स्टारलिंक स्याटेलाइटले खगोल विज्ञानमा हस्तक्षेप गरिरहेको छ-अध्ययन

Technology Khabar १४ श्रावण २०८२, बुधबार

काठमाडौं ।

स्पेसएक्सको स्टारलिंक इन्टरनेट सेवाले विश्वभर इन्टरनेट पहुँच विस्तार गरे पनि यसको मूल्य खगोल वैज्ञानिकहरूका लागि चिन्ताजनक बन्दै गएको छ। कर्टिन युनिभर्सिटीको हालैको एक सर्वेक्षणले वैज्ञानिकहरूको पुरानो आशंका पुष्टि गरेको छ। उसका अनुसार स्टारलिंक स्याटेलाइटले ब्रह्माण्डको अवलोकनमा अवरोध गरिरहेको छ।

स्क्वायर किलोमिटर एरे (एसकेए) नामक रेडियो टेलिस्कोपको एउटा प्रोटोटाइप स्टेशनबाट सङ्कलित ७ करोड ६० लाख फोटो विश्लेषण गर्दा कतिपय डाटा सेटमा ३० प्रतिशतसम्म फोटोमा स्टारलिंक स्याटेलाइटको उत्सर्जनबाट असर परेको पाइएको छ। यस्तो हस्तक्षेपले ती डाटा प्रयोग गरेर गरिने अनुसन्धानको परिणाममा प्रभाव पार्न सक्छ।

स्पेस डटकमका अनुसार सर्वेक्षणमा १,८०६ वटा स्टारलिंक स्याटेलाइटबाट १ लाख १२ हजारभन्दा बढी रेडियो उत्सर्जन पहिचान गरिएको छ। तीमध्ये धेरैजसो हस्तक्षेप जानाजान गरिएको नभएको पाइएको छ।

“हामीले ७०३ वटा स्याटेलाइट १५०.८ मेगाहर्ज फ्रिक्वेन्सीमा उत्सर्जन गरिरहेको पायौं, जुन रेडियो खगोल विज्ञानका लागि सुरक्षित गरिएको ब्यान्ड हो,” अध्ययनका प्रमुख लेखक तथा कर्टिन युनिभर्सिटीका पीएचडी विद्यार्थी डिलन ग्रिगले बताएका छन्।

ग्रिगका अनुसार यस्तो अवाञ्छित उत्सर्जन स्याटेलाइटमा रहेको विद्युतीय उपकरणबाट निस्केको हुन सक्छ। “किनभने यी जानाजान गरिएको संकेत होइनन्, खगोल वैज्ञानिकहरूले यस्ता हस्तक्षेपलाई सजिलै पूर्वानुमान गर्न वा फिल्टर गर्न सक्दैनन्,” उनले भने।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनले खगोल अध्ययनलाई सुरक्षित राख्न स्याटेलाइट उत्सर्जन नियमन गर्ने भए पनि हालको नियमहरू जानाजान गरिएका उत्सर्जनमा मात्र केन्द्रित रहेको र यस्ता अनियन्त्रित उत्सर्जन नसमेटिँने कर्टिन इन्स्टिच्युट अफ रेडियो एस्ट्रोनोमीका कार्यकारी निर्देशक प्रोफेसर स्टिभन टिङ्गेले बताएका छन्।

तर समस्या स्टारलिंक मात्र नभएर अन्य स्याटेलाइट नेटवर्कहरूले पनि यस्तै प्रकारको अनावश्यक उत्सर्जन गर्न सक्ने अध्ययनले देखाएको छ। अध्ययनले स्टारलिंकमा ध्यान दिएको कारण यो हाल पृथ्वीको कक्षमा सबैभन्दा धेरै ७,००० भन्दा बढी स्याटेलाइट भएको नेटवर्क हो।

“स्टारलिंकले अहिलेका नियम उल्लङ्घन गरेको छैन, त्यसैले उसले कुनै गल्ती गरेको छैन। यस विषयमा स्पेसएक्स सँग भएका हाम्रो संवाद सकारात्मक रहेकाले हामी यो अध्ययनले हाल भइरहेको नीति परिमार्जनका प्रयासहरूलाई बल पुर्‍याओस् भन्ने आशा गर्छौं,” टिङ्गेले भनेका छन्।

प्रकाशित: १४ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया