काठमाडौं ।
एप्पल हालसम्म एआई-सञ्चालित च्याटबोटको प्रतिस्पर्धात्मक बजारमा निकै पछाडि परेको छ। तर कम्पनीसँग पहिलो नभए पनि उत्कृष्ट विकल्प हुन सक्छ। ब्लूमबर्गका मार्क गर्मनका अनुसार, एप्पलले यसै वर्ष “आन्सर्स, नलेज एण्ड इन्फर्मेशन” नामक एक टिम गठन गरेको छ, जसको काम “च्याटजीपीटीसँग मिल्दोजुल्दो तर सरल” च्याटबोट विकास गर्नु हो।
यो टिमको गठनले एप्पलको कृत्रिम बुद्धिमत्ता (एआई) प्रति अघिल्लो धाणामा ठूलो परिवर्तन आएको देखाउँछ। सन् २०२४ मा एप्पलले आफ्नो च्याटबोट नबनाई सिरीमा च्याटजीपीटी ल्याउन ओपनएआईसँग साझेदारी गरेको थियो।
तर अब एप्पलको यो नयाँ टिमले वेब खोतल्न सक्ने र प्रश्नहरूको उत्तर दिन सक्ने “नयाँ च्याटजीपीटी -जस्तै खोज अनुभव” तयार गर्ने गर्मनले बताएका छन्। यी नयाँ क्षमताहरू छुट्टै एपको रूपमा आउन सक्छन्, र सिरी, स्पटलाइट तथा सफारीमा पनि एआई सेवा थप्न प्रयोग हुन सक्ने इन्गुयाजेटले उल्लेख गरेको छ।
गर्मनका अनुसार यो टिम रोबी वाकरको नेतृत्वमा रहेको छ, जसले पहिले सिरीको जिम्मेवारी सम्हालेका थिए। टिमले सर्च एल्गोरिदम र इन्जिन विकासमा अनुभव भएका व्यक्तिहरूका लागि रोजगारीको विज्ञापन पनि गरेको छ।
आन्सर्स, नलेज एण्ड इन्फर्मेशन टिम बाहेक, एप्पलले एआईको क्षेत्रमा केही चुनौतीहरू पनि भोगेको छ। यसै वर्ष, कम्पनीले नयाँ सिरीको सार्वजनिक संस्करण ढिलो गर्ने बताएको थियो र “आउँदो वर्षभित्र” मात्र सार्वजनिक गर्ने जनाएको थियो।
तर एप्पललाई आफ्नो एप्पल इन्टेलिजेन्स कार्यक्रमलाई तीव्र बनाउनुपर्ने आवश्यकता महसुस भइसकेको छ। हालै तेस्रो त्रैमासिकको आम्दानी सार्वजनिक कार्यक्रममा एप्पलका सीईओ टिम कुकले कम्पनी एआई योजनालाई तीव्र बनाउन अधिग्रहणका लागि खुला रहेको बताएका थिए।
प्रकाशित: २० श्रावण २०८२, मंगलवार