के जेम्स वेब टेलिस्कोपले एलियन जीवन रहेको शंका गरिएको के२-१८बी ग्रहसम्म हामीलाई डोर्याउला?

  • Technology Khabar | २४ भाद्र २०८२, मंगलवार
के जेम्स वेब टेलिस्कोपले एलियन जीवन रहेको शंका गरिएको के२-१८बी ग्रहसम्म हामीलाई डोर्याउला?
फाइल तस्बिर

काठमाडौं ।

कल्पना गर्नुहोस् पृथ्वीभन्दा दुई गुणा ठूलो ग्रह छ जसको सतह पूरै समुद्रले ढाकिएको छ, र त्यो समुद्रबाट मीठो बन्दाकोबी जस्तो गन्ध आउँछ।

हरेक दिन एउटा फिका रातो ताराले यस ग्रहलाई तताइरहेको हुन्छ। यो न्यानोपनमा अरबौँखर्बौँ भोकाएका सूक्ष्म जीव (प्लाङ्कटन जस्ता प्राणी) सतहमा उक्लिन्छन् र एक प्रकारको जीवित तैरिरहेको महाद्वीप बनाउँछन्, जुन अस्ट्रेलियाभन्दा ठूलो हुन्छ। ती जीवहरूले सूर्यको प्रकाशलाई खाद्यमा परिणत गर्दा तीव्र गन्ध आउने ग्यास वायुमण्डलमा छरिन्छ।

यो सल्फरयुक्त ग्यास यति धेरै मात्रामा फैलिन्छ कि करिब ७०० ट्रिलियन माइल टाढा (एक क्वाड्रिलियन किलोमिटरभन्दा बढी) रहेको एउटा टेलिस्कोपले पनि महसुस गर्न सक्छ।

तर त्यो गन्धयुक्त ग्रह आफ्नो सानो रातो ताराको अगाडि गुज्रँदा मात्रै  महिनामा केही घण्टाका लागि मात्र पृथ्वीमा देखिन्छ।

यो कुरा विज्ञान कथा जस्तो लाग्छ, तर के साँच्चै होला त?

यो प्रश्न विगत दुई वर्षदेखि वैज्ञानिकबीच बहसको विषय बनेको छ। यस बहसको केन्द्रमा छ जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी)। यसले नियालिरहेको ग्रह हो के२-१८बी जुन पृथ्वीबाट करिब १२० प्रकाशवर्ष टाढा छ। ग्रह वास्तविक भएकोमा शंका छैन, तर त्यहाँ जीवन सम्भव छ कि छैन भन्नेमा अझै मतभेद छ।

जेडब्लूएसटी प्रयोग गरेर अध्ययन गर्ने एक समूहले उक्त ग्रहको वायुमण्डलमा ‘डाइमिथाइल सल्फाइड’ (डीएमएस) नामक यौगिकको संकेत देखिएको दावी गरेका छन्।

लाइभसाइन्सका अनुसार यो पदार्थले बन्दाकोभी जस्तो गन्ध निकाल्छ र पृथ्वीमा भने प्लाङ्कटनले मात्र उत्पादन गर्छ। सन् २०२३ मा पहिलोपटक यस ग्रहको वायुमण्डलमा डीएमएसको संकेत भेटिएको दावी गरिएको थियो।

तर अन्य वैज्ञानिकहरूले भने यो दावीबारे शंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार प्रयोग गरिएको डाटा मोडल विश्वसनीय छैन र नयाँ खोज मान्ने स्तरसम्म पुग्दैन। अझै थप अवलोकन आवश्यक छ।

तर जेडब्लूएसटीको शक्तिशाली इन्फ्रारेड दृष्टिले पृथ्वीबाहिर जीवन खोज्ने सम्भावना अझ नजिक ल्याएको स्पष्ट छ।

क्यालिफोर्निया विश्वविद्यालय, रिभरसाइडका खगोलजीव विज्ञ एडी स्विटर्मनका अनुसार, “जेडब्लूएसटीका कारण हामीले पछिल्ला केही वर्षमै अन्य ग्रहहरूको वायुमण्डलबारे विगतका दशकभन्दा धेरै ज्ञान पाएका छौँ।”

जीवन खोज्ने क्रममा एउटा सामान्य मान्यता छ—जहाँ वायुमण्डल छ, त्यहाँ सतहमा पानी हुने सम्भावना हुन्छ, र जहाँ पानी बग्छ, त्यहाँ जीवन पनि हुनसक्छ। पहिलोपटक जेडब्लूएसटीले त्यस्ता वायुमण्डलहरूलाई स्पष्ट रूपमा देख्न सम्भव बनाएको छ।

वासिङ्टन विश्वविद्यालयकी खगोलशास्त्री भिक्टोरिया मिडोजका अनुसार, “हामी अहिले यस्तो समयमा छौँ जब हामीसँग जीवन खोज्न आवश्यक प्रविधि छ। जेडब्लूएसटी अघि हामीसँग यस्तो क्षमता थिएन।”

जीवन खोज्ने क्रममा जेडब्लूएसटी ले ग्रहहरूको वायुमण्डल नियालेर त्यसमा रहेका अणुहरूको संकेत टिप्छ। जब ग्रह आफ्नै ताराको अगाडि पुग्छ, त्यो ताराको प्रकाश वायुमण्डल हुँदै जान्छ र जेडब्लूएसटीले त्यसको विश्लेषण गर्छ। यसरी प्राप्त हुने ‘स्पेक्ट्रम’ बाट कुन-कुन अणु वायुमण्डलमा छन् भन्ने पत्ता लाग्छ, जसले ग्रहको आकार, सतह, भौगोलिक अवस्था र जीवनको सम्भावना बुझ्न मद्दत गर्छ।

मिडोजका अनुसार यदि कुनै ग्रहको वायुमण्डलमा कार्बन डाइअक्साइड र मिथेन दुवै धेरै मात्रामा भेटियो भने, त्यो ग्रह ४ अर्ब वर्षअघि पृथ्वी जस्तै प्रारम्भिक जीवनको अवस्थामा हुनसक्ने लाइभसाइन्सले उल्लेख गरेको छ।

एलियनको श्वास

सतहमा तरल पानी बग्न सक्ने आफ्नै ताराको “गोल्डिलक्स जोन” मा हुने बस्नयोग्य ग्रहहरूको खोजीमा जेडब्लूएसटी आफ्नो स्तरमै अद्वितीय मानिन्छ।

हबल वा अन्य प्रकाशीय टेलिस्कोपभन्दा फरक जेडब्लूएसटीले टाढाका ग्रहहरूको सतह प्रत्यक्ष देख्दैन। यसले सम्भावित विकसित सभ्यताले पठाएको रेडियो तरंग वा अन्य ‘टेक्नोसिग्नेचर’ पनि पत्ता लगाउँदैन।

जेडब्लूएसटीले खोज्ने जीवनका संकेत निकै आधारभूत हुन्छन्। यी कुनै धमिला तस्बिर वा रहस्यमय रेडियो संकेत होइनन्, बरु ग्रहको सतहमाथि अवस्थित वायुमण्डलमा लुकेर घुम्ने अणुहरूको झिना संकेतहरु हुन्।

“जीवन खोज्ने पहिलो कदम वायुमण्डल पत्ता लगाउनु हो,” हार्वर्ड र स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका पोस्टडॉक्टरल अनुसन्धानकर्ता सेबास्टियन जिबाले भने। “सतहमा तरल पानी हुन वायुमण्डल चाहिन्छ।”

उनका अनुसार, सन् २००३ मा प्रक्षेपण भएर २०२० मा अवकाश लिएको नासाको स्पिट्जर इन्फ्रारेड टेलिस्कोपभन्दा जेडब्लूएसटी हरेक हिसाबले उत्कृष्ट छ। यसले अझ टाढासम्म नियाल्न सक्छ र अझै फराकिलो दायराका इन्फ्रारेड तरंग मापन गर्न सक्छ।

इन्फ्रारेड तरंग जीवन खोजीमा अत्यन्त महत्त्वपूर्ण हुन्छन्, किनकि यिनै तरंगहरूले ग्रहको वायुमण्डलमा भएका अणुहरूले ताराको प्रकाश कसरी अवशोषण वा पुनः उत्सर्जन गर्छन् भन्ने जानकारी दिन्छ।

जेडब्लूएसटीले कुनै ग्रहको वायुमण्डलका संकेत देख्न, वैज्ञानिकहरूले ‘ट्रान्जिट’ कुर्नुपर्छ — ग्रह आफ्नै ताराको अगाडि आउँदा ताराको प्रकाश वायुमण्डल हुँदै जान्छ र पृथ्वीबाट त्यसलाई देख्न सकिन्छ। के१-१८बी ग्रहको हकमा यस्तो ट्रान्जिट हरेक ३३ दिनमा एकपटक मात्र हुन्छ।

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...