ड्रोन खर्च तेब्बर गर्ने जापानको योजना

Technology Khabar १४ भाद्र २०८२, शनिबार

काठमाडौं ।

जापानको रक्षा मन्त्रालयले शुक्रबार गरिएको अर्को रेकर्ड खर्चको अनुरोधअन्तर्गत आफ्नो ड्रोन शस्त्रागारलाई ठूलो मात्रामा बढाउने लक्ष्य सार्वजनिक गरेको छ। यो कदम ‘गम्भीर रूपमा बढ्दो सुरक्षा वातावरण’ का चुनौतीहरूलाई सामना गर्न उठाइएको हो। हालैका वर्षहरूमा जापानले आफ्नो कडा शान्तिवादी नीति छाड्दै ‘काउन्टरस्ट्राइक’ क्षमता विकास गर्ने र सैन्य खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई प्रतिशतमा पुर्‍याउने प्रयास गर्दै आएको छ।
अप्रिल १ देखि सुरु हुने नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले ८८ खर्ब येन (करिब ५९ अर्ब ९० करोड अमेरिकी डलर) को बजेट अनुरोध गरेको छ। यो रकम सन् २०२६ मार्चमा समाप्त हुने चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको अघिल्लो रेकर्ड ८७ खर्ब येनभन्दा बढी हो। दोस्रो विश्वयुद्धको अन्त्य र हिरोसिमा–नागासाकीमा परमाणु बम विस्फोट भएको ८० वर्षपछि पनि जापानको संविधानले अझै आफ्नो सैन्य शक्तिलाई रक्षात्मक सीमाभित्र राखेको छ।
तर यो नयाँ बजेट वृद्धिले जापान वरिपरिको बढ्दो सुरक्षा चुनौतीलाई प्रतिबिम्बित गरेको रक्षा मन्त्रालयका एक अधिकारीले टोकियोमा पत्रकारहरूसँग बताएका छन्।
– ड्रोन खर्चमा तीन गुणा वृद्धि –
बजेट अनुरोधअनुसार विभिन्न प्रकारका मानव रहित सवारी साधन (ड्रोन) मा करिब तीन गुणा खर्च गरेर तीन खर्ब १३ अर्ब येन विनियोजन गर्ने योजना छ। सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणपछि ड्रोनको विनाशकारी क्षमता र आधुनिक युद्धमा यसको बढ्दो प्रयोगलाई विश्वभर गम्भीर रूपमा हेरिएको छ।

यसै क्रममा, जापानले ‘शील्ड’ भनिने तटीय रक्षा प्रणालीलाई बलियो बनाउन ड्रोन प्रयोग गर्ने योजना अघि सारेको छ। लामो दूरीका ‘स्ट्यान्डअफ’ मिसाइलहरूलाई शत्रु सेनाले बाइपास गरे पनि शील्ड (सिङ्क्रोनाइज्ड, हाइब्रिड, इन्टिग्रेटेड र एन्हान्स्ड लिटोरल डिफेन्स) प्रणालीले आक्रमणलाई तटीय क्षेत्रमा नै रोक्ने अपेक्षा गरिएको छ। यो प्रणाली सन् २०२८ मार्चसम्म पूरा गर्ने लक्ष्य राखिएको छ, तर कुन तटरेखामा तैनाथ गर्ने भन्नेबारे विवरण अझै खुलाइएको छैन।“सेनाको लडाइँ शैलीमा ठूला परिवर्तन ल्याउन आवश्यक छ”, रक्षा मन्त्रालयका एक अधिकारीले भने।
यस महिनाको इस्तानबुल भ्रमणका क्रममा रक्षामन्त्री जनरल नाकातानीले टर्कीको ड्रोन खरिद सम्भावनाबारे अनुसन्धान गर्ने सहमति गर्नुभएको जापानी मिडियाले जनाएको छ।

– अमेरिकाको दबाब र अन्तर्राष्ट्रिय सहकार्य –
जापानमा करिब ५४ हजार अमेरिकी सैनिक तैनाथ छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पनि टोकियोलाई आफ्नो रक्षा क्षमता अझै बढाउन दबाब दिइरहेको छ। वासिङ्टन र टोकियो दुवै ताइवानमा सम्भावित चिनियाँ आक्रमण जस्ता खतरालाई ध्यानमा राख्दै आफ्नो सेनालाई थप गतिशील बनाउन प्रयासरत छन्।
जापानले हतियार निर्यात बढाउन पनि खोजिरहेको छ। यसै महिना मात्र, उसले अस्ट्रेलियाली नौसेनाका लागि ११ वटा फ्रिगेट आपूर्ति गर्ने छ अर्ब अमेरिकी डलरको अर्डर पाएको छ।
– समग्र बजेट –
रक्षा मन्त्रालयको बजेट अनुरोध अब वित्त मन्त्रालयमा पेश गरिनेछ। केन्द्र सरकारले आउँदो महिनामा एक विस्तृत बजेट प्रस्ताव सार्वजनिक गर्ने अपेक्षा गरिएको छ, जुन रेकर्ड उच्च हुने अनुमान छ।
दैनिक योमियुरी सिम्बुनका अनुसार, समग्र बजेट अनुरोध १२२ खर्ब येनभन्दा बढी हुने सम्भावना छ। यो चालु वर्षको ११७ खर्ब ६० अर्ब येनभन्दा उल्लेख्य वृद्धि हो।
तर कुल बजेटको ठूलो भाग वृद्धवृद्धाको हेरचाह र जापानको विशाल ऋण व्यवस्थापनमा खर्च हुनेछ। यो विकसित अर्थतन्त्रहरूमध्ये आर्थिक उत्पादनको अनुपातमा सबैभन्दा ठूलो ऋण हो।-रासस/एएफपी

प्रकाशित: १४ भाद्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया