काठमाडौं ।
लोकप्रिय भिडियो सामग्री साइट यूट्युबले लोकप्रिय पृष्ठ हटाउने निर्णय गरेको छ। युट्युबले चाँडै नै आफ्नो लोकप्रिय “ट्रेन्डिङ” पेज (पृष्ठ)का साथै “ट्रेन्डिङ नाउ” सूची हटाउने घोषणा गरेको छ।
सन् २०१५ देखि प्लेटफर्ममा रहेका यी सुविधाहरूलाई यूट्युब चार्टस् भनिने नयाँ प्रणालीले प्रतिस्थापन गर्नेछ।
घोषणा अनुसार, यूट्युब चार्टस्ले प्रयोगकर्ताहरूलाई विषय अनुसार सबैभन्दा धेरै हेरिएको कन्टेन्ट (सामग्री) को ओभरभ्यू प्रदान गर्नेछ, जसमा संगीत भिडियोहरू, पोडकास्टहरू, चलचित्र ट्रेलरहरूका साथै अन्य कोटीहरू समावेश रहेको र जुन बिस्तारै थप गर्दै लगिने उल्लेख गरिएको छ। गेमिङसँग सम्बन्धित कन्टेन्ट (सामग्री) गेमिङ एक्सप्लोर पेज (पृष्ठ) मार्फत उपलब्ध रहने जनाइएको छ।
प्रयोगकर्ताहरूले लोकप्रिय कन्टेन्ट (सामग्री) पत्ता लगाउने तरिका विगत केही वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको यूट्युबले जानकारी दिएको छ।
ट्रेन्डिङ सेक्सन (खण्ड) मा जानुको सट्टा, धेरै भन्दा धेरै प्रयोगकर्ताहरूले सर्टस् फम्र्याट, एल्गोरिदम रूपमा सुझाव गरिएका भिडियोहरूका साथै टिकटकजस्ता अन्य नेटवर्कहरू मार्फत कन्टेन्ट (सामग्री) उपभोग गरिरहेको उल्लेख गरिएको छ।
साथै, सिर्जनाकर्ताहरूले लामो समयदेखि ट्रेन्डिङ लिस्ट (सूची) को आलोचना गर्दै आएका छन् र यसले प्रायः ठूला ब्रान्डहरू र आधिकारिक कन्टेन्ट (सामग्री) लाई समर्थन गर्दछ भने साना र स्वतन्त्र लेखकहरू छायाँमा रहन्छन् भन्ने दावी गरेका छन्।
नयाँ र विविध कन्टेन्ट (सामग्री) को भिजिबिलिटी सुधार गर्न, यूट्यूबले सिर्जनाकर्ताहरूको लागि थप टुल्स (उपकरणहरू)को पनि घोषणा गरेको छ। यसमा इन्सिपिरेसन ट्याब समावेश रहेको छ जसले दर्शकहरूको हालको रुचिमा आधारित विचारहरू उत्पन्न गर्न कृत्रिम बुद्धिमत्ता प्रयोग गर्दछ।
साथै प्रयोगात्मक सुविधा ‘हाइप’ को माध्यमबाट प्रयोगकर्ताहरूले भिडियोहरूलाई समर्थन गर्न सक्ने बताइएको छ जुन त्यसपछि फराकिलो ट्रेन्डिङ प्लेलिस्टमा देखा पर्नेछ।
ट्रेन्डिङ पेज मेटाउने योजना सन् २०२५ को जुलाईको अन्त्यको लागि तय गरिएको छ भने नयाँ कार्यक्षमता पहिले नै यूट्यूब चार्टस् मार्फत केही देशहरूमा उपलब्ध भएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ३० असार २०८२, सोमबार