Technology Khabar १३ श्रावण २०८२, मंगलवार
काठमाडौं ।
रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुख नासाका आफ्ना समकक्षीसँग भेट गर्न मङ्गलबार संयुक्त राज्य अमेरिका आइपुगेका छन्।
युक्रेनमा मस्कोको आक्रमणले दुई अन्तरिक्ष अग्रगामी राष्ट्रबीचको सम्बन्धलाई शीतयुद्धयताकै निम्न स्तरमा पुर्याएपछि अन्तरिक्ष रुस र संयुक्त राज्य अमेरिकाबीच सहयोगका केही क्षेत्रहरूमध्ये एक भएको छ।
“रोस्कोस्मोस प्रतिनिधिमण्डलका प्रमुख दिमित्री बाकानोभ नासाको नेतृत्वसँग भेट गर्न ह्युस्टन आइपुगेका छन्। आठ वर्षमा रुसी र अमेरिकी अन्तरिक्ष एजेन्सीका प्रमुखहरूबीचको यो पहिलो आमनेसामने भेट हो”, रोस्कोस्मोसले एक विज्ञप्तिमा भनेको छ।
नासाका कार्यवाहक प्रशासक सीन डफीसँगको बैठकमा बाकानोभले ‘क्रस–फ्लाइट कार्यक्रमको निरन्तरता’, ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) अपरेसनको विस्तार’ र आइएसएसलाई समुद्रमा परिक्रमा गर्ने योजनाका बारेमा पनि छलफल गर्ने उनले विज्ञप्तिमा बताएका छन्।
रूसी अधिकारीले जुलाई ३१ का लागि निर्धारित स्पेसएक्सको क्रू ड्र्यागन अन्तरिक्ष यानमा प्रक्षेपण गर्नुअघि अन्तरिक्ष यात्री ओलेग प्लाटोनोभसहित नासाको क्रू–११ मिसन टोलीलाई पनि भेट्नेछन्।
रुसी अन्तरिक्ष एजेन्सीका भर्खरै नियुक्त प्रमुखले नासाको लिन्डन बी जोन्सन स्पेस सेन्टरका साथै अन्तरिक्षयान उत्पादन गर्ने बोइङ र स्पेसएक्सका सुविधाहरूको भ्रमण पनि गर्नेछन्।
युक्रेनमाथिको आक्रमणपछि रुसमाथि लगाइएका प्रतिबन्धहरूको एक भागका रूपमा धेरै पश्चिमी देशले रोस्कोस्मोससँगको साझेदारी बन्द गरेको भए पनि सोयुज आइएसएसमा पुग्नसक्ने केही अन्तरिक्षयानमध्ये एक हो।
दशकौँदेखि देशका लागि गर्वको स्रोत रहेको रुसको अन्तरिक्ष कार्यक्रम वर्षौंदेखि दीर्घकालीन कोषको अभाव, भ्रष्टाचारका काण्डहरू र सन् २०२३ अगस्टमा लुना–२५ अनुसन्धान यानजस्ता असफलताहरूबाट पीडित छ।-रासस/एएफपी
प्रकाशित: १३ श्रावण २०८२, मंगलवार