Technology Khabar ३१ श्रावण २०८२, शनिबार
काठमाडौं ।
व्यापारिक यात्रामा वा भ्याकेसन (बिदा) मा रहँदा होटलको कोठामा उपलब्ध हुने ढिलो वाई–फाईले योजनाहरू बिगार्न सक्छ।
त्यसैले होटलको नेटवर्कको गुणस्तरमा मात्र भर नपरिकन इन्टरनेटको गति बढाउने धेरै तरिकाहरू छन्। केही ट्रिक्स (उपाय) हरूमा डिभाइसमा नै टुविक्स समावेश हुन्छन् भने अन्य उपायहरूलाई थप उपकरण वा अग्रिम योजना चाहिनेछ।
सबैभन्दा पहिले प्रयास गर्न सकिने कुराहरू मध्ये एक भनेको डीएनएस सर्भर परिवर्तन गर्नु हो। होटलको डिफल्ट डीएनएस स्लो (ढिलो) हुन सक्छ, त्यसैले गुगल डीएनएस वा क्लाउडफ्लेयरमा स्विच गरेर फास्टर (छिटो) पेज लोडिङ र थप स्टेबल कनेक्सन (स्थिर जडान) प्राप्त हुनेछ। आधुनिक राउटरहरूले सामान्यतया स्वचालित रूपमा कम भीडभाड भएका च्यानलहरू चयन गर्ने भएकोले डिभाइस रिस्टार्ट गर्नाले पर्फमेन्स (कार्यसम्पादन) सुधार गर्न सकिनेछ।
यदि होटलले इन्टरनेट ट्राफिकलाई थ्रोटल गरिरहेको छ भन्ने शंका लागेको खण्डमा, समाधानको रुपमा भीपीएन सेवा प्रयोग गर्न सकिने छ। यसले सुरक्षित, इन्क्रिप्टेड कनेक्सन प्रदान गर्दछ र लगाइएको कुनै पनि प्रतिबन्धहरू बाइपास गर्न सक्छ। त्यसैगरी अब प्रयोग नगरिने नेटवर्कहरूलाई ‘फर्गेट नेटवक्र्स’ गरेर वा डिभाइसको नेटवर्क सेटिङहरू पूर्ण रूपमा रिसेट गर्न सकिने छ। यसले पुरानो र अनावश्यक सेटिङहरू हटाउनेछ र जसले कहिलेकाहीं वाई–फाई जडानलाई गति दिन सक्छ।
पुरानो सफ्टवेयरले कनेक्सन स्पिड (जडान गति) लाई नकारात्मक रूपमा असर गर्ने भएकोले यात्रा गर्नुअघि आफ्नो अपरेटिङ सिस्टम र डिभाइस ड्राइभरहरू अपडेट (अद्यावधिक) गर्न टेलीग्राफले सिफारिस गरेको छ।
त्यसैगरी होटल भित्रको भौतिक स्थानलाई पनि विचार गर्नु पर्नेछ। मुख्य एक्सेस पोइन्टस् (राउटरहरू) नजिकका कोठाहरूमा सामान्यतया सबैभन्दा बलियो सिग्नल हुन्छ। प्रयोगकर्ता र राउटर बीच बाक्लो पर्खाल वा ठूला धातु सतहहरू भएका कोठाहरूमा नबसेको नै बेस हुनेछ। साथै, व्यस्त समयमा वाई–फाई प्रयोग नगर्दा थप उत्तम हुनेछ।
आफ्नो जडानमा बढी नियन्त्रण चाहनेहरूका लागि, पोर्टेबल राउटरहरू एक उत्कृष्ट समाधान हुन सक्छन्। तिनीहरूले अवस्थित नेटवर्क विस्तार गर्छन् र तपाईंको आफ्नै निजी, थप स्थिर जडान सिर्जना गर्दछन्। साथै होटलको कोठा वा व्यापार केन्द्रमा इथरनेट उपलब्ध छ भने इथरनेट केबल मार्फत जडान गर्नु अझ राम्रो हुनेछ।
यदि यी सबै कुराहरुले अरू केही काम नगरेको खण्डमा भने, तपाईं आफ्नो फोनको मोबाइल हटस्पट प्रयोग गर्न सक्नुहुन्छ वा छिटो र थप स्थिर इन्टरनेट प्राप्त गर्न जडानहरू संयोजन गर्ने सफ्टवेयर मार्फत होटलको मोबाइल नेटवर्कसँग आफ्नो मोबाइल नेटवर्क संयोजन गर्न सक्नुहुन्छ।
प्रकाशित: ३१ श्रावण २०८२, शनिबार