Technology Khabar २३ भाद्र २०८२, सोमबार
काठमाडौं ।
जेनजीहरूको प्रदर्शनका क्रममा दमन गरेको भन्दै सामाजिक सञ्जालहरुमा चर्को विरोध भएपछि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले आधिकारीक वेबसाइटबाट आफ्नो तस्वीर हटाएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आफ्नो वेबसाइटमा दिउँसोसम्म रहेको सीडीओको तस्विर अहिले हटाईएको हो।
जेनजीहरूको प्रदर्शनका क्रममा देशभर कम्तिमा १८ जनाको मृत्यु र २०० भन्दा बढी युवा घाइते भएका छन्। यसैक्रममा काठमाडौंमा मात्रै १६ जनाको प्रहरीको गोली लागेर मृत्यु भएसँगै सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका बताएका छन्।
काठमाडौंका सिडिओ रिजालले जेनजी युवाहरूको प्रदर्शनमा चर्को दमन गरेको र गोली हान्न आदेश दिएको भन्दै सीडीओ रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।
उनले आफ्ना सन्तानलाई विदेशमा राखेर पढाइरहेको तर, काठमाडौंमा भएको प्रदर्शनमा दमन गर्न आदेश दिएको आरोप लगाईएको छ।
यसका साथै सामाजिक सञ्जालहरुमा उनले विदेशमा राखेर पढाएका आफ्ना सन्तानसँग खिचेका फोटोसमेत भाइरल भएको छ।
सिडियोले कर्फ्यू आदेश जारी गरेपनि प्रदर्शनकारीले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् ।
प्रकाशित: २३ भाद्र २०८२, सोमबार