
काठमाडौं ।
सामसङले यस वर्ष आफ्नो पहिलो ट्राई–फोल्ड स्मार्टफोन लन्च गर्ने भएको छ। यस ट्राई–फोल्ड स्मार्टफोनलाई ग्यालेक्सी जेड ट्राईफोल्ड भनिने उल्लेख गरिएको छ। साथै कम्पनीले कोरियामा यस ट्राई–फोल्ड स्मार्टफोनको लागि यो नाम दर्ता गरेको बताइएको छ।
यसै क्रममा अब सामसङको ग्यालेक्सी जेड ट्राईफोल्डमा समावेश गरिने चिपसेटको बारेमा खुलासा भएको छ। एन्ड्रोइड १६ मा आधारित सामसङको वान यूआई ८ मा कोडको लाइनहरू मार्फत जानकारी सार्वजनिक भएको बताइएको छ।
डिभाइसमा क्वालकमको स्न्यापड्रागन ८ एलिट एसओसी (चिपसेट) हुने बताइएको छ। हालै लन्च गरिएको ग्यालेक्सी जेड फोल्ड७ भित्र पनि यही चिपसेट समावेश गरिएको छ।
अघिल्ला लीकहरूका अनुसार, ट्राइफोल्डको भित्री स्क्रिन खोल्दा लगभग १० इन्चको हुने र त्यहाँ कभर स्क्रिन पनि रहने बताइएको छ। साथै यो डिभाइस बजारमा उपलब्ध पहिलो ट्राइ–फोल्ड स्मार्टफोन ह्वावेको मेट एक्सटीको तुलनामा फरक तरिकाले फोल्ड हुने थप उल्लेख गरिएको छ।
त्यसैगरी ग्यालेक्सी जेड ट्राइफोल्डको मूल्य धेरै महँगो हुने अपेक्षा गरिएको छ। कोरियामा डिभाइसको मूल्य लगभग ४ मिलियन कोरियाली वन (जुन हाल लगभग २,८७३ अमेरिकी डलर वा २,४६९ यूरो) हुने उल्लेख गरिएको छ। साथै यो डिभाइस सुरुमा कोरिया र चीनमा मात्र उपलब्ध हुन सक्ने सम्भावन बढि भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ४ श्रावण २०८२, आईतवार