Technology Khabar ३१ असार २०८२, मंगलवार
काठमाडौं ।
यो सातादेखि सुरु हुने ८ अर्ब डलरको एउटा अनौठो मुद्दामा मेटाका सीईओ मार्क जुकरबर्ग प्रमुख साक्षीको रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ। उनीमाथि प्रयोगकर्ताको सहमति बिना डाटा संकलन हुने गरी फेसबुकलाई अवैध रूपमा सञ्चालन गरेको आरोप लागेको छ।
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटा प्लेटफर्म्सका लगानीकर्ताहरूले जुकरबर्गसहित तत्कालीन तथा पूर्व नेताहरूविरुद्ध मुद्दा हालेका छन्। उनीहरूले २०१२ मा फेसबुक र अमेरिकी फेडरल ट्रेड कमिसन (एफटीसी) बीच प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने सम्झौता बारम्बार उल्लंघन गरिएको आरोप लगाएका छन्।
यो मुद्दा २०१८ मा करोडौं फेसबुक प्रयोगकर्ताको डाटा क्याम्ब्रिज एनालिटिका नामक राजनीतिक सल्लाहकार कम्पनीले पहुँच पाएको खुलासा भएपछि सुरु भएको हो। सो कम्पनीले २०१६ मा डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति निर्वाचन अभियानका लागि काम गरेको थियो।
रोयटर्सका अनुसार लगानीकर्ताहरूले क्याम्ब्रिज एनालिटिका काण्डपछि मेटाले तिर्नुपरेका ८ अर्ब डलरभन्दा बढी जरिवाना र अन्य खर्चका लागि जुकरबर्गलगायत प्रतिवादीहरूबाट क्षतिपूर्ति माग गरेका छन्। यिनमा सन् २०१९ मा एफटीसीले फेसबुकमाथि लगाएको ५ अर्ब डलरको रेकर्ड जरिवाना पनि समावेश छ।
मुद्दाका प्रतिवादीहरूमा पूर्व प्रमुख सञ्चालन अधिकृत शेरिल स्यान्डबर्ग, लगानीकर्ता तथा बोर्ड सदस्य मार्क आन्द्रेसेन, साथै पूर्व बोर्ड सदस्यहरू पिटर थिल (प्यालान्टिरका सहसंस्थापक) र नेटफ्लिक्सका सहसंस्थापक रिड ह्यास्टिङ्ससमेत छन्।
जुकरबर्ग र अन्य प्रतिवादीहरूले आरोपलाई “अत्यधिक दावी” भन्दै अदालतमा खारेज गरेका छन्। मेटा स्वयं भने यस मुद्दाको प्रतिवादी छैन र कम्पनीले कुनै टिप्पणी गर्न मानेको छैन।
डेलावेरको विल्मिङ्टनमा सुरु भएको यो मुद्दा आठ दिनसम्म चल्ने तालिका रहेको छ। यसमा मुख्य रूपमा एक दशकअगाडिका घटना र बोर्ड बैठकहरूमा २०१२ को सम्झौता कसरी कार्यान्वयन गरियो भन्ने विषयमा बहस हुनेछ।
मुद्दाले पुराना नीतिहरू समेट्ने भए पनि, मेटाले एआई मोडलहरूको प्रशिक्षणसँग सम्बन्धित गोपनीयता चिन्ताको कारण अहिले पनि आलोचना खेपिरहेको छ। कम्पनीले सन् २०१९ यता प्रयोगकर्ताको गोपनीयता सुरक्षा कार्यक्रममा अर्बौं डलर लगानी गरेको दावी गरेको छ।
डिजिटल सामग्री प्रदायकहरूको संगठन ‘डिजिटल कन्टेन्ट नेक्स्ट’ का प्रमुख जेसन किन्टले यो मुद्दाले बोर्डले प्रयोगकर्ताको डाटा सम्बन्धी विषयमा कहिले के थाहा पायो भन्ने पाटो स्पष्ट पार्ने बताए। “हामीले फेसबुक र इन्स्टाग्रामलाई जीवनबाट हटाउन सक्दैनौं भन्ने तर्क छ,” उनले भने, “तर, के हामी मार्क जुकरबर्गमाथि विश्वास गर्न सक्छौं?”
प्रकाशित: ३१ असार २०८२, मंगलवार