टेस्लाले केही सहायक ड्राइभिङ प्रविधिको परीक्षणमा चिनियाँ प्रतिस्पर्धीलाई हरायो

Technology Khabar ११ श्रावण २०८२, आईतवार

काठमाडौं ।

अर्बपति इलन मस्कको कम्पनी टेस्लाले चीनको राजमार्गमा गरिएको सहायक ड्राइभिङ प्रविधिको परीक्षणमा चिनियाँ प्रतिस्पर्धी कम्पनीहरू जस्तै बीवाईडी, शाओमी र ह्वावेभन्दा राम्रो प्रदर्शन गरेको छ। यो नतिजा टिकटक मालिक बाइटडान्सको अटो इकाई डीकारले सार्वजनिक गरेको हो।

डीकार र चिनियाँ राज्य प्रसारण संस्था सीसीटीभीले चीनका २० भन्दा बढी इलेक्ट्रिक सवारी ब्रान्डहरूको लेभल २ उन्नत ड्राइभिङ सहायक प्रणाली को परीक्षण गरेका थिए। परीक्षणहरू राजमार्ग र सहरी क्षेत्रमा उच्च दुर्घटना सम्भावना भएका विभिन्न परिस्थितिमा गरिएका थिए।

डीकारले पोस्ट गरेका परीक्षण भिडियोहरू चिनियाँ सामाजिक सञ्जालहरूमा भाइरल बनेका छन्।

परीक्षणमा टेस्लाले ३६ मोडेलमध्ये सबैभन्दा राम्रो प्रदर्शन गर्‍यो। मोडल ३ र मोडल एक्सले ६ मध्ये ५ परिदृश्यमा सफलता पाए। बीवाईडीको डेञ्जा जेड९ जीटी र ह्वावेको समर्थन प्राप्त आइटो एम९ तीनवटा परिदृश्यमा असफल भए। शाओमी को एसयू७ ले ६ मध्ये केवल एकवटा परिदृश्य पार गर्‍यो।

शुक्रबार वेइबोमा पोस्ट गर्दै ह्वावे नेतृत्वको अटो एलायन्स HIMA ले “स्वघोषित परीक्षण” मा टिप्पणी गर्न अस्वीकार गर्‍यो। बीवाईडी र शाओमी ले पनि प्रतिक्रिया दिएका नदिएको रोयटर्सले उल्लेख गरेको छ।

“डाटा निर्यातसम्बन्धी कानुनका कारण, टेस्लाले कुनै स्थानीय प्रशिक्षण डेटा नहुँदा पनि चीनमा सबैभन्दा राम्रो नतिजा हासिल गर्‍यो,” टेस्लाका सीईओ एलन मस्कले शुक्रबार आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखे। मस्कका अनुसार टेस्ला अहिले एक “द्विविध” स्थितिमा परेको छ। अमेरिका एआई सफ्टवेयरलाई चीनमा प्रशिक्षण दिन अनुमति दिँदैन भने कम्पनीले शाङ्हाइमा संकलित डेटा अमेरिका फर्काएर एल्गोरिदम प्रशिक्षणका लागि प्रयोग गर्न चिनियाँ नियामकको स्वीकृति खोजिरहेको छ।

चीन अटोमोबाइल निर्माता संघका उप प्रमुख इन्जिनियर वाङ याओले यस महिनाको सुरुमा शाङ्हाइमा आयोजित अटो फोरममा भने, “घरेलु ब्रान्डहरूले टेस्लासँगको फरकलाई स्वीकार गर्नुपर्छ।”

शाओमी का सीईओ लेई जुनले टेस्लाको मोडल Y ले टेक्सासको अष्टिनस्थित कारखानाबाट ३० मिनेट टाढाको घरसम्म आफैं पुगेर मालिकलाई डेलिभर गरेको घटनापछि प्रतिक्रिया दिँदै भने, “हामी टेस्लाबाट सिकिरहनेछौं, उसले उद्योगको प्रवृत्तिलाई नेतृत्व गरिरहेको छ।”

परीक्षणमार्फत चिनियाँ जनमानसमा एडीएएस प्रणालीबारे बढ्दो सुरक्षा चिन्ता देखिएको छ। मार्चमा शाओमी एसयू७ को दुर्घटनामा तीन जनाको ज्यान गएपछि चिन्ता झन बढेको हो।

राज्य सञ्चार माध्यमहरूले प्रविधिको भ्रामक प्रचारले चालकहरूलाई गलत तरिकाले प्रयोग गर्न प्रेरित गरेको भन्दै आलोचना गरेका छन्। अधिकारीहरूले “स्मार्ट ड्राइभिङ” वा “स्वचालित ड्राइभिङ” जस्ता शब्दहरूलाई मार्केटिङ प्रयोजनमा प्रयोग गर्न प्रतिबन्ध लगाएका छन्।

सार्वजनिक सुरक्षा मन्त्रालयले यसै साता जनाएको छ कि पूर्ण स्वचालित ड्राइभिङ अझै हासिल नभएको अवस्थामा प्राविधिक जिम्मेवारीहरू कानुनी रूपमा तोकिँदै छन्। सहायक ड्राइभिङ प्रयोग गर्दा चालक अन्यमनस्क भएमा दुर्घटनामा सुरक्षाजन्य तथा कानुनी जोखिम रहन्छ, मन्त्रालयले चेतावनी दिएको छ।

मार्चको घातक दुर्घटनापछि शाओमी ले नयाँ ईभी अर्डरमा गिरावट भोगेको थियो, तर यसको असर छोटो समयमै कम भएको देखिएको छ। कम्पनीको नयाँ इलेक्ट्रिक एसयूभीले गत महिनाको बिक्रीपछि बलियो प्रारम्भिक अर्डरहरू प्राप्त गरेको छ।

टेस्लाको चीनमै निर्मित ईभी बिक्री गत जुनमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ०.८ प्रतिशतले बढेको थियो। यसले आठ महिनाको गिरावटलाई तोडेको हो। तर सस्तो मूल्यका चिनियाँ मोडेलहरूको प्रतिस्पर्धाका कारण त्रैमासिक बिक्री भने झर्न जारी छ।

प्रकाशित: ११ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया