
काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा कृष्णहरि पुष्करले डिजिटल युगलाई आत्मसात गर्दै श्रम मन्त्रालय अघि बढेको बताएका छन्।
मन्त्रालयले नयाँ डिजिटल पद्धति थप्दै लगेको उनले बताए। अब उप्रान्त समग्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रणाली प्रविधिमार्फत हुने सचिव डा पुष्करले जानकारी दिए।
मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा उनले श्रमचक्रको समग्र प्रक्रियालाई डिजिटलाइजेसन ब्लुप्रिन्टले ध्यान दिएको उल्लेख गर्दै प्राथमिकतासाथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
‘स्वीस कन्ट्याक्ट’बाट श्रम संसार र रेमी परियोजनाबाट श्रम बजार सूचना प्रणालीको प्राविधिक दस्तावेजको कार्यान्वयनबाट ब्युरोक्रेसीलाई डिजिटलक्रेसीमा रुपान्तरण गर्न लागिएको उनको भनाइ थियो ।
सचिव डा पुष्करले डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीको विकास कार्यमा विकास साझेदार एसडिसी, स्वीस कन्ट्याक्ट र रेमी परियोजनाको योगदानबारे चर्चा गरे। “मान्छे दौडिने नभइ प्रणाली दौडिनुपर्ने पद्धतिको विकास हुन लागेको छ। सिमित श्रोत र साधन हुँदाहुँदै श्रम संसारको प्रयोगलाई व्यापकता दिएका छौँ”, उनले भने। रासस
प्रकाशित: २६ श्रावण २०८२, सोमबार