयरल्यान्डका संस्कृति, सञ्चार तथा खेलकुद मन्त्री प्याट्रिक ओ’डोनोभानले डिजिटल कनेक्टिभिटी आधुनिक विश्वको आधार भएको बताउँदै यूरोपको डिजिटल इकोसिस्टमलाई सशक्त बनाउन उद्योग र नीति निर्माताबीच सहकार्य आवश्यक रहेको बताए।

जीएसएमएका महानिर्देशक विवेक बद्रिनाथले ईयूमा उत्पादन हुने प्रत्येक १६ युरोमध्ये १ यूरो मोबाइल क्षेत्रबाट आउने तथ्यले यसको आर्थिक महत्व स्पष्ट पार्ने बताए। उनले आगामी नीति निर्णयहरूले यूरोपको डिजिटल प्रतिस्पर्धात्मकता र मोबाइल प्रविधिको भविष्य निर्धारण गर्ने उल्लेख गरे।

यसैबीच, स्पेनी दूरसञ्चार कम्पनी टेलिफोनिकाका प्रमुख मार्क मुर्त्राले पनि युरोपको प्राविधिक सार्वभौमिकता र प्रतिस्पर्धात्मकता बढाउन नियमनलाई सरल बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार