विद्युतीय बस, दोहोरो तेहरो आम्दानीको स्रोत

  • Technology Khabar | ९ श्रावण २०८२, शुक्रबार
विद्युतीय बस, दोहोरो तेहरो आम्दानीको स्रोत

काठमाडौं ।

विद्युतीय बस सञ्चालन गरिरहेका कम्पनीले दोहोरो तेहरो आम्दानी गरिरहेका छन्। बस सञ्चालनबाहेक चार्जिङ स्टेसन र विद्युतीय सवारीका पार्ट्स बिक्री तथा ग्यारेज सञ्चालन गरेर उनीहरूले दोहोरो तेहरो आम्दानी गरेका हुन्।

विद्युतीय सवारी थप हुने क्रम बढेपछि वर्कसपदेखि चार्जिङ स्टेसनसम्मका व्यवस्थापन कम्पनी आफैँले गरेर आम्दानीका स्रोत बढाइरहेका छन्।

व्यवसायका क्रममा १६ वटा विद्युतीय बस र २२ वटा विद्युतीय माइक्रो सञ्चालन गर्दै आएको सुन्दर यातायातले चार्जिङ स्टेसन, मोटरपार्टस बिक्री र वर्कसप आफैँ सञ्चालन गर्दै आएको छ। आफ्ना गाडी चार्ज गरेपछि चार्जिङको सेवा पनि दिँदै आएको छ। दैनिक दुई सय सवारी चार्जिङका लागि आउने गरेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

थापाले भने, “चीनमा बनेका कुनै पनि विद्युतीय सवारीका सबै पार्ट्स हामीसँग उपलब्ध छन्। सुन्दर ट्रेडर्सले वर्कसप चलाएको छ। काठमाडौँमा मर्मतका लागि कुनै समस्या छैन। सोरुमले पनि पार्ट्स र मर्मतको सेवा दिइरहेका हुन्छन्।

विद्युतीय गाडी किन्न महँगो हो, सञ्चालन गर्न त सजिलो छ।” वातावरणमैत्री, ध्वनि प्रदूषण नहुने र सरकारले पनि प्रोत्साहन गरेकाले अधिकांशको ध्यान विद्युतीय सवारीमा गएको उनले बताए।

थापाका अनुसार साना विद्युतीय सवारी प्रतियुनिट १५ रुपियाँका दरले पाँचदेखि सात सय रुपियाँसम्ममा पूर्ण चार्ज हुन्छन्। ३२ सिटसम्मका ठूला सवारी १३ देखि १५ सय रुपियाँमा पूर्ण चार्ज हुन्छन्। इन्धनबाट चल्ने सवारीले करिब पाँच हजार पाँच सयको इन्धन खर्च गर्दा चार्जिङमा १५ सय लाग्ने थापाको भनाइ छ।

४० वटा विद्युतीय बस सञ्चालन गर्दै आएको साझा यातायातले पनि चार्जिङ स्टेसनदेखिका मर्मतसम्भारका काम आफूहरूले नै गर्दै आएको छ तर साझाले पार्किङ स्थल नहुँदा अन्य कम्पनीका सवारीलाई चार्जको सुविधा उपलब्ध गराउन नसकेको साझाका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले बताए। सवारीका स्पेयर पार्ट्स नपाउने होइन तर कम्पनी र डिलर अनुसार फरक हुने भएकाले एक कम्पनीको अर्कोसँग नमिल्ने हुँदा चाहिँ समस्या भोग्नु परेको उनी बताउँछन्।

अर्यालले भने, “स्पेयर पार्ट्स डिलर अनुसार फरक हुँदा समस्या भागेका छौं। एउटाको टायर अर्को कम्पनीको गाडीमा लाग्दैन। आफ्ना गाडी आफैँ चार्ज गछौं, पार्किङ स्थल नहुँदा अरूलाई सेवा उपलब्ध गराउन सकेका छैनौं।”

३३ सिटका १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको महानगर यातायातले पनि चार्जिङ स्टेसन र आफ्नै वर्कसप चलाएको छ। उक्त कम्पनीले पनि सञ्चालनबाहेक चार्जिङ र वर्कसपको कमाइ पनि आफैँ गरिरहेको छ।

महानगर यातायातका सचिव केशव नेपालले भने, “आफ्नै चार्जिङ स्टेसन र ग्यारेज पनि चलाएका छौं। त्यसो गर्दा आम्दानी पनि हुने र अन्य झन्झट पनि नहुने हुँदा सजिलो भएको छ। पार्ट्सहरूमा पनि समस्या छैन, बजारमा पाइन्छ।”

काठमाडौँ उपत्यकामा ठुला विद्युतीय बस मात्र होइन जिप, कार, माइक्रो, मोटरसाइकल र स्कुटर सञ्चालनमा छन्। ३० वटा विद्युतीय माइक्रो सञ्चालन गरेको सामाखुसी यातायातले पनि चार्जिङ स्टेसन सञ्चालन गरेको छ। अधिकांश कम्पनीले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको सचिव नेपालले बताए। कम्पनीबाहेक सशीला मोटर्सलगायतका सोरुमले पनि विद्युतीय सवारीका स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएका छन्।

प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ९ श्रावण २०८२, शुक्रबार