Technology Khabar ३२ असार २०८२, बुधबार
काठमाडौं ।
एनभिडियाले चीनमा आफ्नो एच२ओ कृत्रिम बुद्धिमत्ता चिपको बिक्री फेरि सुरु गर्ने योजना बनाएको बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेइजिङ भ्रमणमा रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गरेको केही दिनपछि यस्तो घोषणा गरिएको हो।
रोयटर्सका अनुसार राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताका कारण अत्याधुनिक चिपहरू चीनको हातमा नपरोस् भन्ने उद्देश्यले अमेरिकाले गरेको निर्यात नियन्त्रणमा एनभिडिया का एआई चिपहरू मुख्य ध्यानको केन्द्रमा रहेका छन्। यी प्रतिबन्धका कारण कम्पनीको आम्दानी १५ अर्ब डलरले घट्ने बताइएको छ।
विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभिडिया ले अमेरिकी सरकारसँग आफ्नो एच२ओ ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) को बिक्री फेरि सुरु गर्न अनुमति माग्दै निवेदन दिएको छ र चाँडै अनुमति प्राप्त हुने अपेक्षा गरिएको छ।
“अमेरिकी सरकारले एनभिडिया लाई अनुमति दिने आश्वासन दिएको छ, र कम्पनीले चाँडै डेलिभरी सुरु गर्ने आशा गरेको छ,” विज्ञप्तिमा भनिएको छ।
अप्रिलमा ट्रम्प प्रशासनले लगाएको प्रतिबन्धका कारण चीनमा एच२ओ चिप बिक्री गर्न नपाएको भन्दै आलोचना गर्दै आएको एनभिडिया ले चीनको नियामक मापदण्डअनुसार नयाँ मोडेल पनि बजारमा ल्याएको जनाएको छ।
व्हाइट हाउसले यसबारे तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकी सरकारले चिनियाँ सेनाले एआई चिप प्रयोग गरी हतियार विकास गर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएको छ।
एनभिडियाका सीईओ जेन्सेन हुआङले बुधबार बेइजिङमा आयोजना हुने आपूर्ति शृङ्खला प्रदर्शनीमा सहभागी हुँदै पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ। यो अप्रिलपछि चीनको उनको दोस्रो भ्रमण हो। उनले चीनको बजारको महत्व औंल्याउँदै आएका छन्।
“चिनियाँ बजार विशाल, चलायमान र अत्यधिक नवप्रवर्तनशील छ। यहाँ धेरै एआई अनुसन्धानकर्ता पनि छन्। त्यसैले अमेरिकी कम्पनीहरूले चीनको बजारमा गहिरो उपस्थित हुनु अत्यन्त महत्वपूर्ण छ,” हुआङले मंगलबार चिनियाँ राज्य प्रसारक सीसीटीभीलाई बताएका छन्।
प्रकाशित: ३२ असार २०८२, बुधबार