अन्तरदेशीय कारोबारलाई सहज बनाउन पेपलद्वारा ‘पेपल वर्ल्ड’ नामक नयाँ प्लेटफर्म सुरू

Technology Khabar ८ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

पेपलले बुधबार घोषणा गर्दै विश्वव्यापी वालेट कम्पनीहरूसँग साझेदारी गरेर पेपल वर्ल्ड नामक नयाँ प्लेटफर्म सुरू गरेको जनाएको छ, जसले अन्तरदेशीय कारोबारलाई सहज बनाउने उद्देश्य राखेको छ। यस प्लेटफर्ममार्फत प्रयोगकर्ताहरूले आफ्ना स्थानीय वालेट र भुक्तानी प्रणाली प्रयोग गरेर अन्यलाई रकम तिर्न सक्नेछन्।

कम्पनीका अनुसार प्रारम्भिक साझेदारहरूमा भारतको एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (यूपीआई सञ्चालन गर्ने संस्था) चीनको टेनपे ग्लोबल (वेक्सिन अर्थात् वीच्याट भुक्तानी प्रणाली सञ्चालन गर्ने टेन्सेन्टको भुक्तानी शाखा) साथै पेपल र भेन्मो समावेश छन्।

टेकक्रञ्चका अनुसार पेपलले ल्याटिन अमेरिकाको फिनटेक कम्पनी मर्क्याडो पागोसँग पनि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ, जसले कार्ड र मोबाइल भुक्तानी सेवा उपलब्ध गराउँछ। यद्यपि अन्तिम सम्झौताहरू अझै प्रक्रिया अन्तर्गत छन्।

यी साझेदारीहरूमार्फत पेपेलले विश्वभरका दुई अर्बभन्दा बढी प्रयोगकर्तालाई समेट्ने लक्ष्य राखेको छ।

“पेपल वर्ल्ड पहिलोपटक ल्याइएको यस्तो भुक्तानी इकोसिस्टम हो, जसले विश्वका प्रमुख भुक्तानी प्रणाली र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा ल्याउनेछ,” पेपेलका अध्यक्ष तथा सीईओ एलेक्स क्रिसले एक वक्तव्यमा भने।

“अन्तरदेशीय रूपमा पैसा सर्ने प्रक्रिया निकै जटिल छ, तर यो प्लेटफर्मले करिब दुई अर्ब उपभोक्ता र व्यवसायका लागि यसलाई निकै सरल बनाउनेछ। आज हामीले घोषणा गरेका परिवर्तनहरू दीर्घकालीन रूपमा साँच्चिकै गेम चेन्जर बन्ने सम्भावना राख्छन्,” उनले थपे।

पेपलका अनुसार पेपल वर्ल्डमार्फत पेपल र भेन्मो प्रयोगकर्ताहरूले पेपल प्रयोगकर्ता भए पनि नभए पनि विश्वका जुनसुकै मानिसलाई पैसा पठाउन सक्नेछन्। उदाहरणका लागि, कुनै प्रयोगकर्ता चीन यात्रा गर्दा वेक्सिन भुक्तानी नेटवर्क मार्फत स्थानीय व्यवसायलाई पेपल प्रयोग गरेर भुक्तानी गर्न सक्नेछन्। त्यस्तै, यदि भारतका ग्राहकले अमेरिकास्थित वेबसाइटबाट सामान किनिरहेका छन् भने उनीहरूले यूपीआई वालेट प्रयोग गरेर पेपल मार्फत भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित: ८ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया