रौतहटको गाउँपालिकाबाट पनि अनलाइनमार्फत नागरिकता सिफारिस शुरु

Technology Khabar १२ श्रावण २०८२, सोमबार

रौतहटको गाउँपालिकाबाट पनि अनलाइनमार्फत नागरिकता सिफारिस शुरु
सांकेतिक तस्बिर

काठमाडौं ।

रौतहटको दुर्गाभगवती गाउँपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरेको छ। अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितोपना र प्रविधिमैत्री सेवा प्रवाह हुने, भटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने विश्वास गरिएको दुर्गाभगवती गाउँपालिका-३ का वडाध्यक्ष धर्मेन्द्रकुमार झाले बताए।

कुल १८ वटा स्थानीय तह रहेको रौतहटको कटहरिया र फतुवा विजयपुर नगरपालिकाबाहेकका पालिकाले नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरु गरेका छन्।

कटहरिया र फतुवा विजयपुर नगरपालिकाले हालसम्म केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सिसिआइएमएस) को माध्यमबाट अनलाइन सिफारिसको सुरुवात नगरेको जिल्ला प्रशासन कार्यालय रौतहटका नागरिकता फाँटमा कार्यरत नायव सुब्बा गोपालकुमार झाले जानकारी दिए।

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख जनकराज पन्तका अनुसार नगरपालिका कार्यालयले प्रिन्टर उपलब्ध गराएन, इन्टरनेट सेवा छैन भन्ने बहाना देखाई वडा कार्यालयले अनलाइन नागरिकता सिफारिस नगर्ने गरेको भए पनि त्यस्ता सिफारिसलाई फिर्ता पठाइने गरेको बताए।

साउन १ गतेदेखि अनिवार्य रूपमा केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत नागरिकता सिफारिस गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले असार ३२ मा रौतहटका १८ वटै स्थानीय तहका लागि सूचना जारी गरेको थियो।

रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काका अनुसार यसअघि २०८१ चैत १५ गतेका दिन जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गर्दै वैशाख २ गतेदेखि अनिवार्य रूपमा नयाँ नागरिकताको हकमा अनलाइन नागरिकता सिफारिस गर्न भने पनि केही वडाबाट हस्तलिखित सिफारिस आउने गरेकाले सेवा प्रवाहमा असर परिरहेको कारण साउन १ गतेदेखि अनलाइन सिफारिस अनिवार्य गरिएको बताए।

यो प्रणाली लागू भएसँगै अब नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्र बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झन्झट हटेको छ। सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरण गृह अन्तर्गत नागरिकता फाँट विभागमा रजिस्ट्रेसन कोडका आधारमा सहजै नागरिकता पाउने अवस्था रहेको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: १२ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया