एप्पलले पूर्ण रूपमा नयाँ अपरेटिङ सिस्टममा काम गरिरहेको खुलासा

Technology Khabar ४ भाद्र २०८२, बुधबार

काठमाडौं ।

एप्पलले “क्यारिज्म्याटिक” कोडनेमको आफ्नै नयाँ अपरेटिङ सिस्टम विकास गरिरहेको ब्लूमबर्गका मार्क गर्मनले खुलासा गरेका छन्।

एप्पलले विकास गरिरहेको आफ्नै नयाँ अपरेटिङ सिस्टम सम्भवतः “होमओएस” अपरेटिङ सिस्टम भएको जनाइएको छ र यसको बारेमा लामो समयदेखि अनुमान गरिएको विदेशी मिडियाले उल्लेख गरेको छ।

एप्पलको नयाँ स्मार्ट होम हब र डेस्कटप रोबोट सन् २०२६ र सन् २०२७ मा आउने र नयाँ अपरेटिङ सिस्टम प्रयोग गर्ने गर्मनले बताएका छन्।

सफ्टवेयर प्लेटफर्मले टिभीओएस र वाचओएसका इलिमेण्टहरूलाई संयोजन गर्नेछ, र एप्पल वाच जस्तै एपहरूको हेक्सागोनल ग्रिड पनि अपेक्षित गरिएको उनले थप उल्लेख गरेका छन्।

गर्मनका अनुसार प्लेटफर्ममा धेरै प्रयोगकर्ताहरूको लागि समर्थन उपलब्ध हुने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रयोगकर्ताहरूले मुख्यतया सिरी एसिस्टेण्टको भ्वाइस कमाण्डहरू प्रयोग गरेर यसको साथ अन्तक्र्रिया गर्नेछन् भने टच (स्पर्श) पनि एक विकल्प हुने बताइएको छ।

डिभाइसहरू सजिलो तरिकाले साझेदारी गर्न मिल्ने गरी डिजाइन गरिने छन् जसमा फ्रण्ट–फेसिङ क्यामरा समावेश गरिनेछ र जसले प्रयोगकर्ताहरू त्यसतर्फ सर्दा तिनीहरूको अनुहार स्क्यान गर्न सक्ने उल्लेख गरिएको छ। त्यसपछि व्यक्तिको चाहना अनुसार स्वचालित रूपमा लेआउट, फङ्गसन र कन्टेण्ट परिवर्तन गर्ने बताइएको छ।

नयाँ अपरेटिङ सिस्टमको बारेमा थप जानकारी आगामी महिनाहरूमा थाहा हुने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ४ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया