घुस लेनदेनको अडियो बाहिरिएका मन्त्री गुप्ताले फेसबुक स्टाटस राख्दै राजीनामाको पुष्टि गरे, छानबिन गर्न माग

Technology Khabar ३१ असार २०८२, मंगलवार

घुस लेनदेनको अडियो बाहिरिएका मन्त्री गुप्ताले फेसबुक स्टाटस राख्दै राजीनामाको पुष्टि गरे, छानबिन गर्न माग
तस्बिर: मन्त्री गुप्ताको फेसबुक पेजबाट

काठमाडौं ।

केहीदिन अघि घुस लेनदेनको अडियो बाहिरिएपछि चौतर्फी आलोचना भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।

प्रस्ट अडियो बाहिर आए पनि उनले प्रविधिको दुरुपयोग गरेर आफूलाई फसाउन खोजेको भन्दै सत्यतथ्य छानबिन गर्न आग्रह गर्दै आएका थिए।

उनले अहिले भने अत्यधिक तनाव भएकोले राजीनामा दिएको बताउँदै आफू निर्दोष रहेकाले छानबिन होस् भन्ने माग पनि गरेका छन्।

उनले आफ्नो फेसबुक पेजमा १ घण्टा अगाडि यस्तो स्टाटस राखेर राजीनामा दिएको पुष्टि गरेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ विदितै छ। कहिले काहि नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजिनामा गरेको छु।’

घुस प्रकरणको अडियो बाहिरिएपछि दुई दिनअघि पनि उनले फेसबुकमा प्रतिष्ठा हरण र निराधार आरोपको पुष्टि हुने आधार मिडीयाले खोज्नुपर्ने, केही दिन अघिदेखि आफूसँग जोडिएर सिलसिलेवर रुपमा सरुवा, नियुक्ति लगायतमा घुस बार्गेनिङ, रकम लिएको जस्ता प्रायोजित समाचारहरु केही मिडियाहरुमा आएका र तिनीहरु आफ्ना लागि गम्भीर रहेका ब्यहोराको स्टाटस राखेका थिए।

प्रकाशित: ३१ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया