ग्राहकहरूलाई क्रिप्टो एक्सचेन्जबाहिर सम्पत्ति राख्न अनुमति दिनका लागि बाइनान्स र बीबीभीएबीच सहकार्य

  • Technology Khabar | २६ श्रावण २०८२, सोमबार
ग्राहकहरूलाई क्रिप्टो एक्सचेन्जबाहिर सम्पत्ति राख्न अनुमति दिनका लागि बाइनान्स र बीबीभीएबीच सहकार्य

काठमाडौं ।

बाइनान्सले ग्राहकहरूलाई आफ्नो सम्पत्ति क्रिप्टोकरन्सी एक्सचेन्जबाहिर राख्न अनुमति दिने उद्देश्यले स्पेनको बैंक बीबीभीएसँग सहकार्य गरिरहेको फाइनान्सियल टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ।

रिपोर्टका अनुसार, उक्त स्पेनी बैंक संसारको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्जका लागि थोरै संख्यामा रहेका स्वतन्त्र कस्टोडियनमध्ये एकको रूपमा काम गरिरहेको छ भन्ने कुरा यसबारे जानकार दुई व्यक्तिहरूलाई उद्धृत गर्दै बताइएको छ।

यो कदम २०२२ मा एफटीएक्स ढलेपछि लगानीकर्तालाई कोषको सुरक्षाबारे ढुक्क गराउन क्रिप्टो एक्सचेन्जहरूले प्रयास गरिरहेका बेला र विश्वभर बानान्समाथि नियामकीय निगरानी कडा हुँदै गएको अवस्थामा आएको हो। उक्त रिपोर्ट तुरुन्तै पुष्टि गर्न नसकिएको रोयटर्सले उल्लेख गरेको छ।

बीबीभीएका प्रवक्ताले बैंकले हालका वा सम्भावित ग्राहकबारे टिप्पणी नगर्ने बताए। उनले बैंकले टर्की र स्वीट्जरल्याण्डजस्ता बजारमा व्यक्तिगत ग्राहकका लागि क्रिप्टोकरन्सी कस्टोडियनको रूपमा काम गर्ने र संस्थागत लगानीकर्ताका लागि पनि सेवा उपलब्ध गराउने उल्लेख गरे।
बाइनान्ससँग तत्काल सम्पर्क गर्न सकिएन।

गत फेब्रुअरीमा अमेरिकी अधिकारीहरूले बाइनान्सलाई संघीय अवैध सम्पत्ति शुद्धिकरण रोकथाम र प्रतिबन्धसम्बन्धी कानुन उल्लंघन गरेको तथा आन्तरिक नियन्त्रणमा कमजोरी देखाएको आरोपमा ४.३ अर्ब डलरभन्दा बढी जरिवाना गरेका थिए, भने कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी चाङपेंग झाओलाई चार महिनाको जेल सजाय सुनाइएको थियो।

प्रकाशित: २६ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...