लुजियाना राज्यद्वारा अनलाइन गेमिङ प्लेटफर्म ‘रोब्लोक्स’ विरुद्ध मुद्दा दायर

Technology Khabar २ भाद्र २०८२, सोमबार

काठमाडौं ।

अमेरिकाको लुजियाना राज्यले अनलाइन गेमिङ प्लेटफर्म ‘रोब्लोक्स’ विरुद्ध मुद्दा दायर गरेको छ। प्लेटफर्मले आफ्ना अधिकांश नाबालक प्रयोगकर्तालाई अनलाइन शिकारीहरूबाट पर्याप्त सुरक्षा नदिएको राज्यले आरोप लगाएको छ।

राज्यले दायर गरेको मुद्दामा रोब्लोक्सले खाताको सुरुआतमा बायोमेट्रिक उमेर प्रमाणीकरण वा अभिभावकको अनुमति प्राप्त भएको छ कि छैन भन्ने जाँचजस्तो आधारभूत सुरक्षा उपाय लागू नगरेको भनिएको छ।

इन्ग्याजेटका अनुसार मुद्दासम्बन्धी प्रकाशित लेखमा रोब्लोक्सका ५६ प्रतिशत प्रयोगकर्ता १६ वर्ष वा सोभन्दा कम उमेरका र ४० प्रतिशत प्रयोगकर्ता १२ वर्ष वा सोभन्दा कम उमेरका रहेको जनाइएको छ। लेखमा भनिएको छ, “खाता खोल्दा न्यूनतम उमेरको मापदण्ड र अभिभावकको अनुमति अनिवार्य नभएकाले प्रयोगकर्ताले सजिलै वास्तविक उमेरभन्दा बढी वा कम भनी देखाउन सक्छन्, जसले गर्दा बालबालिकालाई फसाउने शिकारीहरूले आफूलाई बच्चाजस्तो देखाउन सक्छन्।”

राज्यको गुनासोको मुख्य बिन्दु ‘अनुभवहरू’ नाम दिइएका प्रयोगकर्ताद्वारा बनाइने खेलहरू हुन्। प्लेटफर्ममा हाल ६४ लाखभन्दा बढी यस्ता अनुभवहरू छन्। राज्यले विशेष रूपमा समस्या हुने केही खेलहरू जस्तै “एस्केप टु एपस्टिन आइल्याण्ड,” “ डिडी पार्टी” र “पब्लिक बाथरुम सिमुलेटर भाइब” लाई उदाहरणका रूपमा देखाएको छ।

राज्यका अनुसार नोभेम्बर २०२४ सम्म ती खेलहरूमा आपसमा साथी नभएका प्रयोगकर्ताबीच पनि भ्वाइस च्याट सुरु गर्न सकिन्थ्यो, जसले गर्दा वयस्कहरूले बच्चाहरूसँग सजिलै कुरा गर्न पाउँथे। नियम परिवर्तनपछि १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तासँग वयस्कले सीधा च्याट गर्न नपाउने व्यवस्था गरिएको भए पनि नाबालकको नाममा खाता खोल्न सजिलो भएकाले अझै सुरक्षा पर्याप्त छैन भन्ने राज्यको दावी छ।

एटर्नी जनरलको कार्यालयले हालै पक्राउ परेका एक व्यक्तिले बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको आशंका गरिएको र उनले आफ्नो आवाज परिवर्तन गर्ने सफ्टवेयर प्रयोग गरेर साना बालिकाजस्तो देखाई प्रयोगकर्तालाई फसाउने प्रयास गरेको आरोप लगाएको छ।

यी घटनापछि केही प्रयोगकर्ताले आफैंलाई बच्चाजस्तो देखाई यस्ता शिकारीहरूलाई पक्रने प्रयास गरेका थिए। ‘श्लेप’ नामक एक लोकप्रिय प्रयोगकर्ताले यसरी शिकारी पक्रने गतिविधि चलाएका थिए, जसका कारण उनलाई यो महिनामा विवादास्पद रूपमा प्लेटफर्मबाट प्रतिबन्धित गरियो। रोब्लोक्सले यसबारे विज्ञप्ति जारी गर्दै “भिजिलान्ते व्यवहार” प्लेटफर्ममा स्वीकार्य नहुने र यस्ता विषय कानून कार्यान्वयन निकायलाई छोडिनुपर्ने जनाएको छ।

‘भेराइटी’ लाई दिएको वक्तव्यमा रोब्लोक्सका प्रवक्ताले भनेका छन्, “कुनै प्रणाली पूर्ण हुँदैन तर रोब्लोक्सले कठोर प्रविधि र सुरक्षा उपाय लागू गरेको छ, जसमा व्यक्तिगत जानकारी, लिङ्क र प्रयोगकर्ताबीचको फोटो आदान–प्रदानमा रोकसमेत सामेल छन्। हाम्रो समुदायको सुरक्षा नै शीर्ष प्राथमिकता हो।”

राज्यले रोब्लोक्सविरुद्ध स्थायी प्रतिबन्ध, आर्थिक जरिवाना र क्षतिपूर्ति माग गरेको छ, यद्यपि क्षतिपूर्तिको विवरण भने खुलाइएको छैन। लुइसियाना मुद्दा दायर गर्ने पहिलो राज्य बनेको हो, भने फ्लोरिडाले पनि पछ्याउने संकेत देखाएको छ।

 

 

प्रकाशित: २ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया