जिओस्टारलगायत केही भारतीय च्यानल अनधिकृत रुपमा प्रसारण भैरहेको दावी: तत्काल नरोके कानुनी प्रक्रियामा जाने आधिकारिक वितरकको चेतावनी

Technology Khabar २० भाद्र २०८२, शुक्रबार

काठमाडौं ।

नेपालका लागि जिओस्टार(पहिले स्टार) जी तथा इण्डियाकास्ट (कलर्स) टेलिभिजन च्यानलहरूको एकमात्र आधिकारिक वितरक डि. एम. बी. होल्डिङ्स् प्रा. लि.ले यी च्यानलहरु केबल टीभ आईपीटीभी डीटीटीभी तथा डीटीएच सेवा प्रदायकहरुले अनाधिकृत तथा गैरकानुनी रूपमा प्रसारण गरिरहेको भन्दै यस्ता कार्य तत्काल रोक्न चेतावनी दिएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी आफू अर्थात् एम. बी. होल्डिङ्स् प्रा. लि. नेपालका लागि उल्लिखित टेलिभिजन च्यानलहरूको एकमात्र आधिकारिक वितरक रहेको प्रस्ट पार्दै यी च्यानलहरु अनधिकृत रुपमा प्रसारण नगर्न सम्बन्धित प्रसारकहरुलाई चेतावनी दिएको हो।

‘यस प्रकारका गैरकानुनी कार्यमा संलग्न कुनै व्यक्ति, केबल टीभी/आईपीटीभी/डीटीटीभी/ डीटीएच सेवाप्रदायकहरु तथा वितरकहरुलाई यस्ता गतिविधिहरु तत्काल रोक्नका लागी यसै सूचनामार्फत अवगत गराइन्छ। यदि उक्त कार्य जारी राखेमा विद्यमान कानुनअनुसार दण्डनीय हुने व्यहोरासमेत जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ।

पछिल्लो थुप्रै समयदेखि भारतीय टीभी प्रसारकहरुको बक्यौता बाँकी छ। सञ्चार मन्त्रालयले नेपालका टेलिभिजन सेवा प्रदायकहरुको विदेशी मुद्रा सिफारिस रोकिरहेको अवस्था छ।

विदेशी मुद्रा सिफारिस रोकिनुमा सेवा प्रदायक र सरकारको आआफ्नै धारणा छन्। टेलिभिजन सेवा प्रदायकहरु सरकारले अनावश्यक दु:ख दिएर विदेशी मुद्रा सिफारिस रोकिदिएकोले भारतीय सेवा प्रदायकलाई समयमा बक्यौता तिर्न नसकिरहेको बताउँछन्।

सम्बन्धित समाचार

सञ्चार मन्त्रालयको गैर जिम्मेवारीका कारण उपभोक्ता अवैध टीभी च्यानल हेर्न बाध्य, कार्यान्वयनमा छैन आलाकार्ट

यता सरकार भने सरकारले आला कार्ट प्रणाली लागू गरिसकेको अवस्थामा कुनकुन च्यानल कुन महिनामा कति ग्राहकले हेरे भन्ने स्पष्ट विवरण नबुझाएका कारण कति रुपैयाँ विदेश पठाउन सिफारिस गर्ने भन्ने अन्योल रहेका कारण यो प्रक्रिया रोकिइरहेको बताउँदै आएको छ।

यस सम्बन्धमा सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुर भन्छन्, ‘विदेशी मुद्रा सिफारिस नहुनुमा टेलिभिजन सेवा प्रदायकहरुले विवरण उपलब्ध नगराएकोले हो। पैसा उहाँहरुले तिर्ने हो, सरकारले तिर्ने होइन। सरकारले नेपालको कानून अनुसार देशबाहिर रकम पठाउँदा स्पष्ट उद्देश्य र विवरण हेरेर मात्र सिफारिस दिनुपर्ने हुन्छ। यसमा सहजीकरण गर्न मन्त्रालय सधैं तत्पर छ। उहाँहरुले स्पष्ट विवरण पेश गर्नुपर्यो।’

केही महिना अघि नेपालमा अवैध बाटोबाट आएका च्यानलहरु चलिरहेकोबारे मन्त्रालयका प्रवक्ता ठाकुरसँग जिज्ञासा राख्दा उनले पाइरेसी गरेका हुन सक्ने र मन्त्रालयसँग २४ सै घण्टा निगरानी गर्नसक्ने संयन्त्र, प्रविधि र वास्तवमा क्षमता पनि नभएकाले यो सम्भव भएको जानकारी दिएका थिए। भीपीएन प्रयोग गरेर अन्य च्यानलहरुबाट तानेर बजाएको हुन सक्ने उनको आशय थियो।

अहिले डीएमबी होल्डिङ्सले निकालेको सूचनामा पनि आधिकारिक वितरकसँग सम्पर्क नगरी आफूखुशी अवैध माध्यमबाट तानेर ग्राहकसँग शुल्क लिने गरी व्यापार गरिरहेको इंगित गरिरहेको छ।

समस्या यो हो

यी च्यानलका लागि भारतीय टेलिभिजन सेवा प्रदायकलाई डीएमबी होल्डिङ्सले शुल्क तिर्नुपर्छ, ग्राहकले यी च्यानल हेरेवापत् विभिन्न टेलिभिजन सेवा प्रदायकलाई शुल्क तिर्नुपर्छ तर यिनै च्यानलहरु शुल्क लिएर ग्राहकलाई बेचिरहेका नेपालका टेलिभिजन सेवा प्रदायकले भने आधिकारिक विक्रेता डीएमबी होल्डिङ्सलाई आवश्यक शुल्क बुझाइरहेका छैनन्।

यसको लागि सरकारले लामो समयदेखि विदेशी मुद्राको सिफारिस नदिँदा समस्या हुँदै आएको छ।

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया